काठमाडाै,जेठ ३१ । भूकम्पपछि सिन्धुपाल्चोकका दलाल जेलबाट भागे । नुवाकोटका तीन बालिका म्यानमार पुर्याइए । यी र यस्तै विषयमा शक्ति समूहका अध्यक्ष सुनिता दनुवारसँग महिला खबर डटकमको कुराकानी ।
भूकम्पपछि प्रभावित जिल्ला पुग्नुभो । राहत वितरण गर्न कि अरु कुनै उद्देश्य थियो ?
विपतमा परेकालाई सानो भए पनि सहयोग गरौं भन्ने बाहिरी योजना थियो । भित्र उद्देश्य विपतको बेला हुनसक्ने मानब बेचबिखनविरुद्धको जनचेतना जगाउनु थियो । पीडितलाई राहतदिने वाहनामा छद्मभेषी भएर आउने दलालबाट होसियार रहन सचेत बनाउने लक्ष्य थियो ।
यसमा तपाईहरू मात्र लागेर सम्भव होला त ?
मानव बेचबिखनविरुद्धको राष्ट्रिय समितिको बैठकमा मैले राहत लिएर जिल्ला जाँदा मानव बेचबिखनविरुद्ध जनचेतना जगाउन अत्यन्तै जरुरी हुन्छ, भनेर उठाएँ । त्यही अनुसार सरकारले भूकम्प प्रभावित जिल्लामा परिपत्र जारी ग-यो । राहतसंगै मानब बेचबिखन विरुद्धको जनचेतना जगाउने काम सबैबाट भएको छ । सरकारले यसमा हाते पर्चा तयार पनि गर्दैछ । परिवार गुमाएका महिला, किशोरी र बालबालिको बारेमा बुझ्न दलालहरू गाउँगाउँमा आफ्नो बनेर पसेका छन्, यसमा सबै सचेत हुनुपर्छ ।
अहिले शक्ति समूह के गर्दैछ ?
हाम्रो टोली गाउँ र पालमा पुगेर, डाटा संकलन गर्दैछ । भूकम्पबाट क्षति पुगेका जिल्लामा पनि कुन ठाउँ बेचबिखनको उच्च जोखिमा छ भन्ने खोजी र अनुसन्धानमा लागेका छौं । ता कि दलालको हातमा नपुग्दै मानिसलाई सचेत बनाउन सकियोेस् ।
भूकम्प प्रभावित १४ जिल्लामा सबैको ध्यान परेको बेला दलालहरू अन्य जिल्लामा सक्रिय भएका हुन सक्छन् । त्यसैले भारतमा मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्था र हामी मिलेर छलफल गर्दैछौं । जसको मुख्य उद्देश्य सीमा क्षेत्र हुनसक्ने मानव तस्करी रोक्नु हो ।
कुनै ठाउँका महिला बेचबिखनको उच्च जोखिममा छन् भन्ने कसरी थाहा पाउने ?
अभिभावक गुमाएका, आर्थिक अबस्था कमजोर भएका र एक्लै रहेका महिला बढी जोखिममा हुन्छन् । त्यसलाई आधार मानेर बढी र कम छुट्टयाउने गरेका छौं ।
भूकम्पपछि मानव बेचबिखन बढेको हो ?
यो बिचमा कति मान्छेलाई प्रलोभनमा पारेर सीमा पार गराईयो भन्ने अभिलेखनै छैन । तथ्याङ्क आउन केही समय लाग्छ । हामी यसमा लागि रहेका छौं । पत्रपत्रिकामा समाचार आए अनुसार मानब बेचबिखन बढेको छ ।
भूकम्पपछि तपाई कहाँ बेचबिखनमा परेका कत्ति घटना आएका छन् ?
नुवाकोटमा भूकम्पपछि तीन जना बालिका हराएका थिए । ती हराएका बालिका म्यानमार पुर्याएको सूचना आएको छ ।
यो बेला दलालको निसानामा कस्ता मानिस होलान ?
बुबा आमा गुमाएका किशोर, किशोरी, बहुविवाह, घरेलु हिंसामा परेका र भूकम्पबाट सम्पूर्ण घर सम्पत्ति गुमाएका पीडित उनीहरुको निसानामा हुन्छन् । दलालले विदेशमा गएर धेरै पैसा कमाउने सजिलै घर बनाउन सकिने, जागीर लगाई दिने र छोरीछोरी पढाईदिने भन्दै परिवारको हातमा पैसा राखदिने र प्रलोभनमा पारी फसाउन सक्ने सम्भावना बढी हुन्छ । परिवारविहिन भएकाहरू सहाराको खोजीमा हुन्छन् । यसको फाईदा दलालले लिन्छन् ।
तपाईको अभियानमा प्रहरी प्रशासनबाट कत्तिको सहयोग भएको छ ?
विपत्तिपछि प्रहरी पुननिर्माणमा लागेका छन् । यसैको फाईदा उठाउँदै सिन्धुपाल्चोकका चार जना दलाल भागे । अहिलेसम्म उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । ती दलाल जुन पीडितले दिएको मुद्दामा जेल गएका थिए, अर्को दिन ती पीडितकै घर अगाडी पुगे । त्यसमा पीडितको सुरक्षा कस्ले गर्ने ? अर्को कुरा उनीहरू नेपालमा बस्दैनन् । उनीहरू भारत पस्ने र अरुलाई परिचालन गरी महिलालाई विदेशी पुुर्याउन सक्ने ठूलो सम्भावना छ ।
यसमा राज्यले अलिबढी ध्यान दिएको भए नियन्त्रणमा आउँथे होला । अपराधीलाई सजाय दिन पाएको भए राम्रो हुने थियो । भूकम्पको बेला भागेका अन्य कैदीहरुलाई हेटैडाबाट गिरफ्तार गरियो तर, महिला बेच्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।
राहतको खोल ओढेर आउँने दलालदेखि कसरी बच्ने ?
जुनसुकै नियत भएको मानिस राहत दिने नाममा आउन सक्छ । यस्तो बेला आर्थिक प्रलोभन देखाउने, जागिर दिन्छु भन्ने र पढाई दिन्छु भन्नेदेखि टाढै बस्नुपर्छ । यसमा महिलाले मात्र होइन, सम्पूर्ण अभिभावकले बुझ्नु पर्छ । त्यसको साथै आफ्ना छोराछोरी कस्तो मान्छेसँग बढी घुलमिल भएका छन्, त्यसमा ध्यान दिनुपर्छ । आफ्नो सन्तानको सुरक्षा गर्ने पहिलो जिम्मेवारी अभिभावक कै हुन्छ । अभिभावकलाई कुनै शंका लाग्यो भने संस्थाको सदस्य वा प्रहरीलाई खबर गर्ने, आफू पनि जोगिने र अरुलाई जोगाउने ।
महिलासँग गाउँमा छलफल गर्नभयो उहाँहरूको भनाइ कस्तो छ ?
महिलामात्र होइन सम्पूर्ण अभिभावकको चिन्ता एउटै छ । सबैभन्दा सुरक्षित घर हो । घर छैन । पाल मूनिको बास छ । बालबच्चाहरूलाई कसरी बचाउने ?
पराई त चिन्न सकिएला तर आफन्त कसरी चिन्ने ?
म त आफन्तको पूर्ण विश्वास नर्गन भन्छु । मेरो आफन्त हो भनेर आँखा चिम्लेर हामफाल्नु हुँदैन । शंका गर्नुपर्छ । आफन्तबाटै थुप्रै महिला बेचिएका उदाहरण हामीसँग छन् । आर्थिक प्रलोभनमा आफन्तले फकाएको छ भने यो बेला किन यस्तो भन्यो भनेर खोज्नु जरुरी छ ।
महिलामात्र जोखिममा छन् कि पुरुष पनि ?
महिला पुरुष दुवै छन् । महिलालाई यौनसँग जोडिन्छ र धैरै भन्ने आउँछ । तर, थुप्रै पुरुष बेचिएका छन् । त्यो कुरा बेचिएका पुरुष र हाम्रो समाजले स्वीकार गर्दैन । पुरुष बेचिएको कुरा बाहिर आउँदैन । आयो भने विदेश लैजाने नाममा ठगी गरेको भनेर आउँछ । भूकम्पपछि महिला पुरुष दुबै उच्च जोखिममा छन् । भूकम्पले सबै खोसेको छ ।
सामाजिक सञ्जालबाट पनि महिलालाई दलालले फसाउँने गरेको सुनिन्छ । यो सत्य हो ?
सत्य हो । सामाजिक सञ्जालबाट दलालको हातमा पुगेका धेरै घट्ना छन् । त्यसैले नचिनेकालाई साथी नबनाउने । उनीहरूले पठाएको साथीको निम्तोलाई अस्वीकार गर्ने र कुरा गर्दा चनाखो हुनुपर्छ । कुनै नयाँ कुरा गरको छ भने छिटै विश्वास नगर्ने, फोनमा गरेको कुरालाई विश्वास गर्दै नगर्ने ।
त्यसो भए सामाजिक सञ्जाल पनि मानब बेचबिखनको माध्यम बनेको छ ?
एकदमै हो ।
प्रस्तुति : अरुणा रायमाझी
प्रकाशित मितिः २०७२ जेठ ३१ आईतवार
Comment Here!