साधना विश्वकर्मा
काठमाडौं, जेठ १५ । प्राकृतिक प्रकोपले देशमा विपद पर्दा अहिले राजनीतिक दलका नेता कार्यकर्तादेखि नागरिक समाज र विदेशबाट समेत पुर्ननिर्माणमा जुटिरहेका छन् । दल निकट भ्रात्रृ संगठनमा आवद्ध महिला पनि पुननिर्माणमा जुटिरहेको बताएका छन् । वैशाख १२ गते गएको भूकम्पले भत्काएका संरचना निर्माणमा देश यतिखेर प्रभावित क्षेत्रतिर खनिएको छ ।
उपत्यकालगायत भूकम्प प्रभावित जिल्लामा भत्किएका संरचना पुननिर्माण कार्यमा आफ्नो संगठनका महिला प्रतिनिधि खटिरहेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले जनाएको छ ।
काभ्रे, सिन्धुपाल्चोक, नुवाकोटलगायत प्रभावित ठाँउहरूमा भूकम्पका कारण भत्किएका घरको माटो पन्छाइ नयाँ टहरा वनाउन सहयोग पुर्याईरहेको संघ केन्द्रिय सदस्य उमा थापा मगर वताउँछिन् ।
‘अहिले साथीहरू भुकम्प प्रभावित ठाँउमा पुगेर पुन निमार्ण कार्यमा जुटिरहनु भएको छ । उनी भन्छिन् —‘यद्यपी अझै अरु थप विषयमा कहाँ कसरी गर्न सकिन्छ भनेर हामी छलफलमा जुटिरहेका छौं ।’
त्यस्तै पुन निमार्ण कार्यमा विशेष गरी महिलालाई लक्षित गरेर लैङि्गकअनुकूल संरचना निर्माणमा लागेको एमाले निकट यूवा संघकी अध्यक्ष निरु पाल बताउँछिन् । संघको नेतृत्वमा अहिलेसम्म ४ सय ९७ घर पुननिमार्ण गरिसकेको जानकारी अध्यक्ष पालले दिइन् ।
आफ्नै नेतृत्वमा उनी अहिलेसम्म सिन्धुपाल्चोक ,दोलखा, काभ्रे, सोलुखोम्वुलगायतका प्रभावित जिल्लामा १२ वटा समूह परिचालन गरी पुन निमार्ण कार्यमा लागेकी छन् । एकल तथा सुत्केरी महिला भूकम्पपछि अझ बढी समस्यामा परेकाले उनीहरूलाई लक्षित गरेर पुननिमार्ण कार्यमा लागेको पालको भनाई छ ।
युवा संघका सम्पुर्ण महिला कार्यकर्तालगायत केन्द्रिय तहका नेतालाई अहिले प्रभावित क्षेत्रमा पुन निमार्ण कार्यमा खटाएको उनले पुनः निर्माण कार्यमा अहिले गोरखा जिल्लामा खटिएको एमाले निकट अनेरास्ववियुका आर.सी लामिछानेले जानकारी दिए । उनी भन्छन्— ‘पुनः निर्माण कार्यमा जसरी पुरुष साथीहरूको सक्रियता छ त्यो भन्दा अझ धेरै महिला साथीहरूको सहभागिता छ । ’
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापाका अनुसार प्रभावित ठाँउको पुन निमार्ण अन्तर्गत काठमाडौंमा उनकै नेतृत्वमा १४ जना महिलासहित ४०/५० जनाको समूह खटिरहेको छ । भेरी कर्णालीबाट आएका संघका महिला कार्यकता सिन्धुपाल्चोक, दोलखामा पुननिर्माणमा लागेका छन् ।
थापा भन्छिन्—‘हामीले मुख्य गरी तीन थरि अभियानलाई सशक्त रुपमा अगाडी बढाएका छौँ । पहिलो चरणको अभियानमा धरापमा रहेका घरभित्रका, लत्ताकपडा, दराजलगायतका सामान निकाल्न सहयोग गरेका छौँ । दोस्रो अभियानमा धरापलाई हटाएर सुरक्षित वासस्थानमा सहयोग पुर्याएका छौँ भने अन्तिम चरणको अभियानमा चाँही टहरा नभएका तथा कहाँ वस्ने भन्ने कुनै टुंगो नलागेका विस्थापित परिवारलाई सुरक्षित पुर्नवासमा सहयोग पुर्याउँदै आएका छौँ ।’
त्यस्ता प्रभावित ठाउँमा सुत्केरी, वालवालिका, वृद्धवृद्धा तथा घाईते र विरामी धेरै जोखिममा देखिएकाले सम्बन्धित ठाउँ मै स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी उनले दिइन् । सुत्केरी महिलाका लागि कम्बल, शिशु स्याहारका सामग्री वितरण तथा स्वास्थ्य जाँच गरेको उनले बताईन् ।
भूकम्प प्रभावित सुत्केरीहरुलाई परिवारका सवै सदस्यसँग एउटै पालमुनी बस्दा वाध्यता भएकाले उनीहरूलाई कपडा फेर्न तथा सुत्न वस्न समस्या हुने गरेको उनले बताइन् । वालवालिकाहरू बढी मानसिक तनावमा रहेको छन् । त्यस्तै वृद्धाहरूको शारीरिक तथा मानसिक अवस्था कमजोर वन्दै गैरहेको छ’— उनले भनिन् ।
पटक पटक आइरहेको पराकम्पनका कारण भाग्नु पर्दा कतिपयलाई चोटपटक समेत लागेको पुननिमार्णमा संलग्नहरू बताउँछन् । पुननिमार्णमा खटिरहेकै बेलाका पराकम्पनका कारण निमार्ण कार्यमा लागेकाहरूलाई सजग र सर्तक हुन भुतथा जलाधार विभागका महानिर्देशकका प्रेम नारायण कंडेलको सुझाव छ ।
Comment Here!