महिला खबर
काठमाडौं,जेठ २५। विनाशकारी महाभूकम्पबाट आफन्त गुमाएका महिला तथा बालबालिकाको संरक्षणका लागि सरकारले छुट्टै आवास निर्माण गर्ने भएको छ। भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवश्यकता अनुसार आवास निर्माण गर्ने योजना बनेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सह–सचिव राधिका अर्यालले जानकारी दिनुभयो। अर्यालका अनुसार आवासमा आमाबुबा गुमाएका बालबालिका, एकल महिला र बृद्धालाई आश्रय दिइने छ।
विपत्तिबाट असाह्य बनेकाहरूको संरक्षणका लागि राज्यले बनाएको योजना छिट्टै कार्यन्वयनमा आउने उहाँले दाबी गर्नुभयो।
आमाबुबा गुमाएका बालबालिकालाई हेरचाह गर्ने नजिकको आफन्त छ भने उनीहरूलाई त्यहाँ पुर्याउने तर आवश्यकता अनुसार १६ वर्षसम्म शिक्षा, स्वाथ्य र पालनपोषणको जिम्मा राज्यले लिनेछ भने आफन्त नभएकाबालबालिकालाई बालगृह बनाएर सम्पूर्ण जिम्मा राज्यले लिने अर्यालले बताउनुभयो।
मन्त्रालयले यसका लागि १४ वटै जिल्लाको सर्वेक्षण गरिसकेको छ। अनुगमनका क्रममा जिल्लाका धेरै एकल महिलाले आफ्नो ठाउँ छोडेर सेल्टरमा बस्न नजाने, बरु राज्यले सानो भएपछि बास बनाउन सहयोग गरोस् भन्ने पाएको मन्त्रालयले जनाएको छ। आफ्नो ठाउँ छोड्न नचाहने भूकम्प पीडित एकल महिलालाई घर बनाउन सहयोग गर्ने, आत्मनिर्भर बनाउन आयमूलक तालिम दिने र मनोपरामर्श सेवाको व्यवस्था गर्ने योजना बनाएको उहाँले बताउनुभयो।
महिला मन्त्रालयले तत्कालको लागि नयाँ नीजि क्षेत्रलाई बालगृह खोल्न र पुराना बालगृहमा आफू खुशी भूकम्प पीडित बालबालिकालाई राख्न पनि प्रतिबन्ध लगाएको छ । साथै बालबालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा लैजान समेत राज्यले रोक लगाएको छ।
Comment Here!