महिला खबर
काठमाडौं¸ जेठ २९ । महानगरीय प्रहरी रानीपोखरी अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले भक्तपुरको महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडितको अस्थायी शिविरमा महिला तथा बालबालिकालाई आत्मरक्षाको तालिम शुरु गरेको छ ।
अस्थायी शिविरमा बस्दा महिला,बालबालिका र किशोरीमाथि हुनसक्ने हिंसा रोक्न र आत्मबल बढाउन यस्तो तालिम दिएको प्रहरी उपरिक्षक तारा थापाले बताउनुभयो ।
पाँच दिनसम्म चल्ने सो तालिममा ४५ जना महिला, किशोरी र बालबालिकाले भाग लिएका छन् । उहाँका अनुसार शिविरमा हजुरआमा देखि नातीनिसम्मले सँगै तालिम लिईरहेका छन् ।
महिला तथा बालबालिकामाथि हुनसक्ने विभिन्न प्रकारका हिंसा न्यूनिकरण गर्न नेपाल प्रहरीको खेलाडी टोलीले शुरु गरेको आत्मरक्षा तालिममा जुडोको लक, कराँतेको पन्च र किक हान्न सिकाउने प्रहरी जवान प्रमिला खड्काले बताउनुभयो ।
भक्तपुरको अस्थायी शिविरमा तालिम दिइरहेकी खड्काले भन्नुभयो -‘हामीले सिकाएका कुरालाई ध्यान दिएर सिक्नेले एकजनाको आक्रमणबाट सजिलै बच्च सक्छन् ।’
महिला र बालबालिकालाई खुल्ला ठाउँमा सिकाउनुको अर्थ उनीहरू भित्र रहेको डर भगाउने र आइपरे जे पनि गर्न सकिन्छ भन्ने आत्मबलको उजागर गरीदिने उद्देश्य प्रहरीको रहेको उहाँले बताउँनुभयो ।
यसअघि काठमाडौं चुच्चेपाटीको अस्थायी शिविरमा बस्ने ३८ जना महिला र ३५ जना बालबालिकाले आत्मरक्षा तालिम लिईसकेका छन् ।
आत्मरक्षाको तालिमसँगै प्रहरीले महिला र बालबालिकालाई हिंसा,कानुन र महिला अधिकारको बारेमा प्रशिक्षित गर्ने गरेको थापाले बताउनुभयो ।
प्रकाशित मितिः २०७२ जेठ २९ शुक्रवार
Comment Here!