राम हरि श्रेष्ठ
कुवेत,असार २ । म कुवेतमा कार्यरत छु । सञ्चारिका समूहको समकोण कार्यक्रममा वैदेशिक रोजगारीः महिला सशक्तिकरणसँगै बढ्दो चुनाैती हेर्ने मौका पाएँ। उसै त हाम्रो देश गरिब छ । आजको कार्यक्रम हेर्दा हाँसो पनि लाग्छ । दुःख पनि झन तेतिकै लाग्छ ।
सर्बप्रथम त म निर्मलाजीलाई यो भिडियो पोस्ट गरिदिनु भएकोमा मुरीमुरी धन्यवाद टक्रयाउँछु । कुवेतको नेपाली दुतावासको तथ्यांकअनुसार यहाँ ७५ हजार नेपाली कार्यरत छन् । त्यसमा पनि ६० प्रतिशत घरायसी काममा महिला दिदीबहिनी कार्यरत छन् । वैदेशिक रोजगारमा घरायसी काममा आउने महिला अति बाध्यता र घर परिवार अनि श्रीमानको पीडा अपहेलनाले वैदेशिक रोजगारमा आउँछन् ।
श्रीमान नभएको, श्रीमानले छोडेको, श्रीमानले अर्को श्रीमती बिहे गरेको, कोहिले जाँडरक्सी खाने, पिट्ने, कमाउन नजाने, अरु महिलासँग हिड्ने पुरुषका श्रीमती कुवेतमा छन् । ती दिदी बहिनीहरू नेपालको मेनपावर मार्फत आउँछन् । यहाँ कुवेतमा पनि तेस्तै एजेन्सी छ ।
कुवेतमा घरायसी कामको लागि आउँने महिलाले फ्री भिसा पाउँछन् । तर, ती महिला सिधै घरमा काम गर्न जान पाउँदैनन् । कुवेतको एजेन्सी मार्फत महिला कामदार पैसामा बिक्री हुन्छ । ती महिला कुवेतीको घरमा मात्रै नभै इराकी, सिरिएन, लेबलानी, इरानी, जोर्डानी सबैलाई महङ्गो पैसामा बिक्री गर्छन् । त्यहाँ पनि भने जस्तो तलब, बस्ने खाने सुबिधा, सुरक्षा र आराम गर्ने समय पाउँदैनन् ।
१८ देखि २० घण्टा काम गर्नुपर्छ । त्यसमा पनि कतिपय महिला घर मालिकको छोरा र उनीहरूका आफन्तबाट बलात्कार हुनुपरेको छ । कति घर मालिक्नीले त महिना मरेपछि तलब नै नदिइकन एजेण्टका पुर्याउने गर्दछन् । अनि एजेण्टले तीनै पीडित महिलालाई किन राम्रोसँग काम नगरेको भन्दै पिट्ने, गालीगर्ने, खान नदिई नेपाल पठाईदिन्छु भनेर धम्की दिने र महिना दिनसम्म काम नदिने गरेका छन् । यस्तो समस्या हजारौं नेपाली महिलाले भाेगेका छन् ।
अनि ती पीडित महिला कहाँ जाने ? कस्को शरण पर्ने ? न घर परिवारको माया, न त परदेशमा आएर सोचे जस्तो कमाई ।
घर न घाटको अवस्थामा महिला कुवेतीको हेपाई र पीडाले घरबाट भागेर बाहिर पाकिस्तानी, बङ्गाली, इन्डियन, इजिप्टलगायत नेपाली पुरुषको शरण लिन पुग्छन् । वाध्यता बस तिनै पुरुषको यौन शोषणमा पर्दछन् । शरण दिएका पुरुषले नै चार पाँच महिना याैन शोषण गर्ने र काम लगाई दिने बाहनामा बिक्री गर्छन्।
यति मात्र हाइन, विदेशमा पुरुषले बिहे गर्छु भनेर महिलाले वर्षभरी कमाएको पैसा खाइदिने गर्छन् । यो सबै अशिक्षा र विदेशीको सिको गर्दा भएको हो । सभासद रबिन्द्र अधिकारीले भन्नुहुन्छ महिला वैदेशिक रोजगार रोक्नुपर्छ । वैदेशिक रोजगारको लागि नजान आग्रह गर्नुहुन्छ किन ? के ती सभासदले रोजगारको व्यवस्था गर्न सक्नुहुन्छ ?
राज्यले सुबिधा र सुरक्षा सहित रोजगार दिइयोस् कुन महिलालाई रहर छ, खाडी मुलुकमा काम गर्न आउन ? नेताहरूलाई भाषणमा मात्रै सिमित छन् । ती नेताले अहिलेसम्म कुन पीडित महिलाको उद्धार गरेका छन् । उनीहरू आफै महिलाको शोषण गर्छन् ।
हो, लक्ष्मी भट्टराई दिदीले भने झै महिला पीडितलाई न त राज्यले हेरेको छ, न त कुनै संघसंस्थाले नै हेरेको छ । पीडित पीडामा सिमित छ । मेरो विचारमा नेपाल सरकारले विदेशमा रोजगारको लागि जाने महिलालाई काम अनुसारको तालिम दिने र दुतावासको माध्यमबाट काममा पठाउने गर्नुपर्दछ । कुनै एजेन्सी मार्फत हैन ।
अनिमात्र महिला बलात्कार र शोषण हुनबाट सुरक्षित हुन्छन् । लक्ष्मी दिदीको जस्तो हालत कुनै पनि महिलाले आगामी दिनमा भोग्नु नपरोस् ।
काभ्रेपलान्चोक,ढुङ्खर्क ९
हाल ⁄ कुवेत
Comment Here!