महिला खवर
काठमाडौं, असार ५ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बेचविखनका लागि लैजान लागिएका र अनावश्यक वा गैरकानूनी रुपमा बालगृहमा राख्न खोजिएका २४५ जना बालबालिकालाई उद्धार गरिएको जनाएको छ ।
युनिसेफले बालबालिका बेचविखनको जोखिम घटाउनका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र बालकल्याण समितिसहित गृह मन्त्रालय, नेपाल प्रहरी र अध्यागमन विभागसँग सहकार्य गरिरहेको छ ।
विज्ञप्ति जारी गरि दुईवटा भूकम्पपछि बालबालिका बेचबिखनका घटना बढने तर्फ सचेत गराउँदै युनिसेफले भनेको छ जीविकोपार्जनका उपाय समाप्त हुने र दयनीय बसोबासका कारण आफ्ना बालबालिकाको अवस्थामा सुधार आउला कि भन्ने आशले दलाललाई सुम्पिन अभिभावकहरू सजिलै तयार भएका हुनसक्छन् । दलालहरू बालबालिकाले पढ्न, राम्रो खान र सुन्दर भविष्य बनाउन सक्छ भनेर अभिभावकलाई वचन दिने गर्दछन् । तर वास्तविक अवस्था अर्कै हुन्छ– अधिकांश बालबालिका डरलाग्दो शोषण तथा दुव्र्यवहारको शिकार हुन पुग्न सक्छन् ।’
युनिसेफका अनुसार बालिकालाई देहव्यापारमा संलग्न गराइनेमात्र नभै घरेलु कामदारका रूपमा पनि बेचिन्छ भने बालकलाई जबरजस्ती श्रममा लगाइन्छ । यो प्रवृत्ति भूकम्पछि अझ बढेको विश्वव्यापी अनुभव रहेको छ ।
नेपालमा भूकम्प आउनुअघि बालगृहहरूमा करिब १५ हजार बालबालिका रहेको विज्ञप्ति उल्लेख छ । यसरी राखिएका ८५ प्रतिशतभन्दा बढी बालबालिकाका बाबु वा आमामध्ये एक भएको पाइएको जनाइएको छ ।
भूकम्पपछि बालबालिका रहेको जिल्लाबाट बाहिरी जिल्ला लैजानका लागि केन्द्रीय बालकल्याण समितिको पूर्व स्विकृती लिनुपर्ने व्यवस्था गरिएको भने नयाँ बालगृह तथा अनाथालय दर्ता गर्न रोक लगाइएको छ ।
युनिसेफले बालबालिका बेचबिखन रोक्न गृह मन्त्रालय तथा नेपाल प्रहरीसँग साझेदारी गर्दै मुलुकका विभिन्न ८४ प्रहरी कार्यालय र जाँच चौकीमा यससम्बन्धि संरचना तयार पारिएको जनाएको छ ।
प्रकाशित मितिः २०७२ असार ५ गते शनिवार
Comment Here!