सुत्केरी : घन्टौ  हिडेर अस्पताल


प्रकाशित मिति :2015-05-30 10:49:02

लक्ष्मी भण्डारी \

प्रसूति सेवा र प्रजनन स्वास्थ्य सम्बन्धमा संविधान, कानुन र नीतिमा जे लेखे पनि सुर्खेतका दुर्गम गाउँमा अहिले पनि सुत्केरी हुने अवस्थाका महिला घन्टौँ हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

सुत्केरी बेथाले च्यापेपछि सुर्खेत, धारापानीकी सीता विक स्वास्थ्य संस्थामा जान हिँडिन् । तर, हिँड्दाहिँड्दै केही पर बाटैमा बच्चा जन्मियो । ‘स्वास्थ्यचौकीमा जान लागेकी थिएँ, बेथाले च्यापेपछि सहन नसकेर बारीको ढिकबाटै हाम फाल्न खोज्दा बच्चा जन्मियो,’ तीन सन्तानकी आमा सीताले भनिन्, ‘स्वास्थ्यचौकी टाढा भएकाले बाटोमै बिजोग भयो ।’ उनको घरबाट नजिकको धारापानी स्वास्थ्यचौकी पुग्न पाँच घन्टा लाग्छ ।

आर्थिक अभावका कारण श्रीमान् भारत गएपछि एक्लै घरव्यवहार धान्दै आएकी सीताले यसअघिका दुई सन्तानलाई पनि घरमा नै जन्म दिएकी थिइन् । उनले सुत्केरी अवस्थामा समेत घरव्यवहार एक्लै चलाउनुपर्दा समस्या भएको बताइन् । ‘हामी गाउँमा बस्ने महिलाका लागि नजिकै अस्पताल (स्वास्थ्य संस्था) भइदिएको भए सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘हाम्रो समस्या कसले बुझिदिने ?’

स्वास्थ्य संस्थामा पुग्न सहज पहुँच नभएर बाटोमा बच्चा जन्माउने सीता एक्ली महिला होइनन् । ग्रामीण क्षेत्रका धेरै महिलाले यस्तो पीडा भोग्दै आएका छन् । धारापानीकी डम्बरी पुनले पनि कुनै बेला बाटैमा सन्तान जन्माएकी थिइन् । बेथा लागेको तीन दिनसम्म बच्चा नजन्मिएपछि स्वास्थ्य संस्था जान हिँडेकी डम्बरीको बाटैमा बच्चा जन्मिएको थियो । यसपछि उपचारमा पनि ठूलो सास्ती खेप्नुपरेको थियो ।

धारापानीकै तारा विकले स्वास्थ्य संस्था टाढा भएकाले घरमै बच्चा जन्माउनुपरेको बताइन् । तीन दिनसम्म बेथा लागेपछि मात्र बच्चा जन्मिएको उनले सुनाइन् । ‘लामो बेथा लाग्दा स्वास्थ्य संस्थामा लैजान घरपरिवारका सदस्य तयार भएका थिए,’ उनले भनिन्, ‘तर, घरमैै बच्चा जन्मियो ।’

घरबाट टाढा रहेका स्वास्थ्य संस्थामा प्रसूति सेवा भए पनि त्यसलाई सुत्केरी हुने अवस्थाका महिलाले उपभोग गर्न नपाएको भगवती महिला सशक्तीकरण समूहकी सदस्य देवीसरा विकले बताइन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी बनाउने सेवा–सुविधा भएर पनि स्वास्थ्यचौकी आउन घण्टौ लाग्ने भएकाले यो सुविधा उपभोग गर्न पाएका छैनौँ,’ उनले भनिन्, ‘हामी यस क्षेत्रका महिला समस्यामा छौँ ।’

स्वास्थ्य संस्थामा जाँदाजाँदै बाटोमै सुत्केरी हुने भएकाले कतिपय आमाको ज्यानसमेत जोखिममा पर्ने स्थानीय स्वास्थ्य स्वयम्सेविका मुसी बाठाले बताइन् । बाठाका भनाइमा बाटैमा सुत्केरी हुँदा उनीहरूले स्याहार पाउँदैनन्, उनीहरूमा विभिन्न समस्या देखापर्छन् ।

भिरालो र साँघुरो बाटो भएकाले गाविसमा रहेका चारवटा ‘स्ट्रेचर’ पनि प्रयोगविहीन छन् । चारजनाले बोक्न मिल्ने ‘स्ट्रेचर’ भएकाले प्रयोगविहीन रहेको बाठाले बताइन् । दुईजनाले बोक्न मिल्ने ‘स्ट्रेचर’ भएमा बिरामी बोकेर स्वास्थ्य संस्थामा ल्याउन र लैजान सहज हुने उनको भनाइ छ । स्ट्रेचर नहुँदा सुत्केरीलाई डोकोमै बोकेर ल्याउने–लैजाने गर्दै आएको स्थानीय शिक्षिका चन्द्रावती खत्री बताउँछिन् ।

जटिल समस्यामा पर्दा पनि भौगोलिक विकटताको कारण स्वास्थ्य संस्थामा जान असहज हुने अवस्था छ । फेरि जटिल समस्या आएमा तुरुन्तै बाहिर ‘रेफर’ गर्न पनि समस्या । यस्तो अवस्थामा यहाँका महिला सुत्केरी हुने मिति नजिक आएमा सहारे अथवा मेहलकुना पुग्ने गर्दछन् ।

जटिल समस्या भएमा बाहिरको स्वास्थ्य संस्थामा लैजान समस्या हुने भएकाले बाहिरका आफन्तकामा आएर बस्न पनि असहज भएको स्वयम्सेविका पवित्रा खत्री बताउँछिन् । ‘यसरी बाहिर बस्दा सुत्केरीले पाउनुपर्ने स्याहार पाउँदैनन्,’ उनले भनिन्, ‘जसको कारण पछि विभिन्न स्वास्थ्य समस्या आइपर्छन् ।’

धारापानी स्वास्थ्यचौकीमा गर्भवती जाँच गर्न आएका महिलामध्ये आधा सङ्ख्याका महिला सहारे र मेहलकुना आउने गर्दछन् । यस आर्थिक वर्षमा ५२ महिला गर्भवती जाँच गर्न आएकोमा करिब २५ जनाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको स्वास्थ्यचौकीले जनाएको छ । वर्षमा २५ देखि ३० जनासम्मले प्रसूति सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख प्रेमबहादुर खत्रीले बताए । ०७१ वैशाखदेखि प्रसूति सेवा सञ्चालन गरे पनि भौगोलिक विकटताको कारण सबै वडाका महिलाले सेवा लिन सकिरहेका छैनन् ।

प्रसूतिमा पहुँच नपुगेका कारण सुत्केरीपछि विभिन्न सङ्क्रमण देखिने गरेको खत्रीले बताए । यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पुग्ने गरेको छ । स्वास्थ्यचौकीका इन्चार्ज खत्रीले आउनेमध्ये धेरैजसो बालबालिकामा निमोनियाको समस्या देखिएको बताए ।

सरकारले सुरक्षित मातृत्वको कार्यक्रम ल्याए पनि विकट बस्तीका महिलाका लागि स्वास्थ्य सेवा नारामै सीमित छ । अन्तरिम संविधान २०६३ मा प्रसूति सेवामा महिलाको पहुँच पुग्ने भनिए पनि त्यो विकट बस्तीका महिलाका लागि कागजमै सीमित छ । गाविससचिव विमल आचार्यसमेत भौगोलिक विकटताको कारण यहाँका महिलाले स्वास्थ्य सेवा लिन नसकेको बताउँछन् । स्वास्थ्य सेवाको पहुँचबाहिरै रहेका महिलालाई मध्यनजर गरेर सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्न जरुरी रहेको उनले बताए ।

कतिपय महिला स्वास्थ्य संस्थामा आउँदा–आउँदै बाटोमै बच्चा जन्मने डरले स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुन्छन् । स्वास्थ्य संस्थामा आउन दिनभरि लाग्छ । यातायातका साधनको अभावका कारण सुत्केरी हुने अवस्थाका महिला घन्टौँ हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य संस्थासम्म सहज पहुँच नहुँदा सुत्केरीपछिको सङ्क्रमण तथा पाठेघरको समस्या पनि देखिने गरेको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) का अध्यक्ष यमुना नेपाली अव्यवस्थित रूपमा प्रसूति हुँदा शरीर स्वस्थ नहुने भएकाले घरबाटै अपहेलित हुनुपर्ने अवस्था आउने गरेको बताउँछिन् । ‘सुत्केरी अवस्था आफैमा जोखिम हुन्छ, त्यसमा पनि विकट बस्तीमा झनै समस्या हुन्छ,’ यमुनाले भनिन्, ‘यसरी सेवा–सुविधा नपाउँदा ज्यान अस्वस्थ हुन्छ, यस्तो अवस्थामा कतिपय महिला काम गर्न नसक्ने भएकाले घरबाटै अपहेलित भएका छन् ।’

(सञ्चारिका फिचर सेवा)
(लक्ष्मी, सुर्खेतबाट पत्रकारिता गर्छिन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: