महिला खबर
काठमाडौं जेठ २० । महिला तथा बालबालिका सेवा केन्द्र रानी पोखरीले भूकम्पबाट प्रभावित भएर पालमा आश्रय लिइरहेका महिला तथा बालबालिकालाई आत्मरक्षाको तालिम दिएको छ ।
पालमा बस्दा महिला तथा बालबालिकामाथि हुनसक्ने विभिन्न प्रकारका हिंसा न्यूनिकरण गर्न नेपाल प्रहरीको खेलाडी टोलीले आत्मरक्षाको लागि जुडोको लक, कराँतेको पन्च र किक हान्न सिकाएको रानी पोखमीमा कार्यरत सइ सुष्मा कठायतले जानकारी दिनुभयो ।
पालमा बस्दै आएका बालिकामाथि यौन हिंसाका घटना बढ्न थालेपछि प्रहरीको महिला खेलाडी टोलीले काठमाडौंको चुच्चेपाटीबाट यस्तो प्रशिक्षण शुरु गरेको हो ।
काठमाडौं चुच्चे पाटीको पालमा बस्दै आएका महिला तथा किशोरीहरूलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको आत्मरक्षा तालिममा ३८ जना महिला र ३५ जना बालबालिका सहभागी छन् ।
एक हप्तासम्म चल्ने यो तालिममा १५ देखि ३५ वर्षका महिला तथा किशोरीलाई प्राथमिकता दिइएको छ ।
उहाँले आत्मरक्षाको तालिमसँगै महिला र बालबालिकालाई हिंसा,कानुन र महिला अधिकारको बारेका बुझाउन सजिलो भएको बताउनुभयो ।
‘हामीले मात्र एकोहोरो बोल्दा त्यति ध्यान नदिनेहरू खेलको बिच बिचमा सुरक्षाका कुरा गर्दा निकै चासोका साथ सुन्ने र सोध्न थालेको उहाँ बताउनुहुन्छ ।’
सई कठायतले भन्नुभयो ‘प्रहरी जाने वित्तिकै आफूले भोगेका समस्या महिला र बालबालिकाले भन्दैनन्, उनीहरूलाई यौनहिंसा भनेको के हो ? थाहा हुँदैन, उल्टो माया गरेको सम्झछन्, जसको फाईदा खराब मानसिकता भएकोहरूले उठाउने गरेका छन् । यस्ता मानिसबाट सचेत रहन र आफूमाथि भैरहेको हिंसाको बारेमा प्रहरीलाई जानकारी गराउन खेलसँगै सिकाई रहेका छौ ।’
थोरै समयमा धेरै सिक्न नसकेपनि महिला र बालबालिकामा आत्मबल बढाउन र प्रहरीसँग नजिक भएर आफ्ना कुरा राख्न ठूलो सहयोग हुने कठायतको विश्वास छ ।
महिला र बालबालिकामाथि हिंसा गरेको थाहा पाउने जोकसैले महिला तथा बालबालिका सेवा केन्द्र रानीपोखरीको फोन नम्बर ९८५१२८९१११ मा फोन गरेर जानकारी दिन सई कठायतले अनुरोध समेत गर्न भयो ।
रानी पोखरीले लैङ्गिक उद्धार नियन्त्रण तथा पीडित उद्धार घुम्ती प्रहरी भ्यान उपत्यकाका तीन जिल्लामा सञ्चालनमा ल्याएको छ । महिला र बालबालिकाको लागि मात्र रहेको यो सेवा २४ सै घण्टा उपलब्ध हुने रानी पोखरीले जनाएको छ ।
तस्बिर :प्रहरीबाट
Comment Here!