जमुनाबर्षा शर्मा
पोखरा, असार ७ । मगर महिलाको सुन्दरता र उनीहरूले गर्ने आत्मरक्षाको विषय वस्तुमाथि केन्द्रित मगर भाषाको चलचित्र ‘रैंयाँ’ प्रदर्शन भएको छ ।
मगर समुदायका महिलाको विषयमा केन्द्रित रहेर बनाइएको मगर संस्कृतिमा आधारित सो चलचित्रमा महिलालाई मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको छ । महिलाले हातमा लगाउने ‘रैंयाँ’ अर्थात बाला आत्मरक्षाका लागि प्रयोग हुने गहना हो जस्लाई महिलाले आत्मरक्षा गर्न हतियारका रुपमा प्रयोग गरेको चलचित्र निर्माता तारा थापाले बताउनुभयो ।
‘महिलाले हातमा लगाउने रैंया विशेष परिस्थितिमा आत्मरक्षाको लागि प्रयोग हुने हतियार पनि हो । जुन यस चलचित्र मार्फत प्रस्तुत गरिएको छ’ — थापाले भन्नुभयो ।
चलचित्रको छायाङ्कन तनहुँको भिमाद, मिछुर्लुङ, कास्कीको धम्पुस टाईगर टपलगायतका ठाउँमा गरिएको अर्का निर्माता तथा कथाकार हर्क आलेमगरले जानकारी दिनुभयो । चलचित्रमा सञ्चारकर्मी प्रिया थापामगर र अशोक आले मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा तारामाया थापामगर, मिन पुर्जा पुन मगर, दुर्गा ठाडा मगर, पूर्ण थापा मगर (सुगा), अनिता थापामगर, गगन पुन मगर रहेका छन् ।
मेनोको फिल्म एण्ड मिडिया हाउसको प्रस्तुती मगर संस्कृतिमा आधारित चलचित्र ‘रैंयाँ’ लाई दर्शकले अध्याधिक मन पराएको निर्माता थापाले बताउनुभयो । चलचित्र प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले थप उत्साह मिलेकोे निमार्ता तारा थापा मगरको बताउनुभयो ।
प्रकाशित मितिः २०७२ असार ७ गते सोमवार
Comment Here!