ईश्वरी जी.एम.
रोल्पा, जेठ २० । रोल्पा लिवाङकी निमकुमारी सिंह जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाकी अध्यक्ष हुन्। घरगृहस्थी मै रमाउँदै आएकी उनी २० वर्ष अघि गाउँको एक सामुदायिक वन उपभोक्ता समूहको सदस्य हुँदै अहिलेे अध्यक्ष भएकी हुन्।
२०५६ सालमा समूहबाट जिल्ला अधिवेशनमा प्रतिनिधि भएर सहभागी भएकी उनी सुरुमै जिल्लाको उपाध्यक्ष बन्ने अवसर पाएकी हुन्।
काम गर्दै जाँदा अरुको तुलनामा शिक्षामा आफू पछाडि परेको महसुस भएपछि उनले २०६४ सालमा खुला तर्फबाट एसएलसी परीक्षा दिएर पास गरेकी हुन्।
पढाई र समाज सेवालाई सँगसँगै लगेकी उनी २०६६ सालमा पहिलो पटक सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष बनिन्।
१ वर्षअघि मात्र महासंघको चौथो अधिवेशनबाट पुनः अध्यक्षमा सर्वसम्मत चयन भएकी उनले २ कार्यकाल उपाध्यक्ष र २ कार्यकाल अध्यक्ष बनेर अहिले जिल्लाका ३ सय १० वटा सामुदायिक वनको नेतृत्व गरिरहेकी छिन्।
यति धेरै सामुदायिक वनको नेतृत्व गर्दाको अनुभव सुनाउदै सिंहले भनिन्—’जिल्लामा जति पनि राजनैतीक दलका महिला र सामाजिक अगुवा छन् उनीहरूको प्रेरणा भनेकै गाउँका सामुदायिक वन हुन्।’
उनको बुझाईमा जिल्लाका सामुदायिक वन महिलाको क्षमता विकास गर्ने अवसरका रुपमा रहेको भन्दै राज्य र महिला सम्बन्धी काम गर्ने विभिन्न निकायले यसमा लगानी गर्नुपर्ने आवश्यकता छ।
अवसर पाए महिलाले सहि ढंगले नेतृत्व गर्न सक्दछन् तर महिला भएकै कारण कहिलेकाँही महिलाको नेतृत्व र कामलाई पुरुषले समर्थन नगर्दा भने चित्त दुख्ने गरेको उनी बताउँछिन्। घर परिवारको सहयोग पाईएमा महिलाले सामाजिक काममा सफलता पाउने सिंहको भनाई छ।
जिल्ला वन कार्यालय रोल्पाका अनुसार जिल्लामा अहिले कुल ५ सय ७९ वटा सामुदायिक वन छन् ति मध्ये ३ सय १० वटा वन समूह सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध छन् भनेे ४३ वटा सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन्।
जिल्ला वन कार्यालयका रेञ्जर तथा विकास तथा योजना फाटका गणेशबहादुर ऐडीका अनुसार जिल्लामा पुरुष भन्दा महिलाले नेतृत्व गरेका सामुदायिक वन व्यवस्थित र आर्थिक हिसाबले पारदर्शी छन्।
जिल्ला वन कार्यालयको मार्गदर्शन २०६५ अनुसार प्रत्येक सामुदायिक वनको अध्यक्ष, सचिब र कोषाध्यक्ष पदमा १ जना महिला अनिवार्य हुनुपर्ने र समूहको खाता सञ्चालन गर्न १ जना महिला अनिवार्य हुनुपर्ने प्रावधान छ। ऐडीका अनुसार अहिले सामुदायिक वनमा महिला सहभागिता पनि बढ्दै गएको छ। समूहको कार्यसमितिमा ५० प्रतिशत महिला अनिवार्य संलग्न हुनुपर्ने नितीले पनि गाउँका महिला समूहमा आवद्ध भई नयाँ कुरा सिक्ने अवसर पाएको ऐडीको भनाई छ।
रोल्पा जिल्लाका ४३ वटा सामुदायिक वन उपभोक्ता समूहमा महिलाले सफल नेतृत्व गर्नु, जिल्ला महासंघमा पनि महिला नेतृत्व हुनु जिल्लाकै गर्वको कुरा हो तर उनीहरूको नेतृत्व गर्ने शैलीलाई थप शसक्त र प्रभावकारी वनाउन क्षमता विकास, योजना छनौटलगायतका कार्यक्रम भने आवश्यक रहेको समूहमा आवद्ध महिला बताउँछन्।
Comment Here!