मोबाइल फोनको महँगो प्रेम


प्रकाशित मिति :2015-06-19 14:34:15

मोबाइल फोनबाट राखेको प्रेम–प्रस्ताव स्वीकार गर्दा धेरै किशोरी बेचबिखनको सिकार भइरहेका छन् भने कतिपयलाई सीमानाकाबाट उद्धार पनि गरिएको छ ।
 दिलबहादुर छत्याल

Dil bd chattayal dhangadi....पन्ध्र वर्षीया अनुजा सिंह (नाम परिवर्तन) को मोबाइल नम्बर पत्ता लगाएर दिनेश तामाङले फोन गर्न थाले । अनुजाले मलाई फोन नगर्नु भनेर गाली गर्दा पनि दिनेशले छोडेनन् । उनले पटकपटक ‘असाध्यै मन पराएको’ भन्दै धेरै माया गर्ने वाचा गर्दै फोन गरिरहे ।

पटकपटकको अनुरोधपछि अनुजाको पनि मन पग्लियो । स्याङ्जाकी यी किशोरीलाई धादिङका दिनेशले स्याङ्जाकै एक होटेलमा भेटघाट गर्न भनेर बोलाए । दिनेशले कैलालीमा दिदीको घर छ, केही दिन त्यहाँ बसेर काठमाडौंको आफ्नो घरमा लैजाने बताए । दिदीको घर गइरहेको बेला धनगढीको त्रिनगर नाकाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसबेला मात्रै थाहा भयो उनलाई बिक्री गर्न भारततर्फ लगिँदै थियो ।

‘मलाई सुरुमा मिसकल गर्‍यो, पछि स्वर मीठो लाग्यो भन्दै पटकपटक फोन गर्न थाल्यो । म विवाहित हुँ, मलाई फोन नगर्र्नु भनेर गाली पनि गरेँ,’ उनले भनिन्, ‘एक वर्षजति लगातार फोन गरेपछि माया नै गर्छ होला भन्ने लागेर मैले पनि उसले राखेको प्रस्ताव स्वीकार गरेँ । अहिले पो थाहा पाएँ त्यो त केटी बेच्ने दलाल रहेछ ।’

images

‘कैलाली नगर भन्ने ठाउँमा दिदीको घर छ भनेको थियो । त्यो गाउँ आउन बाँकी नै छ भन्थ्यो । भारततिर लैजान लागेको मलाई थाहा नै थिएन,’ उनले भनिन्, ‘प्रहरीले सोधपुछ गरेर भारततिर किन जान लागेको भनेपछि मात्रै सबै कुरा थाहा पाएँ ।’

आफ्नो नाम र काठमाडौंको घरको ठेगाना पनि गलत बताएका दलालले कैलालीमा हुँदै नभएको गाउँमा जाने भनेर किशोरीलाई भारततिर लैजाँदै थिए । सीमामा सोधपुछ गर्दा बेच्न लगिरहेको खुलेको माइती नेपाल धनगढीका शिवचरण चौधरीले बताए । चौधरीका भनाइमा दलालले घरको ठेगाना र नामसमेत गलत बताएका थिए । उनी विवाहित भएको र उनको घरमा बालबच्चासमेत रहेको पाइयो ।

कक्षा १० मा पढ्ने अछामकी पन्ध्र वर्षीया एक किशोरीलाई मोबाइल नम्बर पत्ता लगाएर कालिकोटका सुमन शाहीले भिनाजुको भाइ हुँ भनेर फोन गर्न थाले । फोनमा माया–प्रेमका कुरा हुन थाले । एक दिन सुमनले विवाहको प्रस्ताव राखे । कुराकानी गर्न भनेर धनगढी बोलाए । धनगढीमा सुमनले यसो घुमेर आऊँ भनेपछि उनीहरू भारत धुम्न भनेर निस्किए । सीमामा माइती नेपालको टोलीले रोक्यो ।

बल्ल ती किशोरीले थाहा पाइन्– उनलाई प्रेम गर्ने सुमन वास्तविक प्रेमी थिएनन् । उनलाई भारत घुमाउन होइन बिक्री गर्न लगिँदै थियो । ती किशोरीले भनिन्, ‘प्रेम नक्कली, घरको ठेगाना पनि बनावटी, सबैथोक झुट, कसो बिक्री हुनबाट जोगिएँ ।’

धनगढी बोराडाडीकी कक्षा १० मा अध्ययनरत ललिता (नाम परिवर्तन) को फेसबुकमार्फत काठमाडांैका एक युवकसँग चिनजान भो । फेसबुकबाट साथी भएका उनीहरू कुराकानी गर्ने क्रममा नजिकिए । आर्थिक विपन्नताका कारण समस्यामा परेकी ती किशोरीलाई राम्रो रोजगारीमा लगाइदिने भनेर युवकले काठमाडौं बोलाए । एकपटक पनि नभेटेका ती युवकले बोलाएकै आधारमा युवती भागेर काठमाडौं गइन् । रोजगारी लगाइदिने प्रलोभन दिने युवकले काठमाडौंको होटेलमा राखेर यौनशोषण गरेपछि ती किशोरी विपतमा परिन् । होटेलमा राखिएकी ती किशोरी पाँच दिनपछि त्यहाँबाट भाग्न सफल भइन् । बसको टिकट काउन्टरमा महेन्द्रनगरका एक बस व्यवसायीसँग भेट भयो । बस व्यवसायीले धनगढीको माइती नेपालसम्म पुर्‍याइदिए ।

उनी भन्छिन्, ‘फेसबुकबाट चिनजान भएको थियो । भेट भएको थिएन । आर्थिक समस्याले तनाव भएको बेला जागिर लगाइदिन्छु भनेकाले भागेर काठमाडौं गएकी थिएँ ।’ उनले भनिन्, ‘उसले होटेलमा राखेर यौनशोषण गर्न थालेपछि भागेँ ।’

‘हामीकहाँ आएको एक सातासम्म उनी मानसिक रूपमा निकै विचलित थिइन् । खान पनि मन नगर्ने, झोक्राइराख्ने गर्थिन्,’ माइती नेपालकी पशुपति चौधरीले भनिन्, ‘अहिले त सुधार आएको छ । खाना पनि खान थालिन् ।’
माइती नेपाल धनगढीका शिवचरण चौधरीका भनाइमा पछिल्लो समय दलालले फेसबुकलाई पनि युवतीलाई जालमा पार्ने माध्यम बनाउन थालेका छन् । चौधरी भन्छन्, ‘मोबाइल र फेसबुकबाट चिनजान गरेर सम्बन्ध बढाउँछन् । मायाजालमा पार्न सकिने भए विवाहको नाटक गरेर भारतका विभिन्न सहरमा पुर्‍याउँछन् । त्यहाँबाट भारत वा तेस्रो मुलुक पुर्‍याउँछन् ।’ उनका भनाइमा भारतका वेश्यालयमा बेचिएका युवतीको यौनशोषण हुने गर्छ भने साउदी अरबलगायतका मुलुकमा बेचिएका युवतीको यौन र श्रमशोषण दुवै हुने गर्छ ।

बेलाबखत समातिने गरेका घटनाबाट विभिन्न जिल्लाका दलालहरूले बेचबिखनका लागि लैजान कैलाली नाका बढी प्रयोग गरेको देखिन्छ । दिल्ली जान सजिलो हुने भएकाले पनि दलालले पूर्वीक्षेत्रका जिल्लाबाट समेत युवतीहरू भारत लैजान कैलाली नाका प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

पछिल्लो एक वर्षमा मात्र दलालले भारततर्फ बेच्न लैजान खोजेका करिब एक सय किशोरी र युवतीको उद्धार गरिएको छ । तीमध्ये ४० जना मोबाइलबाटै चिनजान भई प्रेममा परेर विवाह गरेको भन्ने थिए । चौधरीका भनाइमा ६० जना वैदेशिक रोजगारमा लगाइदिने आश्वासनमा पारेर बेच्न लगिएका थिए ।

राम्रो आम्दानी हुने लोभ देखाएर वैदेशिक रोजगारीमा लगाइदिन्छु भनेर धेरै युवतीलाई आकर्षित गरेको पाइएको छ । सिन्धुलीकी १५ वर्षीया एक किशोरी र धादिङकी १८ वर्षीया युवतीलाई काठमाडौंका दलाल कान्छी तामाङ र रेखा तामाङले दुबईमा काम गर्न पठाउने आश्वासन दिएका थिए । उमेर नपुगेकाले एयरपोर्टबाट जान नपाइने भन्दै भारत हुँदै पठाइदिने भनेर कैलालीको सुख्खडमा रहेको दलालको सम्पर्क नम्बर दिएका थिए । सुख्खडका दलालले आठ दिन आफ्नो घरमा राखेर भारततिर लैजाँदै गर्दा उनीहरू पक्राउ परे ।

‘आमा छैनन्, आर्थिक अवस्था कमजोर भएकाले कक्षा ६ मा नै पढाइ छाडेँ, वैदेशिक रोजगारमा लगाइदिन्छु भनेर पठाएको हो,’ ती युवती भन्छिन्, ‘जीवन बर्बाद हुनबाट जोगियो, यसैमा खुसी छु ।’

(सञ्चारिका फिचर सेवा)
(दिलबहादुर कैलालीका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: