पछिल्ला दिनमा झापा, बाँके, कैलाली र कञ्चनपुरमा भारततर्फ जान लागेको शङ्कास्पद अवस्थामा महिलाहरू पक्राउ पर्न थालेका छन्। विपत्तीका बेला घरवार र आफन्त गुमाएका सहाराहिन महिलालाई मायाजाल वा प्रलोभनमा पारेर सजिलै बिक्रि गर्न दलालहरूसक्रिय छन् भन्ने यसबाट स्पष्ट हुन्छ।
मोरङबाट रमला सिङ्गक, नेपालगन्जबाट भेषराज बस्नेत, कैलालीबाट यकिन्द्र तिमिल्सिना र लोग्शरी कुँवर
जेठ २७। भूकम्पपछि महिला बेचिने क्रम बढेको छ। विपत्तीमा परेका महिला तथा किशोरीलाई मायाजाल र प्रलोभनमा पारेर भारत तथा भारत हुँदै तेस्रो मुलुकमा बेच्नेहरू सक्रिय भएका छन्। पछिल्लो समय नेपाल भारत सीमा जोडिएका जिल्लाका नाकाबाट महिलालाई उद्धार गरि फर्काउने क्रम बढेपछि विपत्तीमा परेकालाई मायाजाल र प्रलोभनमा पारी बेचबिखन गर्ने दलाल सक्रिय भएको पुष्टि हुन्छ।
वैशाख १२ यता काँकडभित्ता नाकावाट भारत तर्फ जाँदै गरेका ८५ जना महिलालाई उद्दार गरि परिवारलाई जिम्मा लगाईएको माईती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, ‘संवेदनशील यो अवस्थामा महिलाले सजिलैसँग अरुलाई विश्वास गर्ने भएकाले उनीहरूलाई दलालले सजिलै फसाउँन सक्छन्। त्यसैले अहिले महिला बेचबिखनको उच्च जोखिममा छन्।’
जेठ ५ गते काठमाडौंको स्वयम्भु गुम्बाको आश्रयमा रहेका ४० जना बौद्ध भिक्षुणीलाई भारत लैजाने क्रममा नेपाल र भारतको पूर्वी सिमाना काँकडभित्तावाट सीमा प्रहरी र माईती नेपालको संयुक्त पहलमा उद्धार गरिएको थियो। वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण काठमाडौंमा असुरक्षित भएको भन्दै सो गुम्बाकी एक आनीले भारतको एक बौद्ध गुम्बाले आश्रय दिन्छ भन्दै सो स्थानमा लैजान लागेको बताइन्। सीमा प्रहरीले ती आनीसँग भारतमा रहेको गुम्बाले ती भिक्षुणीलाई संरक्षण गर्ने भनी दिएको आधिकारिक पत्र वा प्रमाण माग्दा दिन नसकेपछि भारत जाँदै गरेका ती भिक्षुणीलाई उद्दार गरी काठमाडौं फर्काइएको थियो।
५ वर्षदेखि ३० वर्ष उमेरका ती भिक्षुणीलाई आफू कहाँ जाँदै गरेको हो भन्नेसम्म थाहा नभएको माइती नेपाल काँकडभित्ता की काउन्सिलर हेमन्ता वुढाथोकीले वताउनुभयाे। भिक्षुणीलाई उद्धार गरेको एकसाता पनि नवित्दै खोटाङकी २० वर्षीया युवतीलाई सिराहाका २ जना महिलाले लहानको एक बिद्यालयमा मासिक ५ हजार रुपैयाँको जागिर मिलाइदिने आश्वासन दिएर भारत लैजान लागेको अवस्थामा काँकडभित्ता सिमाबाट उद्दार गरिएको थियो। नेपाल भारतको पूर्वी नाका कांकडभित्ता पुगेपछि युवतीले आफूलाई लहान होइन अन्यत्रै लैजान खोजेको थाहा पाएर सीमा नजिकै उनीहरू वीच विवाद भैरहेका वेला सीमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोधपुछका गर्दा जागिर लगाइदिने भन्दै युवतीलाई सीमा पार गराउन खोज्ने महिलामाथि शंका लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। युवतीले आफू भारतमा वेचिन लागेको थाहा पाएपछि माईती नेपालको सहयोगमा ती महिलाविरुद्ध ईलाका प्रहरी कार्यालय कांकडभिट्टामा किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरीपछि सिराहाको लहान घर वताउने ती २ महिलालाई काँकडभित्ता हिरासतमा राखेर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकडभित्ताका डिएसपी अर्जुन तिम्सिनाले वताउनुभयो।
यसरी नै महाभूकम्पका कारण घरवार गुमाएका ३ जना महिलालाई राम्रो रोजगारी लगाईदिने भन्दै मोरङ पथरीकी २८ वर्षीया एक महिलाले सीमा कटाउन लागेको बेला दुईसाताअघि उद्धार गरिएको छ। काँकडभिट्टा प्रहरीले सोधपुछ गर्दा आफूहरूलाई केही थाहा नभएको र कहाँ जाने भन्ने जानकारी नभएको वताएपछि शंका लागेर ती महिलालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
भूकम्पपछि पुर्वी सिमाना हुँदै भारततिर लैजाँदा काँकडभित्ता, पशुपतिनगर र विराटनगरको रानी सीमा नाकाबाट भारत लैजान खोजिएकाहरूमा धेरैजसो सिन्धुपाल्चोक, रसुवा, गोर्खाका महिला, बालबालिका र किशोरी रहेको माइती नेपालले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रका महिला घरबार, आफन्त, प्रियजन गुमाएपछि सहारा र रोजगारीको खोजीमा हुने भएकाले मौकाको फाइदा उठाउँदै फकाएर भारतीय बजारमा बेच्न दलालहरू सक्रिय देखिएको सीमामा कार्यरत प्रहरीको भनाइ छ।
नेपालगन्जले रोक्यो १०७
महाभूकम्प यता नेपालगन्ज नाकाबाट भारततर्फ जाँदै गरेका १ सय ७ जना महिलालाई नेपाल प्रहरीको जमुनाहस्थित चौकीले रोकेको छ। जोखिमपूर्ण यात्रामा रहेका उनीहरूलाई विभिन्न संघ–संस्थाको समन्वयमा जमुनाह नाकाबाट फिर्ता पठाईएको प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक कृष्ण सोनीले जानकारी दिनुभयाे। सोनीका अनुसार यो अवधिमा अभिभावकको संरक्षणमा ६० महिला रोजगारीको लागि भारत प्रवेश गरेका छन्।
वैशाख १२ गतेको महाभूकम्प यता जोखिमपूर्ण यात्रामा रहेको आशंकामा नाकाबाट फिर्ता गरिएका मध्ये १७ जना महिला भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरका रहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीले नेपालगन्ज नाकामा माईती नेपाल, साथी संस्थालगायतका विभिन्न संघ–संस्थाहरूसँगको समन्वयमा जोखिमपूर्ण यात्रामा रहेका महिलालाई रोक्ने गरेको छ। महाभूकम्पपछि रोजगारको लागि विदेशिने महिलाको संख्या बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयाे।
नेपालगन्ज नाकालाई पछिल्लो पटक मानव दलालले प्रयोग गर्ने गरेको भन्दै मानव वेचविखनविरुद्ध क्रियाशील संघ–संस्थाले समेत थप सतर्कता अपनाउन थालेका छन्। वेचविखनको उच्च जोखिममा रहेका बाँकेको ग्रामीण क्षेत्रमा मानव वेचविखनविरुद्ध युवा परिचालन गरिएको महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन बिन्दु कुँवरले जानकारी दिनुभयाे।
युवालाई श्रव्य र दृश्य सामग्रीहरू मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरूले बेचविखनमा अपनाउने तरिका, सम्पर्क स्थानहरू कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित वसाईंसराई र मानव बेचबिखनविरुद्ध युवाहरूको भूमिकाका वारेमा प्रशिक्षण दिएर अभियान सञ्चालन गरिएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समितिका सदस्य एवम् माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले बताउनुभयो।
कञ्चनपुरले ६ जना फर्कायो
माइती नेपाल कञ्चनपुरले आईतबार छ जना महिलालाई घर फर्काएको छ। भूकम्पपछि घर भत्किएको बताउने ललितपुरका पाँच र सिन्धुपाल्चोकका एक जनालाई भारतको पञ्जाव जान लागेको बेला पश्चिमी नाका गड्डाचौकीबाट शुक्रबार फिर्ता पठाइएको हो। रोकिएका महिलामा छ वर्षको बच्चासहित एक आमा र अरु १७/१८ वर्षका तीन जना रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी पन्त बताउँनुहुन्छ। सिन्धुपाल्चोकी महिला भने छ दिन अघि फर्किएकी हुन्।
‘एक जना दिदी पर्नेले काम दिन्छु भनेर बोलाएको भन्थे तर ती दिदीको न नाम भने न फोन नम्बर दिए शंका लागेर फर्काएका हाैँ,’ पन्तले भन्नुभयाे ‘दलाल त पक्कै हुन्छ तर छेउछाउबाटै भागिहाल्ने र महिलाले खुलेर कुरा नगरिदिनाले समस्या छ।’
माइती नेपाल कञ्चनपुरको आश्रयस्थलमा आइतबार एक जना डडेलधुरा आलिताल र एक जना कालिकोटकी महिला बसिरहेका छन्। उनीहरूले आफ्नो विवरण ढाँटिरहेको पनि पन्तले बताउँनुभयाे । पन्त भन्नुहुन्छ, ‘दलालले बेच्न लैजान लागेको महिलालाई माया गरेर होस वा अरु कुनै यति धेरै विश्वास दिलाउँछ कि यसकारण उद्धार गरिएका कतिपय महिलाले दलालका बारेमा जानकारी दिन मान्दैनन्।’
माइती नेपाल कैलालीले पनि उदयपुरको गाइघाट घरभइ काठमाडौं काम गरिरहेकी बताउने एक १८ वर्षीया युवतीलाई फर्काएको छ। ‘कञ्चनपुर घर बताउने युवकले यतातिर भूकम्पको खतरा छैन यतै आउ काम गरौँला भनेर बोलाएको रहेछ,’ माइती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले भन्नुभयाे, ‘कञ्चनपुर जाने भनेर हिँडेकी महिला कैलालीबाटै भारततिर पस्न लागेको भेटाएपछि रोकेका हौं।’
भूकम्पले थातथलो गुमाएका महिला प्रलोभनमा परि विभिन्न वहानामा भारत पस्न सक्ने भएकाले सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने भएकाले सचेतना कार्यक्रम सञ्चालन भैरेहका शान्ति पुनर्स्थापना गृह धनगढीका प्रमुख बासु भट्टराई बताउँनुहुन्छ।पुनर्स्थापना गृहले भारतीय सीमा क्षेत्रको बसपार्क गौरीफन्टाबाट दिल्लीलगायत बिभिन्न ठाउँहरूका लागि छुट्ने बसमा पनि थप निगरानी बढाएको जानकारी दिएको छ।
धनगढी सीमाबाट भारत जाने नेपाली महिला तथा बालबालिकाहरूलाई विशेष निगरानी गर्दै जोखिमपुर्ण अवस्थामा जान लागेको पहिचान भएपछि परिवारसँग सम्पर्क गरी जिम्मा लगाउने काम गरिरहेको गरिएको शान्ति पुनर्स्थापना गृहका कार्यक्रम संयोजक बासुदेव भट्टराई बताउँनुहुन्छ।
यसैबिच कैलालीको खुल्ला सिमावर्ती गाविसहरूका स्थानियलाई पनि यस बारे सजग गराइएको छ। मानब बेचबिखन तथा ओसार पसारविरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरि स्थानियलाई सचेत गराएको शान्ति पुनर्स्थापना गृहले जनाएको छ। मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुईलाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।
प्रकाशित मितिः २०७२ जेठ २८ गते बुधवार
Comment Here!