महिला खवर
नेपालगन्ज,जेठ २२। भूकम्प पीडितको सहयोगको लागि बाँकेको मनिकापुरस्थित महिला दिदीबहिनीले मुठीदान अभियान सञ्चालन गरेर खाद्यान्न संकलन गरेका छन्। जेठ महिनाको प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै महिलाले राहत संकलन गरेका हुन्।
नेपालगन्ज उपमहानगरपालिका मनिकापुरस्थित सृजनशील आमा समूहकी अध्यक्ष उषा थापा भण्डारीको संयोजन तथा अनेमसंघसँगको समन्वयमा मनिकापुरको पशुपतिनगरदेखि राँझा एयरपोर्टसम्म मुठीदान अभियान सञ्चालन भएको थियो।
अभियानबाट लगभग ५ क्वीन्टल,चामल, ५० केजी गहुँ, ९० केजी पिठो, ८८ केजी नून, ८ केजी दाललगायतका खाद्य सामग्री संकलन भएको सृजनशील आमा समूहकी अध्यक्ष उषा थापा भण्डारीले जानकारी दिनुभयो।
संकलित खाद्यवस्तु एमाले बाँकेले सञ्चालन गरेको राहत संकलन अभियानमा बुझाएको अनेमसंघ क्षेत्र नं. ३ की अध्यक्ष कल्पना थापाले बताउनुभयो।
भूकम्प पीडितका नाममा जनताले स्वस्फूर्त रुपमा दिएको मुठीदान राहत सामाग्री वास्तविक भूकम्प पीडित समक्ष पुर्याउन उनीहरूले अनुरोध समेत गरेका छन्। नेकपा (एमाले) बाँकेले भूकम्प पीडितको लागि बाँकेमा ठूलोमात्रामा राहत सामग्री संकलन गरिरहेको छ।
Comment Here!