महिला खवर
ललितपुर, जेठ ११। गएको महिना गएका दुइटा विनाशकारी भूकम्पपछि, नेपालका ५ वर्ष मूनिका करिब ७० हजार बालबालिका कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ। उनीहरूलार्ई तुरुन्त मानवीय सहायताको आवश्यकता रहेको युनिसेफले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लाका, करिब १५ हजार बालबालिकालाई गम्भिर कुपोषणको उपचारका लागि तयारी उपचारात्मक खाना बदामको पेस्ट आवश्यकता भएको विज्ञप्तिमा जनाईएको छ। साथै ५५ हजार मध्यम कुपोषण भएका बालबालिकाकाको स्वास्थ्य सुधारका लागि थप पोषिलो खाना तथा हेरचाहको आवश्यकता रहेको छ, विज्ञप्तिमा भनिएको छ।
विपद् हुनु अघि पनि नेपालका १० जनामा एक भन्दा बढी बालबालिकामा गम्भीर खालको कुपोषण र १० मध्ये ४ बालबालिका उमेर भन्दा पुड्को भएको नेपालस्थित युनिसेफका प्रतिनिधि श्री टोमो होजुमीले बताउनुभएको छ। ‘यो विपद्पछि बालबालिकाको पोषणको अवस्था झनै बिग्रिने र राष्ट्रले विगत केही वर्षमा पोषणको क्षेत्रमा हासिल गरेका उपलब्धि गुम्ने हो कि भन्ने हामीलाई गम्भीर चिन्ता छ’ उहाँले भन्नुभएको छ।
बालबालिकाको जीवन रक्षा र बर्षायाममा पानीबाट हुने रोगहरूबाट बचाई रोगसँग लड्ने क्षमता बढाउन युनिसेफले साझेदारसँग मिलेर काम गरिरहेको होजुमीले बताउनुभएको छ। युनिसेफले नेपाल सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाको साझेदारीमा बृहत् पोषणसम्बन्धी कार्यक्रमको कार्यान्वयन गरिरहेको छ।
Comment Here!