टपरी उद्योगले गाँसेको सम्बन्ध


प्रकाशित मिति :2015-06-19 10:28:35

‘हिजो पैसा नहुँदा श्रीमानले गर्ने व्यवहार र अहिले गर्ने व्यवहारमा फरक छ, झगडाको बिउ नै गरिबी रहेछ’
ललितबहादुर बुढा

Lalit Buda surkhaetगाउँमा टपरी उद्योग सञ्चालनमा आएपछि पात मात्रै गाँसिएनन्, श्रीमान्–श्रीमतीबीच बिग्रिएका सम्बन्धहरू पनि अचम्मसँग सुध्रिँदै आए ।

श्रीमान् मजदुरी गर्थे, उनी घरधन्दा सम्हाल्थिन् । श्रीमान्को जस्तो उनको आम्दानीको स्रोत थिएन । घरखर्च चलाउन श्रीमान्कै भर पर्नुपथ्र्यो । एक्लो कमाइले परिवारका सबै सदस्यको खर्च धान्न मुस्किल थियो । लामो समयदेखि अभावको जीवन गुजार्दै आएका उनीहरूबीच घरखर्चकै विषयलाई लिएर थुप्रैपटक झगडासमेत भयो । झगडाले ठूलो रूप लिँदा पटक–पटक उनीहरूबीच आपसमा भनाभन भयो । कतिपय बेला त बोली बाराबारको अवस्थासमेत आयो ।

झगडाले परिवारका अन्य सदस्यसमेत हैरान भए । समय यस्तो पनि आयो, सँगै बस्न नसक्ने भन्दै उनीहरू सम्बन्धविच्छेद गर्ने निचोडमा पनि पुगे । वीरेन्द्रनगर– ५ चिसापानीकी मना नेपालीको विगतको वास्तविकता हो यो ।

तर, सम्बन्धविच्छेद गर्ने अवस्थासम्म पुगेको मनाको परिवार अहिले भने सँगै छ । विगतमा जस्तो श्रीमान्–श्रीमतीबीच हिजोआज झगडा हुँदैन । परिवारका सबै सदस्य खुसीका साथ बसेका छन् । टुक्रिने अवस्थामा पुगेको मनाको परिवार जोड्ने माध्यम बन्यो ‘टपरी’ । विशेषगरी विवाह, पूजा, मेला, वनभोज, स्थानीयस्तरमा हुने सभा तथा उत्सवसहित अन्य धार्मिक तथा सामाजिक कार्यमा प्रयोग हुने सालको पातबाट बनेको टपरीले उनीहरूको परिवारलाई टुक्रिन दिएन ।

यो कसरी भयो त ? कथा रोचक छ । मना र उनका श्रीमान्बीच दिनहुँ हुने झगडाको प्रमुख कारण परिवारको बढ्दो आवश्यकता र अकासिँदै गएको महँगीमा आर्थिक अभाव नै थियो । जब मनाले गाउँकै केही महिलासँग मिलेर दुना–टपरी उद्योग सञ्चालन गरेर आम्दानी गर्न थालिन् उनीहरूको परिवारमा खुसीको आगमन भयो । बिग्रिएको सम्बन्ध पनि सुमधुर बन्दै गयो । ‘अहिले सम्झिँदा विगतका घटना एकादेशको कथाजस्तै लाग्छ,’ मनाले भनिन्, ‘अहिले हाम्रो सम्बन्ध देख्दा छरछिमेकी पनि दङ्ग छन् ।’ मना बिहानै उठ्छिन् । घरधन्दा सक्छिन् । छोराछोरी विद्यालय पठाउँछिन् । श्रीमान् मजदुरी गर्न लाग्छन् । उनी लाग्छिन् टपरी उद्योगतर्फ । फुर्सदको समयलाई सदुपयोग गर्दै उनले टपरी उद्योगमा काम गरेर आम्दानी गरिरहेकी छिन् । जसले गर्दा उनको भत्किन लागेको परिवार जोगिएको छ ।

अहिले घरखर्च चलाउन पहिलेजस्तो समस्या छैन । घरका सानातिना काममा पैसा चाहियो भनेर श्रीमानसँग निर्भर हुनुपर्ने उनको बाध्यता हटेको छ । सकेसम्म उनी आफ्नै आम्दानीले सबै खर्च चलाउँछिन् । नपुगेको खण्डमा श्रीमानसँग माग्छिन् । मनाले आम्दानी गर्न थालेपछि उनका श्रीमानले समेत उनलाई माया गर्न थालेका छन् । मनाले फुर्सदको समयमा दुना र टपरी बनाएर आम्दानी गर्न थालेपछि हिजोआज यो जोडी मात्र होइन परिवार नै खुसी छ । मना भन्छिन्, ‘पहिला हाम्रो झगडा नभएको कुनै दिन हुँदैन थियो, सानो कामका लागि पनि मैले श्रीमान्सँग पैसा माग्नुपथ्र्यो । अहिले फुर्सद हुनेबित्तिकै वनमा गएर सालका पात ल्याउँछु, त्यसबाट बनाएको टपरी बेचेर घरखर्च चलाएकी छु ।’

