अपाङ्ग महिला झन् जोखिममा


प्रकाशित मिति :2015-05-29 16:23:54

अञ्जली रम्तेल\

Disable

‘अपाङ्गता भएका महिलामाथि यौनजन्य हिंसा गर्दा घटना बाहिर आउँदैन, आइहाले पनि उनीहरूलाई प्रलोभन देखाएर मुद्दा ‘ढिसमिस’ पार्न सकिन्छ भन्ने सोच पीडकको हुन्छ ।’

 बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई डेढ वर्षअघि जोरपाटीस्थित एक आवासगृहका अपाङ्गता भएका पुरुषले बलात्कार गरे । ती बालिकाको बोली प्रस्ट थिएन भने हातखुट्टासमेत राम्ररी चलाउन सक्दिनथिन् । उनको त्यो मुद्दा अदालतसम्म पुगे पनि आरोपीले ‘ह्विलचियर प्रयोगकर्ता भएको र कम्मरमुनिको भाग चल्न नसक्ने भएकाले आफूले बलात्कार गर्नै नसक्ने’ भनेर बचाउ गरे । पीडित बालिकाले स्पष्ट रूपमा आफ्नो कुरा राख्न सकिनन् । उनको बयानलाई अदालतले पनि गम्भीर रूपमा लिएन, मुद्दा हारिन् ।

केही समयअघि ललितपुरमा ७२ वर्षका वृद्धले १२ वर्षकी बौद्धिक अपाङ्गता भएकी एक बालिकालाई बलात्कार गरे । पीडित बालिकाकी आमा पनि बौद्धिक अपाङ्गता भएकी र आर्थिक अवस्था अत्यन्त कमजोर रहेका कारण ती वृद्धले बालिकालाई मःमःलगायतका खानेकुरा दिने प्रलोभनमा पारी पटक–पटक ट्वाइलेटमा लगी बलात्कार गर्दै आइरहेका थिए । पछि वृद्धको कर्तुत बाहिर आएपछि उनले केही रकम दिएर घटनालाई सामसुम पारे ।

तीन वर्षअघि घरमा काम गर्न बसेकी एक बहिरा बालिकालाई घरमालिकले बलात्कार गरी घरबाट निकालिदिए । महिला आधारशील केन्द्र र अपाङ्ग महिला सङ्घले उनको पक्षबाट वकिलको व्यवस्था गरी मुद्दा लडे । तर, न्यायाधीशले पीडित बालिकाको कुरा नबुझेकै कारण पीडकले उन्मुक्ति पाए । अदालतले दोभाषेको व्यवस्था नगरेको र पीडित पक्षले ल्याएको दोभाषेको कुरा न्यायाधीशलाई चित्त नबुझ्दा पीडित बालिकाले न्याय पाइनन् ।

पाँचखाल काभ्रेकी राम्रो परिवारकी महिला एउटा दुर्घटनामा परेर अपाङ्ग बनिन् । उनका दुईवटै खुट्टा नचल्ने भए । केही समयपछि उनको श्रीमानले दोस्रो विवाह गरे । उनले श्रीमान विरुद्ध बहुविवाहको मुद्दा हालिन् । विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरे । आफूले मुद्दा हार्ने बुझेपछि उनका श्रीमानले अंश पनि दिने र माया पनि गर्ने, तर त्यसको बदलामा मुद्दा फिर्ता लिनुपर्ने सर्त राखे । पीडित महिलाले पुनः श्रीमानको माया पाउने आसमा मुद्दा फिर्ता लिइन् । पछि श्रीमानले उनलाई न अंश दिए न आफूसँग राखे ।

करिब ६ वर्षअघि पोलियोका कारण खुट्टा नचल्ने एक मधेसी महिला आफ्नै भिनाजुबाट बलात्कृत भइन् । उनलाई आफ्नै परिवारले त्यो घटना लुकाउन बाध्य पार्‍यो र घरबाट निकालिदियो । उनले न प्रहरी–प्रशासनमा त्यो घटनाबारे बताइन् न न्यायका लागि कहीँ पहल नै गर्न सकिन् । अहिले उनी काठमाडौंको एक आवासगृहमा आश्रय लिइरहेकी छिन् ।

