भूकम्पले सुत्केरीलाई दिएको सास्ती अझै उस्तै


प्रकाशित मिति :2015-05-25 10:43:09

रसना ढकाल/

rrrrrrrrrrrrrrrrrrr

काठमाडौं ,जेठ ११। भक्तपुर ठूलोव्यासी– १० की ३४ वर्षीया बुद्धिलक्ष्मी कासवा वैशाख १२ गतेको प्राकृतिक विपत्ति कहिल्यै बिर्सने सक्ने अवस्थामा छैनन् । अहिले उनीसँग महिनाको नानी पनि छ । उनी भन्छिन्, ‘म किन बचेँ ? मेरो नानी र म मरे पनि हुन्थ्यो ।’ सुत्केरी भएको २३ दिनको दिन भूकम्पमा पुरिएको क्षणले बुद्धिलक्ष्मीलाई जीवनभरि नमेटिने चोट दिएको छ ।

वैशाख १२ गते आएको विनाशकारी भूकम्पले बुद्धिलक्ष्मीको परिवारमा एकप्रकारको शोक नै छाएको छ ।

‘म त्यस दिन आफ्नो पाँचतले घरमाथिको भान्छाकोठामा खाना खाँदै थिएँ ।  एक्कासि भूकम्पको झट्का आएपछि कसैलाई पनि बोलाउन सकिनँ, त्यत्तिकैमा म तल्लो तलामा माथिको दलिनले थिचिएर पुरिएकी थिएँ । पुरिएको चार घन्टापछि यहाँ एकजना सुत्केरी दिदी हुनुहुन्थ्यो भन्दै गाउँले भाइहरूले खोजी गरे । म सिँढीको तल्लो भागमा पुरिएकी थिएँ । भाइहरूले इँटा पन्छाउँदै मेरो खोजी गरे । म फेला परेको अवस्थामा बेहोस थिएँ । मलाई सल्लाघारीस्थित इवामुरा अस्पतालमा पु¥याइएको रहेछ । अरू मलाई थाहा छैन,’ त्यो विनाशकारी दिन र त्यसमाथि आफ्नो सुत्केरी अवस्था सम्झिँदै उनले भनिन् । ‘नानीलाई आमाले तेल लगाउन बारीमा लैजानुभएको थियो । त्यसैले नानीलाई केही पनि भएन,’ उनी भन्छिन् । बुद्धिलक्ष्मीको परिवार अहिले माइतीमा बसिरहेको छ । ‘घर छैन, म र मेरो परिवार बाँच्नलाई गाह्रो भयो,’ बुद्धिलक्ष्मीका पति नारायणप्रसाद कासवा भन्छन् । सुत्केरी श्रीमतीलाई स्याहार नपुगेका कारण बच्चा र आमा दुवैको ज्यान कमजोर भएको बुद्धिलक्ष्मीका पति नारायणप्रसाद कासवा बताउँछन् ।

त्यस्तै, भक्तपुर चाँगुनारायण नगरपालिका झौखेल– ६ बस्ने वर्ष २८ की तिमिला दुवाललाई पनि भूकम्पले घाइते बनायो । उनलाई वैशाख २७ गते चिकित्सकले सुत्केरी हुने समय दिएका थिए । तर, वैशाख १२ गते आफू भूकम्पमा परी पाँचतले घरमा पुरिएको कुरा उनी गहभरि आँसु पार्दै सुनाउँछिन् । ‘ईश्वरको कृपाले मलाई केही भएन र नानी पनि स्वस्थ नै जन्मियो,’ तिमिला भन्छिन् ।

unnamed

‘घरमा शुक्रबार देवाली पूजा थियो । सबै पाहुना त्यही दिन बिदा भइसक्नुभएको थियो । शनिबार खेतमा पनि काम थियो । सासूआमा बिहानै खेत जानुभयो । म माथि भान्छामा खाना पकाउँदै थिएँ । जमिन हल्लेकोजस्तो महसुस भयो । भान्छाकोठाको सामान खस्न सुरु भयो । म आत्तिएँ, श्रीमान्लाई बोलाउँदा उहाँलाई दलिनले च्यापिसकेको रहेछ । म तल आउन सकिनँ । बेहोस भएँ । शनिबार ११ः५६ मा भूकम्प आयो, सोही दिन ३ः३० बजेपछि मलाई प्रहरी र स्थानीयले उद्धार गरे । म बेहोस अवस्थामा थिएँ । एकैपटक सल्लाघारीस्थित इवामुरा अस्पतालमा पु¥याएर उपचार हुँदा मेरो होस आयो । १९ गते बच्चा जन्मियो । म घाइते भएकीले बच्चाको स्याहार गर्न सकेकी छैन,’ तिमिला भन्छिन् । अहिले तिमिलाको परिवारको वास पालमा छ । नवजात शिशुलाई पालको चिसोले समात्ला भन्ने चिन्ता घरपरिवारलाई रहेको उनी बताउँछिन् ।

वैशाख १२ गते आएको विनाशकारी भूकम्पले के महिला, के पुरुष र के बालबालिका कसैलाई पनि छोडेन । तर, शारीरिक अवस्थामा कमजोर हुने गर्भवती  र सुत्केरी प्राकृतिक प्रकोप र शारीरिक रूपमा जोखिमपूर्ण अवस्थामा रहेकाले समस्यामा परेका बताउँछिन् जनस्वास्थ्य कार्यालय भक्तपुरकी नर्स सन्ध्या न्यौपाने । उनी भन्छिन्, ‘भक्तपुरमा मात्र भूकम्पको कारण उच्च जोखिममा एक सय महिला रहेका छन् ।’ सुत्केरी अवस्थामा स्याहारसुसार राम्रो हुनुपर्ने बेलामा ती सुत्केरी पालमा बस्न बाध्य छन् । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै महिला विकास कार्यालय भक्तपुरको संयोजन र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा सुत्केरीको पहिचान गर्दै न्यानो कपडा वितरण गरिएको जानकारी सन्ध्याले दिइन् ।

जिल्ला महिला विकास कार्यालय भक्तपुरकी अधिकृत निर्मला कार्कीले सुत्केरी आफ्नो पहिलो प्राथमिकतामा परेकाले अब उनीहरूको रेखदेखका लागि विशेष योजना ल्याउने बताइन् । ‘भूकम्प गएपछि सुत्केरीको पहिचान गरी जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा बच्चालाई चाहिने एकजोर कपडा, आमाले लगाउने गाउन वितरण ग¥यौँ,’ निर्मला भन्छिन् । अब भविष्यमा विभिन्न सङ्घसंस्थासँग मिलेर ती सुत्केरीको उपचारका लागि कार्य गर्ने जानकारी उनले दिइन् ।

‘गर्भमा रहेको बच्चालाई खासै असर नपर्ने र आमा भागदौडमा परेको बेला रगत बग्यो भने सुत्केरी अवस्था हुदाँ अलि जोखिम हुन्छ, तर बच्चालाई केही पनि हुँदैन,’ भूकम्पको कारण गर्भवती र सुत्केरीमा कस्तो असर पर्छ भन्ने प्रश्नमा प्रसूतिगृह थापाथलीकी डाक्टर सुमी मुनाकर्मी भन्छिन्, ‘नवजात शिशुलाई सफा र राम्रो ठाउँमा राख्नुपर्ने हुन्छ, तर भूकम्पको कारण थुप्रै सुत्केरी पालमा बस्न बाध्य छन्, त्यसैले बच्चाको रेखदेख गर्नु जरुरी छ, होइन भने नवजात शिशुलाई बाहिरको किटाणुले असर गर्न सक्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: