पत्याइँदैन महिला डुङ्गाचालकलाई


प्रकाशित मिति :2015-06-09 15:22:31

फेवातालका डुङ्गाचालक महिलाले ग्राहकको विश्वास जित्न ठूलै कसरत गर्नुपर्छ । आधा जीवन फेवातालमा डुङ्गा चलाएर बिताएकी लक्ष्मी भन्छिन्, ‘म सक्षम चालक हु“ भनेर पटक–पटक योग्यताको परीक्षा दिइरहनुपर्दा पीडाबोध हुने गर्छ ।’

 महेशकुमार खाती

mahesh kumar khati pp size photoयुवाहरूको एउटा समूह केही समयअघि फेवाताल घुम्न आएको थियो । पूरै ताल घुम्न भनेर उनीहरूले टिकट काटे । ८७ नम्बर डुङ्गामा ग्राहक कुरेर बसेकी लक्ष्मी कार्कीलाई देखेर उनीहरूले सोधेछन्, ‘यसको चालक खोइ ?’ दुई दशकदेखि फेवातालमा डुङ्गा चलाउँदै आएकी लक्ष्मीले ८७ नम्बर डुङ्गाको चालक आफू भएको बताइन् । युवाहरू ‘आइमाईले चलाएको डुङ्गा चढ्न डर लाग्छ’ भन्दै पैसा फिर्ता माग्न काउन्टरमा पुगे ।

फेवातालमा व्यावसायिक डुङ्गाचालक महिला छन् । दुई दशकदेखि उनीहरू यो पेसा गरिरहेका छन् । तर, महिला भएका कारण उनीहरूलाई यो पेसामा टिक्न सङ्घर्ष गरिरहनुपरेको छ । हाल १० प्रतिशतको सङ्ख्यामा रहेका डुङ्गाचालक महिलाले ग्राहकसँग र व्यावसायिक डुङ्गा चलाउने समितिसँग जुझ्नु परिरहेको छ । महिलाले हरेक दिन यात्रुसँग विश्वास जित्ने लडाइँ लडिरहनुपर्छ । तिनैमध्येकी एक हुन् लक्ष्मी पनि । आधा जीवन फेवातालमा डुङ्गा चलाएर बिताएकी लक्ष्मीलाई ‘चालक हुुु ‘ भनेर पटक–पटक योग्यताको परीक्षा दिइरहनुपर्दा पीडाबोध हुने गर्दछ ।

 ‘ग्राहकको व्यवहारले पीडा हुन्छ,’ लक्ष्मी भन्छिन्, ‘खोइ चालक भनेर सोध्छन्, म हुँ डुङ्गा चलाउने भनेपछि विश्वास नै गर्दैनन् ।’ एक दिन यस्तै सवालजवाफ हुँदा केही मानिस ‘आइमाईले चलाएको डुङ्गा चढ्नुहुन्न’ भनेर ओर्लिएछन् । उनको मन दुखेछ । ‘यस्तै हो के गर्ने, मान्छेहरू जति शिक्षितजस्ता देखिए पनि पुरानै रहेछन् भनेर बसेँ,’ उनले भनिन्, ‘यहाँ अनेकखालका मान्छे आउँछन्, जति परिवर्तन भए पनि अझै महिलालाई विश्वास गर्दैनन् । मलाई नमजा लाग्छ ।’ ४९ वर्षीया लक्ष्मी दिनभरि तालकिनारमा डुङ्गामा ग्राहक पर्खेर बसिरहेकी हुन्छिन् ।

DSCN0568

डुङ्गा चलाउन उनी कुनै पुरुषभन्दा कम छैनन् । दोलखा चरिकोट घर भई हाल पोखरा बस्ने लक्ष्मीले भनिन्, ‘म धेरै पुरुषभन्दा राम्ररी डुङ्गा चलाउँछु । तर, अझै पनि मानिस डुङ्गाचालक छोरामान्छे नै होस् भन्ने चाहन्छन् ।’

फेवातालमै भेटिएकी ५८ वर्षीया बाटुली भुजेलको कथा पनि उस्तै छ । उनले डुङ्गा चलाउन थालेको १५ वर्ष पुग्यो । महिलाले चलाएको डुङ्गा चढ्न डराउने पुरुष हरेक हप्ताजसो भेट्छिन् । ‘मन लागे मेरो डुङ्गामा चढ, नलागे नचढ भन्छु । कसैलाई कर गर्दिनँ,’ पोखरा–६ मा घर भएकी भुजेलले गुनासो गरिन्, ‘हामीले राम्रो चलाउँछौँ । तर, पनि महिलाले सक्दैनन् भनेर हेप्दा भने नराम्रो लाग्छ ।’

वेगनास नगरपालिकाभित्र सातवटा ताल भए पनि वेगनास तालमा मात्र व्यावसायिक डुङ्गा चल्छन् । वेगनासभन्दा सानो रूपातालमा भने फाट्टफुट्ट मात्रै डुङ्गा चल्छन् । यहाँको तालकिनारमा मान्छे कुरिरहेकी कृष्णकुमारी कँडेल महिला भएकै कारण डुङ्गा चलाउ“दा यात्रुहरूबाट नराम्रो व्यवहार सहनुपरेको बताउँछिन् । ‘महिला भनेर चढ्न डराउनेहरू धेरै नै आउँछन्,’ कृष्णकुमारी भन्छिन्, ‘डराउनेलाई म जबर्जस्ती गर्दिनँ ।’ वेगनासमा कृष्णकुमारीजस्ता करिब ५० जना महिला डुङ्गाचालक छन् ।

DSCN0564

महिला पनि सक्षम छन् भन्ने धेरैले बुझेका छन् । तर, उनीहरूले अँगाल्दै आएको पेसामा भने धेरैमा विश्वास नभएको उनीहरूको व्यवहारबाट देखिन्छ । ‘विदेशी टुरिस्टले त खासै त्यस्तो व्यवहार गर्दैनन्,’ फेवातालकी कार्कीले अनुभव बाँडिन्, ‘धेरै नेपालीले महिलाले चलाएको डुङ्गामा जान्नौँ भन्ने गरेको सुनेकी छु । किन होला नेपालीले नै हामीलाई विश्वास नगरेको ?’ डुङ्गा चलाउन, पौडी खेल्न जान्ने र आत्मबल भएको मानिस चाहिन्छ । यिनमा डुङ्गाचालक महिला अक्षम नरहेको दाबी उनीहरूको छ ।

तालबाराही मन्दिर र तालमा डुङ्गामा सयर गर्न धेरै रुचाउँछन् । यहाँ सयौँ पुरुषले डुङ्गा चलाउँदै आएका छन् । फेवातालमा १५ जनाजति महिला डुङ्गाचालक छन् । पहिला त ३० जनाको हाराहारीमा थिए । पर्यटकले नपत्याएकै कारण उनीहरू पेसाबाटै विस्थापित भएका हुन् ।
फेवातालमा डुङ्गा चलाउने पहिलो महिला लक्ष्मी हिराचान हुन् । उनले करिब ३० वर्षअघिदेखि डुङ्गा चलाउन सुरु गरेकी थिइन् ।

आजसम्म पनि धेरै नेपाली पर्यटकले महिलालाई विश्वास गर्दैनन् । ‘केही विदेशी पर्यटकले भने महिलालाई पत्याउ“छन् । तर, धेरै नेपाली डराउ“छन्,’ तालमै डुङ्गा चलाउने राज लामाले भने, ‘महिलाले होसियारपूर्वक डुङ्गा चलाउँछन् ।’

‘महिलाले त झन् होसियारपूर्वक र भरपर्दो तवरले डुङ्गा चलाएको देख्छु,’ लामो समयदेखि डुङ्गा चलाउँदै आएका लामाले भने, ‘मान्छेहरू अझै पनि महिलाले सक्दैनन्, राम्रो गर्दैनन् भन्छन् । त्यो गलत हो ।’ तालमा डुङ्गा चलाउने महिलाले दिनमा सरदर तीन सय रुपैयाँ कमाउँछन् । घरखर्च चलाउनकै लागि उनीहरू डुङ्गा चलाउने काम गर्छन् ।

 पर्यटकले मात्रै होइन, सुरुमा डुङ्गा व्यवसायी समितिले पनि महिलालाई विश्वास गरेन । महिलाको ठूलो लडाइँपछि बल्ल उनीहरूले डुङ्गा चलाउन पाएका हुन् । ‘हामीलाई सजिलै चलाउन दिएका होइनन्,’ डुङ्गाचालक कार्कीले भनिन्, ‘ठूलो लडाइँ गरेपछि बल्ल चलाउन पाएका हौँ ।’ डुङ्गाचालक भुजेलले भनिन्, ‘अझै पनि महिलाले राम्ररी चलाउन सक्छन् भनेर सोचिँदैन । पालो आउँदा पनि नदिने, प्यासेन्जरले मानेन भनेर कुरा काट्ने काम पनि गर्छन् ।’

फेवातालमा अहिले सात सय नौवटा डुङ्गा छन् । आठवटा घाटबाट डुङ्गा सयर गराइन्छ । डुङ्गा व्यवसायी समितिबाट सदस्यता लिएका करिब तीन सयजना चालक छन् । महिलाको सङ्ख्या भने ३० छ ।

तालमा डुङ्गा सयर गराएबापत प्रतिघन्टा नेपालीबाट ८० र विदेशीबाट ९० रुपैयाँ लिइन्छ । बाराही मन्दिरसम्म लगेर ल्याएको एकपटकको ६० रुपैयाँ शुल्क तोकिएको छ । फेवाताल डुुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले महिलाले डुङ्गा चलाउँदा कोही–कोही जान नमान्ने बताए । ‘अझै पनि मानिस महिलालाई विश्वास गरिहाल्दैनन् । यो राम्रो होइन,’ नेपालीले भने, ‘महिलाले चलाएको डुङ्गा चढ्न डराउने अझै भेटिन्छन् । तर, पहिलेभन्दा अहिले यो सङ्ख्या धेरै न्यून छ ।’ समितिले महिला भनेर विभेद भने नगर्ने बरु सम्मान गर्ने नेपालीले बताए ।

(सञ्चारिका फिचर सेवा)
(महेश, पोखराका पत्रकार हुन्)     

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: