रमला सिंगक
सुनसरी, असार ७ । धरानको शारदा नमुना बालिका उच्च माविका भुपु छात्राले सोही विद्यालयका छात्राको शिक्षाका लागि अक्षयकोष स्थापना गरेका छन् ।
शारदा नमुना बालिकाबाट ३० वर्ष अघि एसएलसी दिएका २४ जना छात्रा मिलेर गरिव तथा जेहेन्दार छात्रालाई छात्रावृत्तिका लागि तीन लाख रुपैयाँको ‘भुपु विद्यार्थी अक्षय कोष’ स्थापना गरेका हुन् ।
भुपु छात्रा तथा सोही विद्यालयकी शिक्षिका कृष्णादेवी तामाङले भन्नुभयो–‘एसएलसी दिएर छुटेको २९ वर्षपछि फेसवुकले साथीहरूसँग भेट गरायो । आफूले पढेको विद्यालयलाई के गर्ने भन्ने छलफल भयो र छात्रावृत्तिको लागि अक्षयकोष स्थापना गर्ने निर्णयमा पुग्यौँ ।’
अक्षय कोषवाट आएको वार्षिक व्याजले प्रत्येक कक्षामा पहिलो हुने छात्रालार्ई अवस्था हेरेर नगद तथा पाठ्य सामग्री दिने निर्णय गरेको अक्षयकोषकी संयोजक कृष्णादेवी तामाङले बताउनुभयो ।
भुपु छात्राले स्थापना गरेको अक्षयकोषको सहयोगले आर्थिक अभावका कारण आफन्त वा नातेदारको घरमा काम गरेर पढ्ने बालिकालाई प्रोत्साहन दिने र नियमित विद्यालय आउन प्रेरित गर्ने विद्यालयका प्रिन्सिपल मेघराज भट्टराईले जानकारी दिनुभयो ।
अक्षयकोषकी संयोजक तामाङले भन्नुभयो ‘सामाजिक संञ्जालमा ‘गल्र्स’ पेज खोलेपछि २४ जना साथी भेट भयो बालिका शिक्षाको लागि अक्षयकोष स्थापना गर्न सफल भयौं।’
सामाजिक सञ्जालमा भेट भएका २४ जना साथीसँग अहिलेसम्म भौतिक रुपमा भेट नभएको उहाँले बताउनुभयो । उनीहरूले समाजिक सञ्जाल मै छलफल गरेर कोष स्थापना गरेका बताए ।
भूपु विद्यार्थी मेनुका राईले भन्नुभयो–‘आफूले अध्ययन गरेको विद्यालयलाई सानो सहयोग जुटाउन पाउँदा अत्यन्तै खुशी लागेको छ । सकेसम्म नमुना बालिका विद्यालयलाई नमुना वनाउनमा थप सहयोग गर्न सकिन्छ की भनेर अन्य साथीसँग पनि कुराकानी भईरहेको छ ।’
प्रकाशित मिति २०७२ असार ७ गते साेमवार
Comment Here!