भूकम्पले एकल र पारिवारिक जिम्मेवारीमा रहेका महिला बढ्ता पिरलोमा


प्रकाशित मिति :2015-05-26 14:08:44

धनु राई\

a

ओखलढुङ्गा,जेठ १२।‘श्रीमान हुनुभएको  भए केही कमाएर ल्याउनुहुन्थ्यो, ऋण पनि तिरिन्थ्यो होला, अब खै के गरी बाँकी जीवन बिताउनु ? आफू पनि रोगी छु, एक दिन काम गर्दा पाँच दिन सुत्नुपर्छ । काम गर्न सक्दिनँ,’ ओखलढुङ्गा बरुणेश्वर– २ रामपुरकी शर्मिला नेपालीले भक्कानिँदै भनिन् । उमेरले ३५ वर्ष मात्र भएकी शर्मिलाका श्रीमानको पाँच महिनाअघि मात्र रूखबाट लडेर मृत्यु भएको थियो । घर बनाएको केही महिनापछि उनको मृत्यु भएको हो । नयाँ घरमा बस्न थालेको एक वर्ष बित्न नपाउँदै, घर बनाउँदा लागेको ऋण तिरी नसक्दै भूकम्पले घर भत्काइदिएपछि नेपालीलाई मर्नु न बाँच्नुजस्तो भएको छ । आम्दानीको स्रोत केही नहुँदा र ऋण पनि भएकाले जीवन निर्वाहसँगै ऋण कसरी तिर्ने भन्ने चिन्तामा परेकी छिन् यतिखेर उनी । वैशाख १२ को भूकम्पले घर भत्किएपछि उनी एउटा पाल टाँगेर चिसो भुइँमा बस्दै आएकी छिन् । हावाहुरी चल्दा र पानी पर्दा पाल उडाउने डर उनमा छ ।

नेपाली भन्छिन्, ‘श्रीमानको सट्टा बरु आफू मर्न पाएको भए हुन्थ्यो, उहाँ त रोगी पनि हुनुहुन्नथ्यो, म त आफँै बिरामी छु काम गर्न सक्दिनँ ।’ उनमा पाठेघरमा घाउ भई पाक्ने, मासु पलाउनेलगायतको समस्या भएको र उपचार गराए पनि निको नभएको अवस्था छ । आम्दानीको स्रोत केही नहुँदा अब उपचार कसरी गराउने भन्ने चिन्ता उनमा छ । सम्पत्तिको नाममा माइतीबाट भाइले दिएको एउटा भैंसी मात्र छ । खेतबारी केही नहुँदा अरूको काम गर्ने गरेकी छिन् । भूकम्पले घर नभत्काइदिएको भए मागेर, सके कमाएर भए पनि जीवन चलाउने उनको आशा थियो । तर, भएको एउटा घर पनि भत्किएपछि उनको मनै फाटेको छ ।

यस्तै धनमाया खड्काको व्यथा पनि शर्मिलाको भन्दा फरक छैन । ओेखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ ज्यामिरेकी ६६ वर्षीया खड्काका श्रीमान बितेको पनि ४० वर्ष भइसक्योे । यस अवधिमा खड्काले थुप्रै कठिनाइको सामना गरिन् । घर भूकम्पले भत्काइदिएपछि अहिले उनीमाथि झनै समस्या थपिएको छ । भूकम्पले घर भत्काएको महिना दिन बित्दासमेत केही सहयोग नपाउँदा र आफँैले एउटा पालसम्म पनि किन्न सक्ने अवस्था नभएकाले बाख्रालाई ओताएको सानो चित्रामुनि बसी रात काटिरहेकी छिन् । पानी पर्दा भने वर्षात्मा काम गर्दा ओड्ने सानो प्लास्टिक टाउकोमाथि ओताएर दिनरात कटाउने गरेकी छिन् । उनी भन्छिन्, ‘सरकारले वासका लागि एउटा पाल र खानका लागि केही राहत दिन्छ कि भन्ने आशामा छु, दिए खाउँला–बाँचौँला, नदिए अब जे हुन्छ जस्तो हुन्छ त्यस्तैमा बाँच्नुपर्ला नि, बाँचुन्जेल र सास हुन्जेल आस हुँदोरहेछ, म त सरकारले केही राहत दिन्छ भन्ने आशामा छु ।’

यस्तै सोही गाउँ ज्यामिरेकी अर्की महिलाको व्यथा पनि उस्तै छ । चार छोरीकी आमा गोमा खड्काले छोरीलाई पढाउन नसकी आफन्त, छिमेकीहरूले पढाइदिएको बेलामा भूकम्पले घर भत्काइदिएपछि थप समस्यामा परेकी छिन् । चार वर्ष अघिदेखि अचानक श्रीमान्को घुँडामा घाउ भएपछि उपचारको क्रममा घँुडा नै काटिएपछि उनी अपाङ्ग बन्नुपरेको थियो । यसरी अपाङ्गता भएका श्रीमान, चार छोरीसहित ६ जनाको परिवार अहिले दिनमा जसोतसो समय कटाए तापनि रात परेपछि छिमेकीको पालमा वास बस्न जानुपर्ने बाध्यता छ । आफूले केही गरेर पाल किन्न सक्ने अवस्था नभएको र सरकारबाट पनि कुनै राहत नपाएकाले उनको सबै परिवार अरूको पालमा हरेक रात शरण लिन जानुपरेको गोमाले बताइन् । सरकारले पाल दिन्छ भनी सुनेकाले जिल्ला दैवी प्रकोप उद्धार समितिमा दुई दिनसम्म धाउँदा एउटा पाल पनि नपाएको उनी बताउँछिन् । उनलाई यतिखेर खानलाई भन्दा पनि वासका लागि समस्या भएको छ ।

यस्तै जिल्लाकै विगुटार गाविस–३ की तुलसा कटुवालको पनि भूकम्पले घर भत्काइदिएपछि बाख्राको खोरमा बाख्रासँगै वास भएको छ । उनको पनि ७० वर्षको श्रीमान् १० वर्षअघिदेखि प्यारालाइसिसले थलिएपछि आफँैले हेरचाह गर्दै आएकी छिन् । आफू बस्दै आएको घर भत्किएपछि उनमा थप पीडा थपिएको छ । कटुवाल भन्छिन्, ‘जसोतसो गाँसको बन्दोबस्त मिलाउने गरेकी थिएँ, अब वासको उठिवास भएपछि कहाँ कसरी बस्ने ? अपाङ्गता भएका श्रीमानलाई छोडेर काममा हिँड्न पनि डर हुने, फेरि भूकम्प आएर थिच्ने हो कि, भाग्न पनि सक्नुहुन्न, घर नभत्किँदा त घरमै छाडेर बनिबुतो गरेर ल्याएर पालेकी थिएँ, अब त खै के गरी पाल्नु ? आफू पनि बुढेसकाल लागेको छ, काम गर्न खासै सकिन्न, जीउन गाह्रो हुने भयो ।’ ६९ वर्षीया तुलसाको एउटा भएको छोरोको पनि वर्ष दिनअघि मात्र मृत्यु भएको थियो । छोराको मृत्युपश्चात् श्रीमान–श्रीमती दुईजना मात्रै रहेको कटुवालको परिवारमा भूकम्पले वाससँगै गाँस पनि टुटाउन लागेकाले सरकारबाट केही सहयोग मिल्ला कि भन्ने आशामा तुलसासँगै उनका श्रीमान बाख्राको खोरमा दिनरात बिताइरहेका छन् ।

aa

श्रीचौर–३ का मोहन तामाङ पनि भूकम्पमा पर्दा आजीवन अपाङ्ग भएर जीवन बिताउनुपर्ने अवस्था भएपछि उनकी श्रीमतीलाई कठिनाइ भएको छ । चार बालबालिकालाई हुर्काउने–पढाउने सबै जिम्मेवारी त काँधमा परेकै छ, त्यसमाथि मेरुदण्ड नै भाँचिएका श्रीमानको हेरचाह, स्याहारसुसार गर्ने काम सरिताको काँधमा परेको छ । अहिले तामाङ सामुदायिक अस्पताल सोबु्रमा मोहनको उपचार गराइरहेकी छिन् । वैशाख १२ को भूकम्पले घर भत्किँदा थिचेर उनका श्रीमानलाई आजीवन घाइते पनि बनाएको छ । ज्यामी गरेर जसोतसो परिवार चलाइरहेको उनको श्रीमान नै अब जीवनभर थलिएर बस्नुपरेपछि छोराछोरीलाई कसरी पाल्ने, के गरी पढाउने, हुर्काउने, श्रीमानको कसरी उपचार गराउने भनेर सरिता चिन्तामा छिन् ।

यी त केही प्रतिनिधि घटना मात्रै हुुन् । जिल्लाका धेरै महिलाको पीडा यससँग मिल्दोजुल्दो रहेको पाइएको छ । यसरी भूकम्पले पनि महिलामा बढी समस्या भइरहँदा जिल्लाका विभिन्न जिम्मेवार निकायले राहत वितरण कार्यक्रम सञ्चालन गरिरहेको र राहत वितरणमा उनीहरूलाई प्राथमिकता दिएर वितरण गरेको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।

यस्तै महिला तथा बालबालिका कार्यालय ओखलढुङ्गाले पनि युनिसेफमार्फत प्राप्त पाल, मण्डी र बच्चाका लागि खेलौनालगायतका राहत सामग्री गर्भवती, सुत्केरी, बालबालिकालाई वितरण गरिरहेको महिला अधिकृत प्रवाला श्रेष्ठले बताइन् ।

भूकम्पका कारण महिलामा पर्न गएको यो समस्याप्रति सम्बन्धित सबै निकायले राहत वितरणलगायतका कार्यक्रम सञ्चालन गरिरहे तापनि अझैसम्म कतिपय पीडित एउटा पालसम्म पनि नपाउँदा खुला आकाशमुनि दिनरात कटाउन बाध्य छन् । यसरी पीडित बन्नेमा सदरमुकामभन्दा ग्रामीण भेगका महिला बढी छन् । यसर्थ जिम्मेवार व्यक्ति तथा सङ्घसंस्थाको ध्यान ती ग्रामीण भेगका पीडित महिलासम्म पुग्न आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: