महिला खवर
ललितपुर,जेठ ११। अखिल नेपाल महिला संघले भूकम्प पीडितका लागि अस्थायी घर निर्माण गर्न थममाया थापाको नेतृत्वमा महिला स्वयंसेवी दस्ता निर्माण गरेको छ। पुनर्निर्माणका लागि तयार गरिएको स्वयंसेवी दस्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टहरा निर्माण गर्ने औजार सहित भृकुटी मण्डपबाट तोकिएको कार्यक्षेत्रमा जान निर्देशन सहित विदाई गर्नुभएको छ।
सय जना महिला स्वयंसेवी दस्ताले काठमाडौं क्षेत्र नम्बर ४ को ३ नम्बर गाविस चपलीमा २५ वटा अस्थायी घर निर्माण गर्ने योजना बनाएको संघका प्रवक्ता शान्ति अधिकारीले जानकारी दिनुभयो। स्वयंसेवी दस्ताले चपलीमा महिला मात्र भएका ८ र १२ वटा सुकुम्बासीका घर निर्माणलाई पहिलो प्राथमिकतामा राखेको अधिकारीले जानकारी दिनुभयो।
दस्ताले भूकम्पबाट भत्केका घरका सामान निकाल्ने र पीडित परिवारलाई सुरक्षित ठाउँमा राख्न अस्थायी टहरा निर्माण गर्नेछ। संघले दुईवटा समूह बनाई आजबाट पुनर्निर्माणको काम शुरु गरेको छ। एउटा समूहमा ५० जना महिला छन्। समूहमा डाक्टरदेखि इन्जिनियरसमेत सहभागी छन्। उनीहरूले विहान ६ देखि ११ बजेसम्म र २ देखि ६ बजेसम्म काम गर्ने तालिका बनाएका छन्।
यो अभियानमा सहभागी हुन भूकम्पबाट कम प्रभाव पारेका जिल्लाका संघका प्रतिनिधि काठमाडौंको आएको अधिकारीले जानकारी दिनुभयो। पुनर्निर्माणमा महिला सक्षम छन् भन्ने सन्देश दिन महिलाको मात्र स्वयंसेवी दस्ता खडा गरेको प्रवक्ता अधिकारीले बताउनु भयो।
Comment Here!