गोपाल दाहाल
धरान, जेठ १३ । नेपाल रेडक्रस सोसाईटी सुनसरीको कार्यालयमा एकैखाले टिसर्ट लगाएका किशोरी लस्करै उभिएका छन्, उनीहरूको अघिल्तिर सेतो पहिरन लगाएका तीन जना ठूलो स्वरमा अभ्याससहित कराउँदै छन्। ‘यसरी समात्ने अनि यसरी पछार्ने।’
सेतो पहिरन लगाएका एक जनाले अर्कालाई समातेर भुईमा लडाउँछ, त्यसको सिको गर्दै किशोरीहरूपनि आफ्ना साथीलाई लडाईरहेका छन्। तालिममा सहभागी किशोरी प्रिया मोक्तानले सुनाईन् ‘कसैले आक्रमण गरे आफ्नो सुरक्षा आफै गर्ने कला सिकेको।’
महिला हिंसा, बलात्कार जस्ता घटना बढिरहेको बेला धरान जेसिजले एसएलसी दिएर बसेका १८ जना किशोरीलाई आत्मरक्षा सम्बन्धि तालिम दिएको हो। धरान जेसिजले आयोजना गरेको मिस एसएलसीका सहभागी १८ जना किशोरीलाई आफूमाथि आक्रमण भएका बेला आत्मरक्षा गर्ने तरिका सिकाएका हुन्। सितोरियो कराँते संघ सुनसरी प्रशिक्षक रविराज राई, अशेष मगर, शुष्मा राई र राजबहादुर लिम्बुले किशोरीलाई एकदिने आत्मरक्षा सम्बन्धि तालिम दिए।
जताततै महिला हिंसाका घटना, बलात्कारका घटना बढिरहेकाले किशोरीलाई सचेत गराउँदै कसैले आक्रमण गरे बच्ने उपाय सिकाउन आत्मरक्षा तालिम दिईएको धरान जेसिजका अध्यक्ष प्रेमराज शाक्य बताउँछन्।
किशोरीलाई भूकम्प, बाढी पहिरो जस्ता विपत्तीका बेला अपनाउनु पर्ने सावधानी र अरुलाई गर्नुपर्ने सहयोगका बारेमा समेत तालिम दिएको बताउँदै शाक्य भन्छन् ‘आफैं प्रतिकार गर्न सक्षम भए हिंसाका घटना कम हुन्छन् भन्ने आशा सहित किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिएका हौं।’
Comment Here!