मस्कुलर पक्षघात भएकी एक महिला नियमित चर्च जाने क्रममा अर्की एक महिलासँग नजिक भइन् । अपाङ्गता भएकी महिलाको बारेमा बिस्तारै जानकारी लिएपछि ती महिलाले आफ्नो छोरासँग विवाहका लागि प्रस्ताव गरिन् । अपाङ्गता भएकी महिलाले लगभग आफ्नो विवाह नहुने अवस्था रहेको चाल पाए पनि आफूलाई जीवनसाथीका रूपमा स्वीकार्न चाहने पुरुषलाई नकार्न सकिनन् । ती पुरुष विवाह नगर्दै उनीसँगै बसे । अपाङ्गता भएकी महिलाका बाबुआमा थिएनन् । तर, उनी र उनकी बहिनीका लागि बाबुआमाले छाडिदिएको सम्पत्ति थियो । त्यसैको लोभमा पुरुषले विवाह गर्ने आश्वासन दिएका थिए । ती महिला गर्भवती भएपछि उनले कुटपिट गर्न थाले । बिस्तारै महिलाको नाममा रहेको सम्पत्ति सकियो, उनले अर्कै केटीसँग सम्बन्ध सुरु गरे । अहिले पीडित महिलाको साथमा १५ महिनाको बच्चा छ । उनी मुद्दा लडिरहेकी छिन् ।

यी उदाहरणले अपाङ्गता भएका महिला तथा बालिकाको न्यायमा पहुँचको अवस्था कति कमजोर छ भन्ने देखाउँछन् । अपाङ्गता भएका धेरैजसो बालिका तथा महिला घरभित्रै यौनजन्य हिंसाको सिकार बन्छन् । अपाङ्गता भएकै कारण उनीहरू परिवारमा आश्रित हुनुपर्ने, विवाह नहुनेजस्ता कारण बाबु, दाजु, काका, छिमेकी तथा आफन्तबाटै हिंसामा परिरहेका हुन्छन् । अन्त गएर आफ्नो जीविकोपार्जन गर्न नसक्ने भएकाले उनीहरू आफूमाथि भएको हिंसा अरूलाई भन्न सक्दैनन् । घटना सार्वजनिक भइहाले भोलि कहाँ बस्ने ? कसरी जीवन धान्ने भन्ने समस्या आउने डरले उनीहरू आफ्नो पीडा आफूभित्रै राख्न बाध्य हुन्छन् ।

अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धिताल अपाङ्गता भएकाभित्र पनि बौद्धिक अपाङ्गता भएका महिला तथा बालिका बढी हिंसामा पर्ने गरेका बताउँछिन् । उनीहरू स्पष्टसँग आफूमाथि भएको हिंसालाई बताउन सक्दैनन् र बताइहाले पनि कुरा फेरिरहने कारण उनीहरूको भनाइ अविश्वसनीय देखिने धितालको भनाइ छ ।

घटना प्रहरीमा दर्ता गराउन जाँदा प्रशासनबाट पर्याप्त सहयोग नपाउने गुनासो उनले गरिन् । ‘अपाङ्गता भएकै कारणले प्रहरीले घटना दर्ता गर्न आनाकानी गर्छन्,’ धिताल भन्छिन्, ‘प्रहरीले पनि हामीलाई सहयोग नगरे कसको विश्वास गरी घटनालाई बाहिर ल्याउनु ?’
राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव टीका दाहालका भनाइमा अपाङ्गता भएका बालिका तथा महिला बढी हिंसामा पर्नुको कारण पीडितले पीडकविरुद्ध कुनै प्रतिकार गर्न सक्दैनन् भन्ने मानसिकता हो । दाहाल भन्छिन्, ‘अपाङ्गता भएकामाथि यौनजन्य हिंसा गर्दा घटना बाहिर आउँदैन र आइहाले पनि उनीहरूलाई प्रलोभन देखाएर मुद्दा ‘ढिसमिस’ पार्न सकिन्छ भन्ने सोच पीडकको हुन्छ ।’

यो अवस्थालाई बदल्ने हो भने अपाङ्गता भएकाको मुद्दा अदालतसम्म सजिलै पुग्ने र सुनाइ तथा बोलाइमा अपाङ्गता भएकाहरूलाई दोभाषेको सहज व्यवस्था अदालतले नै गर्नुपर्छ । दाहालका भनाइमा उजुरी गर्ने संयन्त्रसमेत अपाङ्गमैत्री हुनुपर्छ र त्यो मुद्दा छिटो किनारा लगाउने व्यवस्था हुनुपर्छ ।

disable2

अहिले अपाङ्गता भएकाहरू हिंसामा परेमा प्रहरी–प्रशासन, महिला तथा बालबालिका कार्यालय, महिला आयोगजस्ता निकायमा उजुरी गर्ने व्यवस्था छ । तर, अपाङ्गता भएकाहरूको सदरमुकाममा रहेका यस्ता निकायसम्म पहुँच नै मुस्किल हुन्छ ।

अपाङ्गता भएकाको मुद्दा सरकारवादी हुने भएकाले सरकारी वकिलले समेत गम्भीर रूपमा ध्यान नदिने अध्यक्ष धितालको गुनासो छ । उनी भन्छिन्, ‘सरकारी वकिललाई मुद्दा जित्नुपर्छ भन्ने दबाब हुन्न । निजी वकिल लगाउने हो भने उसले यो मुद्दा जितेमा अर्को मुद्दा पनि आउँछ भनेर मिहिनेत गर्छ । तर, अपाङ्गता भएको व्यक्तिले निजी वकिल राख्नै सक्दैन ।’

अहिले संसारभरि करिब ८० करोड अपाङ्गता भएका व्यक्ति छन् । आधा सङ्ख्या महिलाको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा पाँच लाख १३ हजार अपाङ्गता भएकामध्ये ४५.४ प्रतिशत महिला छन् ।

अपाङ्ग महिला सङ्घले गरेको पछिल्लो अध्ययनअनुसार सामाजिक र पारिवारिक सुरक्षाको अभाव र अपाङ्गता भएकै कारण ८० प्रतिशत महिला शारीरिक हिंसाको, ५० प्रतिशत महिला यौन हिंसाको, ६० प्रतिशत महिला घरेलु हिंसाको र ३० प्रतिशत महिला अन्य हिंसाको जोखिममा छन् ।

मुलुकी ऐनको विवाहवारीको महलले अहिले पनि अपाङ्गमाथि विभेद गर्छ । पूर्ण रूपमा बोल्न, सुन्न नसक्ने, दृष्टिविहीन वा कुष्ठरोगी, होस–ठेगानमा नरहेको अवस्थामा विवाह गर्न–गराउन नपाइने भनिएको छ । यसलाई संशोधन गर्नुपर्ने दाहालको भनाइ छ ।
कानुनमा अपाङ्गता भएका महिलालाई बलात्कार गरेमा थप पाँच वर्ष सजायको व्यवस्था छ । तर, अदालतमा बलात्कार नै प्रमाणित गर्न मुस्किल रहेकाले यो सजाय दिलाउन गाह्रो भएको उनी बताउँछिन् । मुलुकी ऐन संशोधन गर्दा यो सजाय बढाएर थप १० वर्षको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

०६९ मा सर्वोच्च अदालतले पूर्ण र अति अशक्तलाई मासिक तीन हजारदेखि पाँच हजारसम्म भत्ता दिन आदेश गरेको थियो । तर, त्यो आदेश हालसम्म पनि लागू हुन सकेको छैन ।
(सञ्चारिका फिचर सेवा)
(अञ्जली, रासस संवाददाता हुन्)
 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: