महिला खवर
ललितपुर, जेठ १०। ‘विपतमा पर्दा जहिले, महिलाकाे मर्यादा पहिले’ भन्ने नारासहित नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषले ‘डिग्निटी फस्ट’ अभियान सुरु गरेका छन् ।
भूकम्पबाट प्रभावित जिल्लाका गर्भवती, सुत्केरी र किशोरीको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राखेर अभियान थालिएको नेपालस्थित संयुक्त राष्ट्र संघ जनसङ्ख्या कोष (यूएनएफपीएले) जनाएको छ।
कोषले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी बसोवास, खाना र पानी पहिलो प्राथमिकता भएपनि विपत्मा परेका बेला महिलालाई झन धेरै समस्या हुनेहुँदा उनीहरूलाई सक्दो सहयोग गरी हिंसा र यौन हिंसाबाट जोगाउनु पर्नेमा जोड दिएको थियो।
भूकम्पछि थुप्रै परिवार एकैठाउँमा एउटै पालमुनि बस्नुपर्ने भएकाले यस्तो अवस्थामा उनीहरूमाथि यौन हिंसा हुनसक्ने भन्दै यसको रोकथामका लागि जागरण अभियान सञ्चालन गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो।
कोषका अनुसार विपत्तिमा परेकालाई सकारात्मक सोचका साथ एकजुट भएर सहयोग गर्न सरकारी निकाय र महिला हकहितका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थासँगको हातेमालोमा अभियान सञ्चालन गरिने छ। अभियानका क्रममा भूकम्प प्रभावित जिल्लामा महिलाअनुकूल वातावरण बनाउने, सुरक्षित सुत्केरी गराउन आवश्यक पर्ने १४ किसिमका सामग्री रहेको बाल्टिन हस्तान्तरण गरिने छ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १४ लाख प्रजनन् उमेरका महिला प्रभावित भएकाे कोषले अनुमान गरेको छ। उनीहरूमध्ये ९३ हजार गर्भवती छन् भने १० हजार ३ सय हरेक महिना सुत्केरी हुन्छन्।
अभियानको सुरु गर्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले भूकम्प प्रभावित क्षेत्रका महिलाको मर्यादा जोगाउन समाजले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कोषको नेपालस्थित सद्भावनादूत मनिषा कोइरालाले भूकम्पबाट प्रभावित भएका नागरिकको हितमा सबैले मिलेर सकारात्मक परिणामका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कोषका नेपाल प्रतिनिधि जुलिया भलिसिले विपत्तिपछिको सङ्क्रमणकालमा भूकम्प प्रभावित क्षेत्रका महिला, किशोरी र शिशुलाई आवश्यक स्वास्थ्यसेवा पुर्याउन अभियानको घोषणा गरी घुम्ती शिविरमार्फत घरदैलोमा पुग्ने प्रयास गरिने जानकारी दिनुभयो।
यसैविच बलिउड अभिनेत्री मनिषा कोइरालाले विनाशकारी भूकम्पबाट पीडित सुत्केरी,गर्भवती र शिशुहरूलाई पाल पालमा पुगेर राहत वितरण गर्नुभएको। राहत सामाग्री लिएर पीडितको पालमा पुगेकी अभिनेत्री कोइरालाले सुत्केरी र बालबालिकासँग उनीहरूको अवस्थाको बारेमा कुराकारी समेत गर्नुभएको थियो। संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (यूएनएफपीए)को सदभावना दुतका हैसियतमा काठमाडौंको टुँडीखेल पुगेर उहाँले पीडितलाई सहयोग गर्नुभएको हो।
तस्बिरः यूएनफपीएकाे वेबसाइटबाट
Comment Here!