जमुना वर्षा शर्मा
गोरखा, जेठ १०। भूकम्पले बस्ने घर भत्काएपछि त्रिपाल भित्र बस्न बाध्य महिलाले पालभित्र आफूलाई असुरक्षित महसुस गर्न थालेका छन्। गोर्खाको गेजा गाविसमा शुक्रबार राहत बुझ्न आएका महिलाले सो कुरा बताएका हुन्।
राहत बुझ्नेक्रममा तल्लो गेजाकी ४५ वर्षीया नरमाया थापाले पाल भित्र असुरक्षा भएको भन्दै राहतमा नगद पाए बस्ने वासको बन्दोवस्त गर्न सजिलो हुने बताउनुभयो। …भूकम्पबाट त जोगिएला तर अन्य कुराबाट हेर्र्दा पाल भित्रको रात साह्रै असुरक्षित छ’— थापाले भन्नुभयो।
बस्ने घर भूकम्पले भत्काएपछि अहिले पालमुनि बस्दै आएकी १६ वर्षीया सोनी गुरुङले पाल भित्र बस्दा डर लाग्ने गरेको बताइन्। श्री चन्द्रोदय मा.विमा कक्षा १० मा अध्ययनरत सोनीले आफूलाई पालमा बस्न र राती शौचालय जानपनि डर लाग्ने गरेको बताइन्।
सोही ठाउँ निवासी ३२ वर्षीया सीता गुरुङ भूकम्पको पराकम्प कम हुँदै गएपनि मनको कम्पन भने जारी रहेको बताइन्। ‘कति बेला कहाँ,के हुन्छ भन्ने डर लागिरहन्छ। यद्यपि गाउँका दाजुभाई दिदी, बहिनी, आमा बुबासँगै भएपनि ढुक्क हुने अवस्था भने नहुँदो रहेछ ‘ — उनले भनिन्।
एउटै पालमुनि १६ जना परिवारका सदस्य बस्नुपर्दा विभिन्न कठिनाइ भोग्नु परेको २५ वर्षीया सिमा गुरुङको अनुभव छ। ‘घर भित्र जस्तो सुरक्षित महसुस हुँदैन’ उनले भनिन्। राज्यले घरको पुननिर्माणकालागि छिटै काम थालिदिए नखाए पनि खाए जस्तै हुने उनले बताइन्।
हालै आएको विनाशकारी भूकम्पले गोरखा मनकामना ६ तल्लो गेजाका ३५ घरलाई पूर्ण र आंशिक रुपमा क्षति पुर्याएपछि त्यहाँका बासिन्दा अहिले पाल मुनि बस्न बाध्य भएका छन्। वर्षायाम नजिकिँदै गर्दा र एउटै पाल मुनि महिला पुरुष एवं दाजुभाइ दिदीबहिनी सबैसँगै बस्दा महिलामा मनोवैज्ञानिक रुपमा असहज महसुस हुन थालेको छ।
Comment Here!