महिला खवर
कास्की, जेठ १० । पोखराको नयाँबजार स्थित तमुधिं कास्कीमा आश्रय लिइरहेका भुकम्प पीडित महिलालाई १५ दिने छ्वालीबाट बनाईने बिभिन्न सामग्री सम्बन्धि तालिम शुरु गरिएको छ।
रेडियो जननी ९०.६ र पद्मावती हस्तकला उद्योगको संयुक्त आयोजनामा विहीवारबाट शुरु गरिएको सो तालिममा ३० जना भूकम्प प्रभावित महिलाको सहभागिता रहेको छ। दिनभर त्यतिकै बसिरहनु भन्दा आत्मनिर्भर हुन सघाउने र तनाव एवं चिन्ता पनि हट्ने भएकाले सिपमुलक तालिम आयोजना गरिएको पद्मावति हस्तकला उद्योगका प्रोपाइटर एवं महिला उद्यमी हिरा भट्टराइले जानकारी दिनुभयो।
१० दिनदेखि आश्रय स्थलमा बसिरहनु भएकी तिसमाया गुरुङले तालिम लिन पाउँदा एकदमै खुसी लागेको बताउनुभयो। ‘दिनभरी बसिरहँदा न्यास्रो लाग्थ्यो। छ्वालीबाट यस्तो सामान बन्छ भन्ने थाहा थिएन। अब सिकेपछि काम लाग्नेभयो। ‘ त्यसैगरी गोर्खा सिम्लाका सरीमा गुरुङ र प्रतिक्षा गुरुङले पनि तालिममा सहभागी भएर सिप सिक्ने मौका पाएकोमा खुसी लागेको बताए।
तालिममा छ्वालीबाट बास्केट,ढकिया, टिम्याट,पेन होल्डर, ट्रे झोलालगायतका सामान बनाउन सिकाईने छ। तालिममा पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले स्थानिय स्रोत र साधनलाई प्रयोग गरी निर्माण गरिने हस्तकला सम्बन्धि तालिमले सृजनात्मक बनाउने र पीडा कम गर्ने सघाउने बताउनु भयो ।
पौडेलले हरेक पीडालाई भुल्दै आत्मविश्वास जगाएर सकारात्मक सोचसहित अगाडि बढ्नु पर्ने भन्दै शोकलाई शक्तिमा बदल्न आग्रह गर्नु भयो। यस तालिमका लागि रोट्रयाक्ट पोखरा फिस्टेल, नारी नेपाल,पोखरा उपमहानगरपालिका र जिल्लाविकास समितिले सहयोग गरेका छन् ।
Comment Here!