कमला चौधरी
ललितपुर, जेठ १८
‘नरम यो नौनी जस्तै ,
गरम यो अग्नी जस्तै
धड्कन यो इन्द्रणी झै,
चम्किलो जुन जस्तै
मलाई पुगेन , पुगेन योे ……!’ बाेलकाे गीतमा नमुना मछिन्द्र उच्च माविका विद्यार्थीहरू आ—आफ्नै तालमा नाचिरहेका थिए । विद्यालयका अधिकांस कक्षा कोठा बस्न नहुने गरि चर्किएका छन् । वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनका कारण क्षति भएको नमुना मछिन्द्रमा रातो स्टीकर लागेको छ ।
बारम्बारको आउने पराकम्पनबाट कक्षा कोठा भत्किएला कि भन्ने डरले विद्यार्थी विद्यालयको मैदानमा बनेका अस्थायी टहरामा रमाईरहेका थिए ।
भूकम्पको डर त्रास हटाउन नाच्ने गाउने गरेको विद्यार्थी अमित राना बताउँछन् । ठूलो स्वरमा बजिरहेको गीतसँगै ताली बजाइरहेका अमित राना नमुना मछिन्द्रका कक्षा २ मा पढने विद्यार्थी हुन् ।
भूकम्प गएको दिन उनी चौरमा साथीहरूसँग फुटवल खेलीरहेका थिए । अचानक जमिन हल्लियो । दगुर्दै बल समाउन जाँदा, बल झन् अगाडि गएको अनुभव उनी सुनाउँछन् । उनले भने ,‘त्यतिखेर त हल्लेर रमाईलो लाग्यो,डर लागेन ।’
पढनपाठन शुरु गराउन विद्यालयकै मैदानमा ५ वटा अस्थायी टहरा बनिसकेका छन् । विद्यार्थीको संख्या अनुसार १४ वटा टहरा बनाउनुपर्छ । बाँकी अस्थायी टहरा निर्माण गर्न अझै एक हप्ता लाग्ने विद्यालयले जनाएको छ ।
उता कुपण्डोलमा रहेको प्रगति शिक्षा सदन उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू आज मनोरञ्जनात्मक कार्यक्रममा व्यस्त थिए । उनीहरू पनि कक्षा कोठामा ताली बजाउँदै गीत गाईरहेका थिए ।
भूकम्पको डर भन्दा साथीहरूसँग भेट कहिले होला भन्ने चिन्ता थियो लक्ष्मी गुप्तालाई । उनले भनिन्,‘स्कुलमा साथीहरूसँग रमाइलो लाग्छ । पालमा बस्दा के गर्ने ।’ भूकम्पपछिका तीन दिन उनले थापाथलीस्थित बाग्मती नदी किनारकाे
सुकुम्वासी वस्तीमा आमाबुवासँगै पालमा विताईन् । उनको स्कुलमा हरियो स्टिकर लागेको छ ।
यसैगरी पाटन उच्च माविका विद्यार्थी भने अस्थायी टहरामा अध्ययन गरिरहेका भेटिए ।
Comment Here!