रोग लुकाउने चलन


प्रकाशित मिति :2015-05-31 11:04:44

दुर्गालाल केसी\

Durga Lal KC

‘उपचार गर्न जाँदा पैसा पनि चाहिने, घरको काम पनि बिथोलिने । अरूले देख्ने गरी रोगले नथलिँदासम्म यस्तै हो भनेर टार्ने चलन छ । रोग लुकायो, बस्यो । मेरो मात्रै होइन, गाउँघरमा धेरैको समस्या यस्तै हो ।’

डुरुवा– ६ दक्षिण कुरहरियाकी ६२ वर्षीया बिप्ती चौधरीको तल्लो पेट दुख्न थालेको दुई वर्ष भइसकेको थियो । उनले घरायसी कामकाजका कारण स्वास्थ्य जाँच गर्न जान पाइनन् । आफ्नो स्वास्थ्यभन्दा घरको कामलाई महत्व दिनु उनको बाध्यता थियो । घरका सदस्यलाई पकाएर खुवाउनु, कपडा धुनु, गाईभैंसीलाई घाँस काट्नु, खेतीपातीमा लाग्नु । यस्ता दर्जनौँ कामको सूची छ उनीसँग । एक दिन घर छोड्दा कार्यतालिका बिग्रन्छ र घर लथालिङ्ग हुन्छ ।

 ‘अस्पताल जाँदा घरको काम कसले गर्छ ? घर छोड्यो कि सबै लथालिङ्ग हुन्छ,’ बिप्तीले भनिन्, ‘घरमा सबैजना काम–काम भन्छन् । मैले मात्रै अस्पताल जान खोजेर हुँदैन ।’ उनले दुई वर्ष पेटको दुखाइ सहेर मात्र डाक्टरलाई भेट्न पाइन् । त्यो अवसर पनि गाउँमै शिविर आएपछि जुरेको हो । चेकजाँच गर्दा थाहा भयो– उनको पाठेघरमा मासु पलाएको रहेछ । उनले भनिन्, ‘डाक्टरले अप्रेसन गर्नुपर्ने भनेका छन् । पैसा छैन, काम छोडेर उपचार गर्न कसले लैजान्छ र ?’

Laxmi Bhandari Report Photo

बिप्तीजस्तै अधिकांश अशिक्षित ग्रामीण महिला उपचारलाई भन्दा कामलाई प्राथमिकता दिन बाध्य छन् । उनीहरू उपचारका लागि गाउँमा हुने निःशुल्क स्वास्थ्य शिविर पर्खिरहेका हुन्छन् । कतिपय लाजले समस्या बताउन नै गाह्रो मान्छन् भने कतिपय कामले स्वास्थ्य संस्थासम्म पुग्न सक्दैनन् । यस्ता अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । सरकारी अस्पतालमा पाठेघरको निःशुल्क अप्रेसन हुने भए पनि अधिकांश महिला यसबारे बेखबर छन् । कतिपय पीडा सहेरै बसेका छन् भने कतिपय घरेलु उपचार गरिरहेका छन् । ‘घरबाट निस्कन पाइँदैन । कतिबेला उपचार गर्न जानु र ?’ सात सन्तानकी आमा डुरुवा कोठरीकी पृथमी चौधरीले भनिन्, ‘घरदेखि टाढा जाने कुरा असम्भव छ । टाढा गए घरको काम नोक्सान हुन्छ भन्छन् । त्यही भएर उपचार नगरी बस्छौँ ।’

पृथमी वर्षौंदेखि रुँदै बसेकी छिन्, तर उपचार गर्न गएकी छैनन् । ‘पाठेघर खसेको धेरै भइसक्यो, तर कसैलाई भन्न सकेको थिइनँ,’ उनले रुँदै भनिन्, ‘गाउँमै चेक गर्दा डाक्टरले पाठेघरको अप्रेसन गर्नुपर्छ भनेका छन् ।’ पाठेघर खसेर पीडा भइरहे पनि उनले दिनहुँ कठिन काम गरिरहनुपर्छ । न त समस्या बुझिदिने कोही छ न काममा साथ दिने । ‘खाएकै छ, काम गरेकै छ । के भएको छ र भन्छन् । बाहिर नदेखिने समस्या, कसरी अरूलाई बुझाऊँ,’ उनले भनिन्, ‘उपचार गर्न लैजाओ भन्दा छोराबुहारी पनि मान्दैनन् । काम छ भन्छन् । सबैलाई कामकै चटारो छ ।’

खेती–किसानी र दैनिक मजदुरीमा निर्भर हुने परिवारमा उपचारमा जाँदा समय र पैसा खर्च हुने चिन्ता छ । ‘उपचार गर्न जाँदा पैसा पनि खर्च हुने भयो । घरको काम पनि नहुने भयो,’ चौधरीले भनिन्, ‘अरूले देख्ने गरी रोगले नथलिँदासम्म सामान्य नै मानिन्छ । अलिअलि समस्या हुन्छ । यस्तै हो भनेर टार्ने चलन छ । मेरो मात्रै होइन, गाउँघरमा सबैजसोको यस्तै समस्या हो ।’

women

वर्षौंदेखि उपचार गरिरहेका महिलासमेत पाठेघरको समस्या बताउन गाह्रो मान्छन् । डुरुवा– १ की ७१ वर्षीया उमा विष्टको पहिलो सन्तान जन्मनेबित्तिकै पाठेघर खसेको थियो । उनले रिङ हाल्न थालेको २९ वर्ष भइसक्यो, तर पनि उनलाई पाठेघरको समस्या बताउन लाज लाग्छ । ‘सबैले कुरा बुझ्दैनन् । पाठेघर खस्ने कुरालाई लाजको रूपमा लिने चलन छ,’ उनले भनिन्, ‘अरूलाई भन्नुभन्दा आफैँ समस्या लुकाएर बस्नु राम्रो ।’

गाउँ–गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा सहभागी हुँदै आएकी महिला पुनस्र्थापना केन्द्र (ओरेक) की महिला स्वास्थ्य कार्यक्रम सुपरभाइजर दीपा धितालले महिलालाई स्वास्थ्य समस्या व्यक्त गर्न लगाउन निकै कठिन हुने बताइन् । ‘महिला स्वास्थ्य समस्याबारे सजिलै भन्नै सक्दैनन् । धेरै महिला वर्षौंदेखि रोक लुकाएर बसेका हुन्छन्,’ उनले भनिन्, ‘कतिपय महिलाका मनोवैज्ञानिक तथा गोप्य खालका समस्या हुन्छन् । त्यसलाई लुकाएर राख्दा थप स्वास्थ्य समस्या भइरहेको छ ।’

अधिकांश ग्रामीण महिला गाउँमै शिविर भएपछि मात्र चेकजाँच गर्ने भनेर बसेका हुन्छन् । ‘शिविरमा पनि खास समस्या भन्नै सक्दैनन् । लामो समय महिला स्वास्थ्यकर्मीले परामर्श गरेपछि मात्र समस्या बताउन तयार हुन्छन्,’ दीपाले भनिन्, ‘रोग पत्ता लगाउन नै धेरै समय लाग्छ । वर्षौंदेखि रोग बल्झिइरहेकाले उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक छ ।’

कतिपय महिला घरेलु हिंसाका कारण पनि रोग लुकाएर काममै व्यस्त हुने गरेको महिला हिंसाविरुद्ध परामर्श गर्दै आइरहेकी ओरेककी कार्यक्रम सुपरभाइजर पद्मा चौधरीले बताइन् । लैङ्गिक विभेद, सामाजिक दृष्टिकोण, महिला र पुरुषका कामको भिन्नता, प्रजनन अङ्गको विकास र देखिने समस्या, गर्भावस्थामा हुने समस्या, प्रसूतिपछि देखिने समस्याजस्ता कुरामा परामर्श गरेपछि मात्र महिला चेकजाँचका लागि तयार हुने उनले बताइन् । ‘हिंसा र लामो समयदेखिको स्वास्थ्य समस्याका कारण डिप्रेसन भएका महिला पनि त्यत्तिकै छन्,’ उनले भनिन्, ‘अधिकांश महिलालाई डिप्रेसनका कारण थप स्वास्थ्य समस्या देखिएको छ । उनीहरूलाई परामर्श नगरी चेकजाँच गर्नै सकिँदैन ।’

जिल्लामा ओरेकले गरेको एक अध्ययनले सानैमा विवाह गर्ने महिलाले विभिन्न स्वास्थ्य समस्या भोगेको देखाएको छ । जिल्लाका विभिन्न पाँच स्थानमा सञ्चालित महिला स्वास्थ्य शिविरमा सहभागी महिलामा गरिएको अध्ययनअनुसार स्वास्थ्य सेवा लिन आउनेहरू अधिकांश २० वर्षमुनि विवाह गरेका छन् । स्वास्थ्य समस्या भएका एक हजार एक सय ९८ महिलामध्ये नौ सय ३४ जना २० वर्षमुनि विवाह गरेका छन् । त्यसमध्ये पनि १५ वर्षमुनि नै विवाह गर्नेहरू तीन सय ३४ जना छन् । २० वर्षमुनिका किशोरीमा पनि पाठेघर खस्ने, योनि चिलाउने, सेतो पानी बग्ने, पाठेघरको मुख सुन्निएको, पाठेघरको मुखमा घाउ भएको र रक्तअल्पताजस्ता समस्या देखिएको उपचारमा संलग्न राप्ती उपक्षेत्रीय अस्पतालकी डा. दीपिका सुवेदीले बताइन् । ‘गाउँ, सहर जहाँ भए पनि महिलाका उस्तै समस्या छन् । सानोमा विवाह गर्नेलाई धेरै समस्या देखिएको छ,’ उनले भनिन्, ‘महिला आफ्नो स्वास्थ्यप्रति गम्भीर छैनन् । सानो उमेरमा बच्चा जन्माउँदा अनेक समस्या देखापरेका छन् ।’

women1

स्वास्थ्य समस्या हुने र सानोमा विवाह गर्नेहरू अधिकांश अशिक्षित छन् । स्वास्थ्य सेवा लिएकामध्ये चार सय ६२ निरक्षर र तीन सय १३ साक्षर मात्र छन् । उच्च शिक्षा लिएका एकजना पनि छैनन् । एक सय ८४ प्रावि, एक सय ३६ निमावि र एक सय तीन माविसम्म अध्ययन गरेका महिला छन् ।

स्वास्थ्य शिविरमा आएका हरेक महिलाको व्यक्तिगत विवरण लिएर अध्ययन गर्दा स्वास्थ्य समस्या हुनेमा बढीजसो आर्थिक अवस्था कमजोर भएका महिला रहेको ओरेककी जिल्ला संयोजक पम्फा पन्तले बताइन् । ‘महिलाको विवाहको उमेरदेखि अहिलेसम्म भोगेका सम्पूर्ण विवरणको विस्तृत अध्ययन गर्दा अनेक समस्या भेटिएका छन्,’ उनले भनिन्, ‘अध्ययनमा अधिकांश महिलाले सानो उमेरमा विवाह गरेका कारण जटिल समस्या आएको बताएका छन् ।’ गाउँमै स्वास्थ्य सेवा लिनेमा एक हजार एक सय ७१ महिला निम्न वर्गका र २७ जना मात्र मध्यम वर्गका थिए ।
(सञ्चारिका फिचर सेवा)
(दुर्गालाल, दाङका पत्रकार हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: