देविका घर्ती मगर
दाङ, जेठ २२ । सरकारद्वारा सञ्चालित जिल्लास्तरिय महिला सेवा केन्द्र दाङमा आर्थिक वर्ष २०७१/०७२ को ८ महिनामा महिलाहिंसा सम्बन्धि ८३ वटा घटना दर्ता भएका छन् ।
जसमध्ये ५४ वटा घरेलु हिंसाका घटना छन् । चालु आर्थिक वर्षको फागुन महिनासम्म केन्द्रमा दर्ता भएका ८३ घटनामध्ये हालसम्म ४ वटा घटना मुद्दा दर्ता गरि प्रक्रियामा रहेको र बाँकी घटना मिलापत्र भैसेकेको जिल्लास्तरिय सेवा केन्द्रका अध्यक्ष हुमा डिसीले जानकारी दिनुभयो ।
केन्द्रले घोराहीमा पत्रकार सम्मेलन गरी दर्ता भएका घटनामध्ये ५४ वटा घरेलु हिंसा सम्बन्धी, ५ वटा सामाजिक हिंसा, ३ वटा यौनजन्य हिंसा र २१ वटा अन्य हिंसा (सुरक्षा, आफन्तको खोजी, अलपत्रलगायतका) रहेको जानकारी दिएको छ ।
यस्तै केन्द्रमा दर्ता भएका घटनामध्ये १२ वटा जिल्ला प्रहरी कार्यालय दाङका पठाईएको, ७ वटा जिल्ला अदालत, २ वटा महिला तथा बालवालिका कार्यालय नेपालगञ्ज, ५५ वटा केन्द्रमै मिलापत्र भएको र ७ वटा सम्बन्धित क्षेत्रका महिला सहकारी संस्था तथा सामुदायिक सेवा केन्द्रमा पठाईएको केन्द्रले जनाएको छ ।
स्थानिय महिला सहकारी संस्था तथा सामुदायिक सेवा केन्द्रमा पठाएका ७ मुद्दामध्ये ४ वटा मुद्दा अहिले पनि प्रक्रियामा रहेको केन्द्रका अध्यक्ष डिसीले जानकारी दिनुभयो । यसैगरी चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जिल्लास्तरिय सेवा केन्द्र सञ्चालनमा ३ लाख ८० हजार ७ सय ७६ रुपैयाँ खर्च भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मितिः २०७२ जेठ २२ गते शुक्रवार
Comment Here!