‘जीवनकै सहारा भएको छ, सार नेपाल’


प्रकाशित मिति :2015-05-28 11:05:19

अरुणा रायमाझी

काठमाडौं,जेठ १४। बुटवलबाट डाक्टर बन्ने सपना बोकेर काठमाडौं आइपुगेकी आरती पौडेल कटुवालले दुई महिनाको तयारी कक्षापछि एम.बी.बी.एस पढ्न टेस्ट परीक्षा दिइन्। आमाबुबाको चाहना अनुसार डाक्टर बन्न राजधानी छिरेकी आरतीको भित्री इच्छा समाजसेवा गर्ने थियो।

छोरी डाक्टर बनेको हेर्ने इच्छा राखेका आमाबुबालाई छोरीको सामाजिक कार्य पढ्ने कुराले चित्त बुझेको थिएन। मेडिकल लाइन छोडेर उनले नेपाल स्कुल अफ सोसल वर्कमा भर्ना भइन्। स्नातक अध्ययन पुरा गरे लगत्तै आरतीले जेष्ठ नागरिकको अधिकारमा लाग्ने युवा अत्यन्तै कम देखेपछि सार नेपाल नामक संस्था दर्ता गरेर जेष्ठ नागरिकका लागि दिवा सेवा (डे वोडर्स) शुरु गरिन्। थापागाउँ नयाँ बानेश्वरमा रहेको सार नेपालमा अहिले ६० जना जेष्ठ नागरिकले दिवा सेवा लिइरहेका छन्।

 

कलेज अध्ययनकै क्रममा अनुभव सँगाल्न आरतीले एउटा बृद्धा आश्रममा ६ महिना निःशुल्क काम गरिन्। जसले जेष्ठ नागरिकको सेवामा लाग्न थप प्रेरित गर्‍यो। उनी भन्छन् ‘जेष्ठ नागरिकको योगदानलाई न त राज्यले कदर गरेको छ, नत परिवारले नै।’ ‘राज्यको दायित्व पशुपतिमा वृद्धा आश्रम खोल्दैमा पुरा हुँदैन। उहाँहरूका लागि वृद्धा आश्रम विकल्प हो भन्ने सोच विल्कुलै गलत भएको आरतीको धारणा छ।’ बृद्धबृद्धाको लागि राज्यले देशभर नयाँ कार्यक्रम लागु गर्नुपर्ने माग उनको छ।

DSC_2118
समाजका अन्य क्षेत्रमा काम गर्ने युवाको संख्या अत्यन्तै धेरै छ, तर जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने युवाको संख्या औंलामै गन्दा हराउँछन्। धेरै मान्छेहरू जेष्ठ नागरिकमाथि समय लगाउनु हुँदैन भन्ने सोच्छन्। तर, आरतीका विचारमा भने जेष्ठ नागरिकसँग जीवनका सबै अनुभव छन्। जो समाज विकासको लागि थप योगदान हुनसक्छ भन्ने अभियान लिएर घर घरमा पुगेकी छन्। २०६९ सालमा दर्ता भएको सार नेपालकोे पहिलो उद्देश्य जेष्ठ नागरिकलाई घरबाट वाहिर आउने वतावरण मिलाउने थियो।

 

 

उनी भन्छिन् ‘युवा र महिलाको लागि विभिन्न क्लव र समूह छन्। जेष्ठ नागरिकको लागि के त? घर परिवारले समय दिन पाउँदैनन्। त्यसैको कमीलाई केही हदसम्म पुरा गराउन सार नेपाल स्थापना गरेको आरती बताउँछिन्। सार नेपाल आफ्नै उमेर समूहका जेष्ठ नागरिकका लागि अनुभव साटासाट गर्ने ठाउँ पनि हो।

न्यायमुलक समाज निर्माणका लागि सार्वजनिक स्थान, यातायात, अस्पताल र विभिन्न सेवा प्रदान गर्ने ठाउँमा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता हुनुपर्ने सोचको विकास गराउने अभियानमा लागेकी आरती आफू भने जम्मा २६ वर्ष पुगेकी छिन् । जेष्ठ नागरिकको सशक्तिकरणका लागि अनौपचारिक शिक्षा, मोबाइल, कम्प्युटर, इमेल इन्टरनेट चलाउन सिकाउने, धार्मिक गीतसङ्गीत, अध्ययनका लागि पुस्तकालय, मनोविमर्श र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सार नेपालले दिँदै आएको छ।

DSC_2149

घरमा नाती नातिना स्कुल पुर्‍याउने, हेरचाह गर्ने र उनीहरूलाई खाना खुवाउने कामको मुल्याकंन हुँदैन। यो समस्या घर घरमा छ। त्यसका लागि सारले नयाँ पुस्तासँग हरेक महिना अन्तरक्रिया गर्ने गर्दछ। यहाँ उमेर पुगेपछि लाग्ने विर्सने रोग …अल्जाइमसर्’ सम्बन्धि मनोविमर्श पनि दिइन्छ। यसका लागि मासिक शुल्क पाँच सय रुपैयाँ तोकिएको भए पनि दिनै पर्ने बाध्यता छैन।

स्थापनाकालदेखि यो संस्थामा आउन थाल्नु भएकी ७१ वर्षीया कृष्णकुमारी खड्का अहिले ‘क’ ‘ख’ र ‘ए’ ‘बी’ ‘सी’ मात्र होइन मोबाइल पुरै चलाउन सक्ने भएकी छन्। उनले फोन चलाउन सिकेपछि पहिलो कल छोरीलाई गर्दा निकै खुशी लागेको बताइन। अहिले मनले चाहेको मान्छेलाई आफै फोन डायल गर्न र नयाँ नम्बर मोवाईलमा सेभ गर्न सक्ने भएकी छन्।

खड्का भन्छिन् ‘छोरा वुहारी जागिर गर्न जान्छन्। घरमा एक्लै हुँदा फोन गर्न मन लाग्थ्यो तर आउँदैथ्यो। आरती नानीले सिकाएर सजिलो भएको छ।’ सार नेपालमा आउने आमाहरू अहिले विदेशमा रहेका छोराछोरीसँग स्काईपमा कुरा गर्ने, फेसबुक चलाउन सक्ने भएका छन्। विहान ९ देखि बेलुका ५ बजेसम्म सार नेपालले ५० देखि ८० वर्षसम्मका महिलालाई सेवा दिने गरेको छ।

Sar 1

आरतीले जेष्ठ नागरिक सानो सानो कुरामा परिवारमा आश्रित हुँदा हेप्ने र ध्यान नदिने गरेको आफैले अनुभव गरेको बताउँदै भनिन् …उहाँहरूलाई आत्मनिर्भर कसरी बन्ने भन्ने कुराको तालिम पनि दिएका छौ।’ एक्लो हुँदा आउने निराशापन हटाउन सङ्गीतले ठूलो सहयोग गरेको अनुभव त्यहाँ आएका जेष्ठ नागरिक महिलाले सुनाए।

उक्त संस्थाले आमाहरूका लागि र्‍याम्पको आयोजना समेत गरेको थियो। र्‍याम्पमा हिड्न पाउँनु आफ्नो कल्पना बाहिरको कुरा भएको ७१ वर्षीया कृष्णले बताइन्। उनले यो उमेरमा र्‍याम्पमा हिँड्न पाइन्छ भन्ने कल्पना पनि नगरेको सुनाउँदै भनिन्— घरमा गुम्सिएर बस्ने बेलामा आरतीले नयाँ जीवनको शुरु गरि दिएकी छिन्।’

र्‍याम्पमा आमाहरूको आत्मविश्वास देख्न पाउँदा सबैभन्द आनन्द अनुभूत भएको सुनाउँदै आरतीले भनिन् ‘उहाँहरू घरबाट साडी लगाएर आउनु भएको थियो। मेरो उद्देश्य उहाँहरूलाई हेर्ने र सुन्ने मान्छे छन् भन्ने अनुभूति गराउनु थियो त्यसमा सफल भएँ।’ स्नातकोत्तरदेखि सामान्य साक्षर जेष्ठ नागरिक यहाँ हुनुहुन्छ। यहाँको सबैभन्दा सकारात्मक पक्ष भनेको एकले जानेको कुरा अर्कोलाई विना हिचकिचाहट सिकाउनु हो।

DSC_2047

सार नेपालबाट अनौपचारित शिक्षाको प्राथमिक तह पास गरेकी डडेलधुराकी ६५ वर्षीया कमला भट्टले शिक्षाका साथै आफ्नै उमेरका साथीहरूसँग दुःख सुखका कुरा गर्न पाउँदा सबै भन्दा आनन्द आउँने र दिन काट्न सजिलो भएको बताइन्। पाँच छोराछोरीकी आमा भट्टले भनिन् ‘यो उमेरमा आएर पढ्न लागेकी छु। मेरो पालामा छोरी नपढाऊ भन्ने जमाना थियो तर मैले सबै छोरीलाई एम.ए गराएकी छु। आफूले नपाएपनि छोरीले राम्रो शिक्षा पाए त्यसैमा चित्त बुझाउँछु। अहिले म पनि कृष्ण चरित्र र धार्मिक किताब पढ्न सक्ने भएको छु।’

खान लाउन दुःख छैन तर, दिनभर घरमा एक्लै बस्न अल्छी लाग्छ सार नेपालमा आयो भने साथीसँग मनका कुरा गर्न पाईने उनले बताइन्।
‘बुढाले अंग्रेजी पत्रिका पढेको देखेर मलाई पनि पढ्न रहर लाग्छ , के गर्ने? पहिला पढ्न आईन अहिले अंग्रेजी पनि सिक्दैछु कहिले लेख्छु, कहिले विर्सन्छु। सार नेपालमा आएर ‘एप्पल’ माने स्याउ लेख्न सिकेकी छु’ भट्ट मन खोलेर हाँसिन्।’

सारको दिवा सेवा लिएकी ६४ वर्षीया सुमित्रा पन्त नेपाल एयर लाइन्स कर्पोरेसनबाट रिटायर कर्मचारी हुनुहुन्छ । एयर लायन्सको लेखा शाखामा काम गरेर धेरै अनुभव संगालेकी सुमित्रा आफूले जानेका कुरा साथीहरूलाई सिकाउन पाउँदा आनन्द लाग्ने बताउँछिन्। एम एड अध्ययन गरेकी पन्तले सार नेपालमा शिक्षिका छन्। ‘यहाँ आउँदा समय वितेको थाहा हुँदैन। घरमा कोही छैन। छोरा छोरी सबै आफ्नै पेसामा छन्। काममा नजाउ भन्नु मिल्दैन। त्यसैले यहाँ आउँछु।’

आरती अहिले मानवशास्त्रमा स्नातकोत्तर गरिरहेकी छन्। द्वन्द्व पीडित बालबालिकाको क्षेत्रमा काम गर्न २०१० मा रोल्पा पुगेकी थिइन्। त्यहाँ पनि उनले जेष्ठ नागरिकमाथि परिवारले गर्ने व्यवहारको नजिकबाट अध्ययन गर्न पाइन्।

आरतीले यो संस्थालाई स्थापित गर्न दिनरात मेहनत गरेको बताउँदै भनिन् ‘काम राज्यले गर्नुपर्ने हो। तर,राज्य कर्तव्यविहिन बनेको छ। अरु केही नगरे पनि जेष्ठ नागरिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन गर्ने र काम गर्न सहज वातावरण मिलाईदिए पुग्थ्यो।’
सार शनिवार बिदा हुन्छ। तर, शनिवार नआए हुन्थ्यो भन्छन् सारको सेवा लिइरहेका आमाहरू। सार नेपालमा आउँदा माईती आए जस्तो लाग्ने धेरै आमाहरूले बताउँछन्। आत्मखुशी राख्न यहाँ आउने गरेको उनीहरूको भनाई छ।

सारमा किन आउन मनलाग्छ? एकजना आमाले भनिन् ‘घरमा एक्लै बस्न दिक्क लाग्छ। छिमेकीसँग एउटा कुरा गर्‍यो, छोराबुहारीलाई चारवटा बनाएर सुनाइदिन्छन्। यहाँ दुःख सुखका कुरा सुन्ने साथी छन्। दिनको ५,६ घण्टा हाँसी खुशी बित्छ।’ ५९ वर्षीया उमा गौगत सिराहबाट काठमाडाैं आएको धेरै भयो। श्रीमानसँगै कहिले भैरहवा कहिले जनकपुर गर्दै जीवनका तीन दशक पार गर्न लागेकी उमा तीन सन्तानकी आमा हुन्। उनी सार नेपालमा कमप्यूटर र हारमोनियमको तालिम लिँदै छन्। उनी अहिले फेसबुक चलाउन र युट्युवमा भजन हेर्न सक्ने भएकी छन्।

छोराबुहारी अफिस र नातीनातिना स्कुल जान्छन्। घरमा एक्लै बस्दा ‘डिप्रेसन’ होला भन्ने डर लागेको बताउँदै उमाले भनिन्, ‘सारमा आफ्नै उमेरका साथीहरूसँग धेरै कुरा सिक्ने र सिकाउने मौका मिलेको छ। यो सौभाग्य नै हो।’

‘खाई नखाई बुढा बुढी मिलेर घर बनाएको हुन्छ। छोराहरू मेरो घर भनेर चिनाउँछ र भन्छन् आमाबुबा पालेको छु। तर हामी कहिल्यै भन्दैनौ छोराछोरी पालेका छाैं। यो सबै जेष्ठ नागरिकले भोगेको कुरा हो। यस्तो सोचको अन्त्य गर्न आरती जस्तै नयाँ पुस्ता अगाडी आउनुपर्ने उमाको भनाई छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: