महिला र बालबालिकामाथि हुने हिंसाप्रति सरकार सचेत छ : परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय सम्मेलनमा महिलाले खोजे सहभागिता
महिला खबर
काठमाडौं, असार ८। परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले राज्य कमजोर भएका बेला महिला तथा बालबालिकामाथि हुनसक्ने हिंसाप्रति सरकार सचेत रहेका बताउनुभएको छ । भूकम्पको क्षतिपछिको मानविय सहायतामा लैङ्गिक समानता तथा महिला शसक्तिकरणका लागि बिभिन्न संघसंस्था तथा विज्ञहरूको साझा मागपत्र बुझ्दै मन्त्री पाण्डेले विपदको मौका छोपी नकारात्मक दृष्टिकोण भएकाहरूले चलखेल गरेर महिला तथा बालबालिकालाई प्रलोभनमा पारी बिभिन्न संघसंस्थाका नाममा सीमा पार गराउन सक्ने हुनाले यस्तो कार्य रोक्न सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।
मन्त्री पाण्डेले भूकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनालाई लैङ्गिकअनुकूल बनाउन महिलाले बुझाएको साझा मागलाई आत्मसात गर्दै नीति तथा कार्यक्रममा समेट्ने वचन दिनुभयो।
यस अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले विपदपछिको आवश्यकता मुल्याकंन (Post Disaster Needs Assessment ) मा सामाजिक विषय राखिएको तर यसको कार्यान्वयन कुनस्तरमा हुन्छ भन्ने कुरा बजेटमा भर पर्ने बताउनुभयो। राज्यका तर्फबाट आउने कार्यक्रम र प्रतिवद्धता भने लैङ्गिकअनुकूल र संवेदनशील हुनेमा ढुक्क हुन सचिव वैरागीले आश्वासन दिनुभयो।
भेटघाट कार्यक्रममा साथीका अध्यक्ष बन्दना राणाले महिलाको साझा मागपत्र पढेर सुनाउनुभएको थियो। भेटका क्रममा महिलाले आउँदो असार १० गते नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा महिला अधिकारमा अगुवाई गरिरहेका महिलालाई सहभागी गराउनुपर्नेलगायत ५ बुँदे छुट्टै मागपत्र बुझाएका छन्।
मागपत्रमा दातृ निकायसँगको समन्वय, स्रोत तथा साधनको परिचालन, राहत तथा पुर्ननिर्माणका हरेक क्षेत्र र तहमा महिला समूहसँग समन्वय गर्नुपर्ने, स्थानीय महिला संस्थालाई आकस्मिक आर्थिक सहयोग उपलब्ध गराइ, प्रभावितसँग काम गरिरहेको ती संस्थाको पहिचान गरी स्रोत उपलब्ध गराउनुपर्ने रहेका छन्।
यसैगरि सरकारी गैरसरकारी र दातृ निकायबाट गरिने कल्याणकारी तथा सामाजिक संरक्षण र राहत वितरणका काममा महिलालाई समतामुलक रुपमा हेरिनुपर्ने, विशेष कोष खडा गरी महिलाका लागि कार्यक्रम सञ्चालन गनुपर्ने र यसको व्यवस्थापनको जिम्मेवारी महिला कै क्षेत्र काम गरिरहेका संस्थालाई दिनुपर्ने माग रहेका छन्।
महिला अधिकारका क्षेत्रमा काम गर्ने करिव डेढ दर्जन संघसंस्थाले साझा मागपत्र सोमबार परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई बुझाएका हुन्।
प्रकाशित मितिः २०७२ असार ८ गते मङ्गलबार
Comment Here!