IMG_81033

विगतमा आर्थिक रूपमा आत्मनिर्भर नभएकै कारण श्रीमान्बाट आफूले धेरै अपमान सहनुपरेको बताउने मना अहिले टपरीले आफूहरूको सम्बन्धमा सुधार ल्याएको बताउँछिन् । बिहान–बेलुका घरको काम गर्ने र दिउँसो फुर्सदिलो समयमा टपरी बनाउने काममा व्यस्त हुन थालेपछि अहिले छिमेकीले समेत आफूहरूको प्रशंसा गर्न थालेको उनको भनाइ छ । दुवैजनाको आम्दानी हुन थालेपछि उनीहरूले स्थानीय एक सहकारी संस्थामा बचतसमेत गर्न थालेका छन् । ‘भविष्यका लागि बचत पनि गर्न थालेका छौँ,’ मनाले भनिन्, ‘अब छोराछोरीलाई राम्रो शिक्षा दिनेतर्फ सोच्दै छौँ, हामीले गरेको मिहिनेतले भोलि सन्तानले अभावको जीवन बाँच्न नपरोस् ।’

चिसापानीकै गोमा विकले पनि हिजोआज श्रीमान्को गाली खानुपर्दैन । विगतमा छोराछोरीको पढाइ र घरखर्चको विषयमा गोमा र उनका श्रीमानबिच सधैँजसो झगडा हुन्थ्यो । दुना र टपरी बनाएर मासिक रूपमा घरखर्च चलाउन पुग्ने गरी गोमाले आम्दानी गर्न थालेपछि उनका श्रीमान् पनि खुसी छन् । टोलका महिलाले आपसमा मिलेर टपरी उद्योग सञ्चालनमा ल्याएपछि आफूहरू श्रीमानबाट पीडित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै गोमाले भनिन्, ‘हिजो पैसा नहुँदा श्रीमान्ले गर्ने व्यवहार र अहिले गर्ने व्यवहारमा फरक छ, झगडाको बिउ नै गरिबी रहेछ ।’

स्थानीय अन्य चार महिलाको पनि टपरी उद्योगमा काम गर्न थालेपछि श्रीमान् तथा परिवारसँग बिग्रेको सम्बन्धमा सुधार आएको छ । दुना–टपरी उद्योग सञ्चालन भएपछि महिलाले रोजगारी पाएका छन् । उनीहरू भन्छन्, ‘फुर्सदको समय सदुपयोग पनि भएको छ । आम्दानी पनि भइरहेको छ ।’

images1

विगतमा परिवारका सदस्यसँग मनमुटावमा समय खेर फालेका महिलालाई हिजोआज भने दुना र टपरी बनाउन भ्याइनभ्याई छ । उनीहरूले निर्माण गरेको एउटा टपरीको बजारमूल्य दुई रुपैयाँँ र पाँच सयवटा दुनाको तीन सय रुपैयाँ रहेको छ । महिलाले पालैपालो वनमा गएर पात टिप्ने तथा टपरी बुन्ने काम गरिरहेका छन् ।

स्थानीय महिलाको यो लगनशीलता र मिहिनेतको चर्चा अन्य जिल्लामा समेत हुन थालेको छ । जसका कारण मानिसहरू यो टपरी उद्योगबारे जान्न र सिको गर्नका लागि बाहिरी जिल्लाबाट समेत आउने गरेका छन् । सुरुवातमा वीरेन्द्रनगर नगरपालिकाले केही आर्थिक सहयोग गरेर उद्योग स्थापनामा सहयोग गरेको थियो । तर, हिजोआज महिलाले आफैँले बनाएको टपरी बिक्री गरेर आम्दानी भएको रकम सामूहिक रूपमा खातामा जम्मा गरेका छन् । सो रकम उनीहरूले पालैपालो आवश्यक परेको बेलामा प्रयोग गर्ने गर्छन् ।

जिल्लामा पछिल्लो समय टपरीको माग बढ्दो छ । टपरीको माग बढेसँगै उनीहरू उद्योगलाई थप विस्तार गर्ने सोचमा छन् । आवश्यक मेसिन र जनशक्ति थपेर उद्योगलाई विस्तार गर्न सके अन्य महिलाले पनि रोजगारी पाउने उनीहरू बताउँछन् । तर, विद्युत्मा हुने लोडसेडिङका कारण केही समस्या भएको भन्दै उनीहरूले सरकारसँग वैकल्पिक व्यवस्था गरिदिनसमेत आग्रह गरेका छन् । सदरमुकाममा भए पनि दलित तथा विपन्न वर्गको बाहुल्य रहेको यो बस्तीमा टपरी उद्योगले धेरै जोडीको सम्बन्धलाई बलियोसँग कसेको छ भने समाजमा हुने झगडा र कलहमा समेत कमी आएको छ ।
(सञ्चारिका फिचर सेवा)
(ललितबहादुर सुर्खेतका पत्रकार हुन् ।)

प्रकाशित मिति : २०७२ असार ४ गते शुक्रवार
 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: