महिला खवर
लमजुङ, जेठ २५ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकी कारागारमा रहेकी एक महिला र उनको १४ महिनाको छोरालाई विद्यार्थीले खाजा खर्च जोगाई धरौटी रकम बुझाएर थुनामुक्त गराएका छन् ।
लमजुङ तार्कुघाटकी मन्दिरा श्रेष्ठलाई सोही ठाउँ निवासी शारिरीक रुपमा अशक्त ८० वर्षीया रोमकुमारी पन्तको हत्या गरेको उनले देखेको र घटना लुकाउन सहयोग गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको थियो । थुनामुक्त हुन मन्दिरालाई अदालतले २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएकी थिइन् । उनीसँग १४ महिनाको छोरा पनिसँगै रहेको थाहा पाएपछि बेसीशहर स्थित विद्या विकास अंग्रेजी आवासीय उमाविको जुनियर रेडक्रस सर्कलले धरौटी रकम जम्मा गरी थुना मुक्त गराएका हुन् ।
२६ वर्षीया श्रेष्ठले आफ्ना श्रीमान विदेश भएको र परिवारले साथ नदिएकाले कारण धरौटी राख्न नसकेको बताएकी छिन् । पन्तको हत्या अभियोगमा संलग्न मृतकका नाती ३१ वर्षीय सुजन पन्त र मन्दिरासहित चार जनालाई कारगार पठाइएको थियो । बालबालिकाले मन्दिराको धरौटी रकम बन्दोवस्त गरेपछि अदालतले उनलाई तारेखमा रिहा गरेको छ ।
प्रकाशित मिति: २०७२ जेठ २५ सोमवार
Comment Here!