देविका घर्ती मगर
दाङ, जेठ ११। दाङ सतवरिया गाविसको वनघुस्री गाउँबाट चरित्रमाथि आरोप लगाएर गाउँनिकाला गरिएकी वासुदेवी चौधरी पुनर्स्थापित भएकी छिन् ।दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसहित सभासद् पार्वती डिसी चौधरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख वीणा श्रेष्ठसहितले आइतबार वासुदेवी चौधरीलाई उनकै गाउँमा पुनस्थापित गराएका हुन्।
वैशाख २८ गते गाउँका महिलाले कपाल मुण्डन गराई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ निकाला गरिएकी चौधरीलाई स्थानीय प्रशासनको अगुवाइमा निकाला गर्नेहरूले नै फूलमाला र अबिर लगाएर पुनः स्थापित गरेका हुन् । परपुरुषसँग अनैतिक सम्बन्ध राखेको र बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गर्दै सामाजिक बहिष्कार गरेकाले नै बासुदेबीलाई गाउँमा फुलमालासहित भव्य स्वागत गरे।
त्यस अवसरमा गाउँका अगुवा शालिकराम चौधरीले अबिर, मालाले स्वागत गर्दै विगतमा भएका कुरालाई विर्सेर पुरानै सामान्य अवस्थामा बस्ने बताए। ‘हामीबाट अञ्जान वा जानमा भएका घटनालाई बिर्सेर अब नयाँ ढँगले समाजमा मिलेर बसौं। पहिले जुन अवस्थामा थियौं ती घटनालाई बिर्सेर सामान्य अवस्थामा मिलेर वस्नुपर्छ’–उनले भने। पुर्नस्थापना गरेपछि पनि पुनः घटना दोहोरिएमा कडा भन्दा कडा कारबाही गरिने प्रजिअ पौड्यालले बताए।
‘समाजमा बसेर कसैको अपमान गर्ने काम कसैले गर्न पाइदैन’ उनले भने, ‘कसैको जीवनमाथि खेलेर असामाजिक गतिविधि गर्नेलाई कानुनले छोड्दैन। हामी शान्तिको पक्षमा भएकाले समाजमा दिगो शान्ति स्थापनाका लागि मेलमिलाप पनि आवश्यक पर्छ।’
गाउँमा पुर्नस्थापित भएपछि बासुदेवीलाई कुनैपनि असर पर्नेखालको गतिबिधि भएमा वा त्यसका निमित्त उक्साएमा उनीहरूलाई कारबाहीको दायरामा ल्याइने पौड्यालले बताए। त्यस अवसरमा पीडित बासुदेवीले आफूलाई जस्तो व्यवहार समाजमा कसैल पनि वेहोर्न नपरोस भन्दै समाजमा मिलेर वस्ने प्रतिवद्धता जनाइन्। उनले आफूमाथि अमानविय व्यवहार भएपनि घटनामा सँलग्न महिला तथा गाउँलेले गल्ती महसुस गरी मिल्न चाहेकाले आफू पनि सोही समाजमा सम्मानसहित बस्न चाहेकाले मेलमिलापका लागि आफू तयार भएको बताइन्। घटना भएको दिनदेखी बासुदेबी सदरमुकामको जिल्लास्तरिय सुरक्षा आवास सेवा केन्द्रमा वस्दै आएकी थिइन्।
घटनाका दोषीलाई मुद्दा चलिरहेकै बेला जिल्ला प्रशासन कार्यालयले प्रतिब्यक्ति २/२ हजार रुपैयाँ धरौटीका दरले १२ हजार धरौटीमा रिहा गरेको थियो । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटनाका पीडकलाई सुध्रने र पीडितलाई पुर्नस्थापित गर्ने सोच अनुसार धरौटीमा रिहा गरिएको बताएका थिए ।
थप समाचार
Comment Here!