‘अन्नपात चेपियो, खेती लगाउन नसकिने गरी खेतबारी चिराचिरा परेको छ, अब कसरी बाच्ने ?’
देवकी तिमल्सिना ‘समीक्षा’
‘गएको साल पहिरोले उठीवास लायो यसपाली भूकम्पले’ सिन्धुपाल्चोक माँखा ७ कि गोमा पराजुली भन्दै थिइन् । गोमाको कथा नेपालका धेरै आमाहरूको साझा कथा हो । उनी सुत्केरी भएको जम्मा १४ दिन भएको थियो । १४ दिनकी छोरीलाई दुध चुसाएर कोक्रोमा सुताउँदै आफू ओच्छ्यानमा के पल्टेकी थिइन् जमीन हल्लिन थाल्यो । उठ्न खोजिन् सकिनन् । गाउँलेले भुइँचालो आयो ! भुइँचालो आयो !! भनेको सुनिन् र बल्लतल्ल छोरीलाई काखमा लिएर भाग्न खोज्दै थिइन् । घरको पछाडिको भाग गल्र्याम्मै ढल्यो । घर भत्केर उडेको माटोको धुलोले कँहीकतै देखिएन । यतिकैमा उनी आत्तिइन् र चिच्याइन्– ‘आमा ! ढोकै छैन, मर्ने भइयो ।’
गोमा चिच्याएको गोठमा भैंसीलाई खोलेपानी दिँदै गरेकी सासु आमाले सुनिन् । तर भुइँचालोको धक्काले उनलाई ढालिसकेको थियो । तैपनि जोखिम मोल्दै बुहारी र नातिनी भएको ठाउँमा पुगिन् । छामछाम छुमछुम गर्दै बच्चा हात पारिन् र बल्लतल्ल बुहारीको म्याक्सीको फेर समातेर तान्दै बाहिर निकालिन् । उनीहरू आगनमा पुग्ने बित्तिकै पुरै घर ढल्यो ।
गाउँ पुरै घर ध्वस्त भएकाले बारीको मकै उखेलेर राखिएको पालमा बस्ता चिसो लागेर गोमाको जीउ एक महिनादेखि सुनिएको छ । रक्तस्राव हुन थालेको छ । छोरीलाई निमोनिया भएको छ । उनी आफ्नो भन्दा छोरीलाई हनहनी ज्वरो आएकाले बढी चिन्तित् छन् । भएभरको अन्नपात पुरिएपछि उनलाई अव पेटको चिन्तापनि थपिएको छ ।
‘पेटभरी खाना पाइँदैन, दुध आउँदैन’ उनले भनिन्, ‘छोरी रातभरी रोएर हैरान पार्छे । राहतमा आएको एक पुरिया विस्कुट र एकपोका चाउचाउ खाएर दुध आउँदैन ।’ निराश हुँदै उनले भनिन् । राहत थाप्न जानेहरूबीच त्यही विस्कुट र चाउचाउका लागि झगडा भएको देख्दा उनलाई झन पीडा हुन्छ ।
माँखाकै सुमित्रा सापकोटाको अठार महिनाको छोरा छ । ‘एक्कासी सुइ्यय आवाज आयो, दुध चार्ने विरोलोले ठुलै स्वर गरेर आएको ठानेँ । लगत्तै घरको पछिल्लो भाग गल्र्यामगुर्लुम लड्यो, सुतिरहेको छोराको कठालोमा समातेर झुण्ड्याउँदै बारीतिर भागेँ’ उनले आफू र छोरा बाँच्न सफल भएको कथा सुनाउँदै भनिन् ।
हरेक आमालाई आफ्नो सन्तानको माया लाग्छ । तर उनलाई माया लाग्नुको विशेष कारण पनि छ । १५ वर्षकै उमेरमा मागी विहे गरेकी सुमित्राले २ सन्तान गर्भमै गुमाएकी थिइन् । त्यसपछिको करिव ५ वर्ष गर्भ नरहेपछि उनका श्रीमानलाई अर्की विहे गर्न पारिवारिक दवाव परेको थियो । सुमित्रालाई घर परिवारले समेत हेला गर्न थालेका थिए । काठमाडौंमा उपचार गरेपछि उनले पुरै ९ महिना घरमै आराम गरेर छोरा नयनलाई जन्माएकी थिइन् ।
सुमित्राका अनुसार सिन्धुपाल्चोकमा अव बस्न लायक ठाउँ छैन । प्रायः सबै जमिन चिरा चिरा परेको छ । ‘सरकारका मान्छेले हाम्रो समस्या बुझेका छैनन्, महिला र बालवालिकाको सन्दर्भमा झनै गम्भीर देखिदैनन्’ उनले रेडियो नेपालमा फोन गरेर समेत भनिन्, ‘बस्ती स्थानान्तरणको कुरा आएको छ, त्यसमा स्थलगत अध्ययन गरी बस्ती बसाल्नु पर्दछ ।’
माँखा गाउँकै मनमाया न्यौपाने र कान्छी नेपाली त्यतिबेला खेतमा मकै गोडीरहेका थिए । ‘एकसुरमा काम गरिरहेका थियौं, ‘एक्कासी पृथ्वी घुम्यो, चक्कर लाग्यो, दुबै जना अत्तालिदै भुईमा थचक्कै बस्यौं’ मनमायाले भनिन्, ‘घरतिर हेर्दामाथिबाट धुलोको मुस्लो उडेको देखियो । सोच्यौं अव यत्ति नै रैछ ।’
आजकल मनमायालाई भूकम्पबाट त जोगियो तर, अव के खाएर कसरी बाँच्ने होला भन्ने चिन्ताले सताइरहेको छ । उनी भन्छिन्, ‘अन्नपात पनि चेपियो, खेती लगाउन नसकिने गरी खेतबारी चिराचिरा परेको छ, माथिबाट पहिरो निरन्तर खसिरहेको छ ।’ उनलाई जीउ जोगिए पनि बीउ जोगाउन नसक्दा भविष्यको चिन्ताले धेरै सताइरहेको छ ।
आजकल आकाशमा कालो बादल देख्दा र हावाहुरी चल्दा माँखाबासीको भोकनिद्रा हराउँछ । गएको वर्ष माँखा र राम्चे गाविसको सीमा क्षेत्र जुरेमा गएको पहिरोको घाउ आलै छ ।
वषैपिच्छेको प्रकोप झेल्दै आएका माखाँवासी अहिले घर न घाटका भएका छन् । उनीहरूलाई आउँदो वर्षायाम सम्झदै कहाली लाग्न थालेको छ । ज्यान बचाउँन लालाबाला बोकेर प्राकृतिक प्रकोपसँग भाग्दै हिँडेका उनीहरू आफ्नो भविष्य अनिश्चित बन्दै जाँदा झन् कहालिएका छन् ।
माँखालगायतका गाविसको बस्ती स्थानान्तरण गर्ने भन्ने समाचार सुनेपछि उनीहरू अब कहाँ जाने र के गर्ने भन्नेमा अल्मलिएका छन् । तर यस विषयमा कुरा गर्न अहिलेसम्म कोही पनि मांँखा पुगेका छैनन् ।
बारीका पाटामा पाल तथा टिन बारेर बसिरहेका माँखावासीलाई देख्दा लाग्छ, उनीहरूलाई राहतसँगसँगै भविष्यका लागि भरोसा जगाउने मान्छे चाहिएको छ । यसका लागि नेपाल सरकार तथा राजनीतिक दलको उपस्थिति र साथ तुरुन्तै चाहिएको छ ।
प्रकाशित मिति : २०७२ जेठ २४ आईतवार
Comment Here!