भूकम्पकाे मारमा दृष्टिविहीन


प्रकाशित मिति :2015-06-19 11:19:57

चीना थापा

काठमाडाै‌,असार ४ ।  सिन्धुपाल्चोककी सविता थापा ललितपुरको ठैबमा बस्छिन् । वैशाख १२ गते भूकम्प आउँदा उनी घरको भुइँतलामा थिइन् । भूकम्प आएको थाहा पाएपछि उनलाई छोराको निकै चिन्ता भयो । हेरौँ देखिँदैन । ‘यस्तो विपत्तिमा हामीलाई धेरै समस्या पर्छ । छोरालाई बोलाउँछु बोल्दैन, कसलाई खोज्दे भन्नु ! आफू खोज्न जान आँखा देख्दिनँ, ’ उनले भनिन् ।

थापाका श्रीमान् फुर्गेल शेर्पा पनि दृष्टिविहीन हुन् । उनीहरूका आठ वर्षीया छोरा भने आँखा देख्छन् ।

साँखुका मंगल बुढाथोकी दृष्टिविहीन हुन् । उनी वैशाख १२ गते भूकम्प आउँदा दुई तलामाथि थिए । सबै कराउँदै बाहिर निस्के । उनी दौडेर बाहिर निस्कन सकेनन् । मरे मरियोस् भनेर जहाँ थिए त्यहीँ बसिरहे । भुइँचालो जस्ता विपत्तिमा दृष्टिविहीन भाग्न सक्दैनन् ।

उनीहरूकोे सिन्धुपाल्चोकको घर पूर्ण रुपमा ध्वस्त भएको छ । ललितपुर ठैबको घर पनि चर्किएको छ । तर, उनीहरूले राहत लिन भने सकेका छैनन् ।

‘भूकम्प आएको दिन त्रिपाल किन्न जान पनि सकिएन । खुल्ला आकासमुनि रात कटायौँ । आँखा देख्नेहरूले ल्याए । हामीलाई त्रिपाल लिन जानै समस्या भयो । यो ठाउँ जाउँ भनेर कसैले भनेनन् । अहिलेसम्म राहत पाउन सकेको छैन्,’ उनले भनिन् ।

DSC03065

अन्धा कल्याण संघका प्रमुख कुमार थापाका अनुसार, आँखा देख्न सक्ने दौडेर राहत लिन जान्छन्, नदेख्ने मान्छे दौडन सक्दैनन् । अनि समस्या भैहाल्छ । बाँड्ने पनि दृष्टिविहीनलाई पनि चाहिन्छ भन्दैनन् ।

भूकम्पबाट धेरै दृष्टिविहीनलाई समस्या परेको छ । उनीहरूले अझै पनि सहज रुपमा आफ्नो काम गर्न सकेका छैनन् । अपाङ्गता भएका व्यक्तिलाई अरु बेला पनि समस्या हुन्छ । त्यसमाथि विपत्तिमा थप समस्या हुन्छ । त्यसमा पनि दृष्टिविहीनहरूलाई झन् धेरै समस्या हुने गरेको छ ।

‘यस्तो विपत्तिमा हामी बाँच्नु भनेको भाग्य नै हो । म भाग्यले बाँचे,’ नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले भने ।

घिमिरेका अनुसार, नेपालमा भूकम्प थेग्न सक्ने संरचना नहँुदा दृष्टिविहीनलाई धेरै समस्या हुने गरेको छ । ‘यतिखेर बाटो हिँड्न डर छ । कुन घर ढल्न लागेको छ, कुन बाटो चिरा परेको छ देखिँदैन् । बाटाभरी निर्माण सामग्री थुपारेको हुन्छ, जुन देखिँदैन् । आँखा देख्नेले पनि यता हैन, उताबाट हिँड्नु भन्छन् । दायाँ बायाँ कता हो भन्दैनन् । दायाँ पट्टि हिलो छ वा बायाँ पट्टि हिलो छ या खाल्टो छ भनेर भनिदिँदैनन् । देख्नेले पनि हामीलाई सहयोग गर्दैनन् ।’

भूकम्पबाट धेरै दृष्टिविहीनले दुःख पाएका छन् । ‘विभिन्न संघ संस्थाले राहत वितरण गरिरहेका छन् । तामाङ, दलित भनेर राहत वितरण गरेका छन् । तर, अपाङ्ग, दृष्टिविहीन भनेर अहिलेसम्म कुनै संघ संस्था र सरकारी कार्यालयले राहत वितरण गरेका छैनन् । आँखा देख्न सक्ने तथा काम गरेर खान सक्नेले पाए जति सोहोरेका छन् । गर्न चाहेर पनि गर्न नसक्ने हामी जस्ता मानिस सबैबाट हेपिएका छौँ’, घिमिरेले भने ।’

दृष्टिविहीनहरूको क्षेत्रमा काम गर्ने मुख्य संस्था नेपाल नेत्रहीन संघ र अन्धा कल्याण संघ हुन् ।

अन्धा कल्याण संघले भूकम्प पीडित ५० जना दृष्टिविहीनलाई त्रिपाल र खाद्यान्न वितरण गरेको छ । अन्धा कल्याण संघका प्रमुख कुमार थापाका अनुसार संघले विभिन्न मन्त्रालयसँग समन्वय गरेर राहत दिइरहेको छ ।

DSC03068

काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा लगायतका जिल्लाका दृष्टिविहीन बस्ने ७ वटा होस्टेल भत्किएकाले उनीहरूका लागि अस्थायी टहरा बनाउने काम भैरहेको उनले बताए । यी दुईवटा संस्थाले संयुक्तसमिति बनाएर भूकम्पको मारमा परेका १४ वटा जिल्लामा दृष्टिविहीनलाई सहयोग गरिरहेकाछन् ।

नेपाल नेत्रहीन संघका निर्देशक अमृत राईका अनुसार सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, गोर्खा र काठमाडौंका तीन जिल्लाका गरी २५० जना भूकम्प पीडित दृष्टिविहीनलाई त्रिपाल तथा खाद्यान्न सामाग्री वितरण गर्न लागिएको छ । भूकम्पबाट पीडित दृष्टिविहीनहरूको तथ्यांक लिन स्थलगत अध्ययन गरिएको छ । साथै स्थानीय तथा राष्ट्रिय रेडियोबाट पनि सूचना प्रसार गरी उनीहरूको तथ्याङ्क लिएको राईले बताए ।

नेपाल नेत्रहीन संघका अनुसार २५० जना दृष्टिविहीन भूकम्पबाट पीडित भएका छन् । नेत्रहीन संघले दृष्टिविहीनहरू पनि सूचनाबाट वञ्चित नहुन भनी १५० जनालाई रेडियो सेट तथा १०० जनालाई सेतो छडी दिने कुरा उनले बताए ।
अपांगता भएका भूकम्प पीडितलाई व्यक्तिले पनि सहयोग गरेका छन् । ललितपुर कुपण्डोल निवासी शिवप्रसाद अर्यालले जावलाखेलमा उनीहरूलाई रेडियो सेट दिएका हुन् । अर्याल पनि अपाङ्गता भएका व्यक्ति हुन् ।

प्रकाशित मिति २०७२ असार ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: