महिला हिंसाका ३५ कुसंस्कार


प्रकाशित मिति :2015-06-23 13:47:34

महिलाले के काम गर्न हुन्छ, के गर्नु हुन्न? कुरितीविरुद्धको राष्ट्रिय संजालका अनुसार, ३५ वटा कुसंस्कारले महिलामाथि हिंसा बढाएको छ। यसलाई चुनौती दिँदै रुपन्देहीका केही महिला यस्ता कुसंस्कारविरुद्ध जुटेका छन्।

अमृता अनमोल

buhari bihe garidine sasuविधवा बुहारीको कन्यादान गर्ने माया

विधवा बुहारीलाई खाने लाउने कुरामा विभेद गर्ने र घरबाट निकालीदिने गरेको हामीले सुन्दै आएका छौं। तर, बुटवल गोलपार्ककी माया ढकालले आफ्नी विधवा बुहारी धनालाई घरबाटै कन्यादान गरेर विवाह गरिदिइन्। ११ वर्षअघि बुहारीको कन्यादान गरेकी उनले अहिले पनि बुहारीलाई माइती सरह चाडपर्वमा बोलाउने गर्छिन्। माया र धनाको सम्बन्ध आमा छोरीको जस्तै छ। माया भन्छिन् ‘अहिले आफ्नै छोरीभन्दा प्यारी र नजिककी भएकी छिन्। छोराको ठाउँमा नाति छ। बुहारीको ठाउँमा छोरी बनाएकी छु।’

२०५० सालमा मायाको माइलो छोरा दिलीपले धनालाई विहे गरेका थिए। त्यसको तीन वर्षपछि दिलीपको मृत्यु भयोे। विधवा हुँदा धनाको उमेर १८ वर्षका थियो। धनाको १० महिनाको छोरो थियो। मायालाई आफ्नो छोरो गुमाउनुको भन्दा कलकलाउँदो उमेरमा बुहारी बिधवा हुनुको पीडा धेरै भयो। बुहारीको बाँकी जीवन कसरी बित्ला उनी यही सन्तापले पिरोलिन थालिन्। बुहारीलाई सबैको विचरा र छिछी भएर बाँच्न वाध्य नबनाउने निर्णय मायाले मनमनै गरिन्। पुरानो सोचलाई हटाउन आफैबाट सुरु गर्नुपर्छ भनेर घरपरिवारलाई पनि आफ्नो कुरामा सहमत बनाइन्।

महिलाले महिलाको भावना नबुझे कस्ले बुझ्छ भनेर नजिकका दिदीबहिनीसँग सल्लाह लिइन्। ‘नाती स्कुल जाने भएपछि जीवनको महत्वपुर्ण समय अझै बाँकी छ नयाँ निर्णय गर। आफ्नो जीवन फेरि खुसीयाली बनाउँ। म तिम्रो साथमा छु भनेर पटक पटक सम्झाएँ’ माया सम्झन्छिन् ‘बुहारीको भविष्यका लागि मैले नसोचे अरुले सोच्दैन भनेर मुखै फोरेर अर्को विहे गर्न सुझाव दिए।’

सुरुसुरुमा अर्को विहेलाई बुहारी धनाले सिधै अस्वीकार गर्थिन्। तर मायाले अनेक किसिमबाट सम्झाउँन छोडिनन्। करिब १० वर्षपछि बुहारी विहेका लागि राजी भइन्। यसपछि मायाले बुहारीका लागि वर खोजिन्। ‘छोरीजस्तै गरेर कन्यादान गरेरै विहे गरेर पठाएँ। घरमा खुसीयाली छायो। बुहारी धनाको जीवनमा फेरी खुशी आउँदा ठूलो जिम्मेवारी पुरा गरेजस्तो भयो’ माया सुनाउँछिन्।

बुहारीको विहेलाई समाजले भने पचाउन सकेन। यो मायाका लागि ठुलै चुनौती थियो तर पार गरिन्। जवाफ दिन मिल्ने प्रश्नको जवाफ दिइन् नत्र चुपचाप बसिन्। ‘मेरो कारणले यौटी बेसाहारा विधवाले साहरा र नयाँ जीवन पाएकी छिन्।’ विभिन्न महिला समूह, टोल विकास समूहलगायतमा आवद्ध माया भन्छिन् ‘मलाई मेरो प्रसंशा होस् भन्नुभन्दा पनि मेरो कामको सिको अरुले पनि गरुन् भन्ने लाग्छ।’ मायाको सिको गर्दै नवलपरासी र रुपन्देहीमा ६ वटा यस्तै विवाह भएका छन्।

आमाको किरिया गर्ने श्यामला

Shyamala paudelरुपन्देहीको मधौलियाकी श्यामला पौडेल ३ वर्षअघि आमाको मृत्युपछि कपाल खौरेर र सेतो एकोहोरो वस्त्रमा १३ दिनसम्म काजक्रिया गरिन्। दिनानुदिन पिण्ड उठाएर श्राद्ध गरिन् र १३ औँ दिनको कर्म पनि छोराले सरह गरिन्। १३ दिने काजक्रिया मात्र होइन श्यामलाले आमाको अन्तेष्टी समेत एक्लै गरेकी हुन्।

‘आमाको मृत्युवरणपछि कपाल खोलेँ। हिन्दु परम्परा अनुसार उहाँलाई घरबाट निकाल्दा गर्नुपर्ने सबै काम एक्लै गरेँ।’ श्यामलाले भनिन् ‘बाेकेर घाटसम्म पर्‍ुयाएर गर्ने दागबत्तीलगायतका काम पनि एक्लैले गरें।’ आमा नन्दकला पौडेलका छोरा नजन्मेपछि उनी आमासँगै बसेकी थिइन्। छोरीमध्येकी कान्छी छोरी श्यामलाले आमाको काजक्रिया एक्लै गरेकी हुन्। ‘जीवनभर आमासँगै बसें। मृत्युपछिको काम पनि मैले नै किन नगरु भनेर यसो गरेकी हुँ’ श्यामलाले भनिन्। श्यामला कोटिहवाको पशुपति उच्चमाविकी शिक्षक पनि हुन्।

रुपन्देहीमा छोरीले आमावाबुको काजक्रिया गरेपनि कपाल खौरेर छोरा सरह काजक्रिया गर्ने श्यामला पहिलो महिला हुन्। यद्यपी आमाका मृत्यु संस्कारका यी काम गर्न श्यामलालाई कम चुनौती खेप्नु परेन। आमाको मृत्युपछि आफन्त र छिमेकीले छोरीले काजक्रिया गर्दा पितृ तर्दैनन् भनेर निकै विरोध गरे।

छोरी क्रियापुत्री बनेपनि साथमा दाजुभाइ या नजीकको आफन्त पुरुषलाई क्रियापुत्री राखी दैनिक पिण्ड दिन पनि सुझाए। तर, श्यामला मानिनन्। ‘धेरै मेहनतपछि उनका दिदी र आफन्त उनलाई काजक्रिया गर्न दिन राजी भए। ‘हामी सानै छँदा छोरा छैनन्। मृत्युपछि पिण्ड दिने र काजक्रिया गर्ने छोरा पनि छैन भनेर आमालाई छिमेकीले निकै हेप्ने गरेको श्यामला सम्भि्कन्छिन् ।’

श्यामलाले भनिन् ‘मैले त्यतिबेला देखिनै आमासँगै बस्ने र उहाँको मृत्युपछिको सम्पुर्ण संस्कार आफैले गर्ने निश्चय गरेकी थिएँ।’ ठूली भएपछि उनले आफ्नो इच्छा आमालाई पनि सुनाएकी थिइन्। जसमा आमा नन्दकलाले पनि सहमति जनाइन्। ‘मलाई छोरासरह छोरीले पनि आमाबाबुप्रतिको कर्तव्य र जिम्मेवारी निभाउन सक्छन् भन्ने देखाउनुथियो।’

उनले भनिन् ‘यसैले विहेवारी गर्ने र आफ्नो संसार जोड्नेतिर नलागेर म जीवनभर आमासँगै बसेकी थिएँ।’ श्यामलाको सिको गर्दै बुटवलकी सोनु क्षेत्रीले पनि गतवर्ष आमाको क्रिया एक्लै गरिन्। महिला शसक्तिकरणमा कार्यरत पौरखी नेपालकी रुपन्देही अध्यक्ष भगवती खनालले श्यामलाको साहसले छोरा जन्मेनन् भनेर पछुताउँदै रुने धेरै दम्पतीको मुहार हँसाएको बताइन्।

दाइजोविरुद्ध गीता

Gita pokharalदेवदहमा विहेमा दाइजो थोरै ल्याएको आरोपमा उपेन्द्र पौडेलले श्रीमती बबिताको हत्या गरेपछि गीता पोखरेललाई निद्रा परेन। झिसमिसेमा उठेर छिमेकीकहाँ गइन् र आफूले सुरु गर्ने दाइजो वहिष्कार आन्दोलनलाई सहयोग गर्न आग्रह गरिन्। उनको आग्रहमा केही छिमेकीले साथ दिए। २०६० कार्तिक २ गतदेखि गीताकै अगुवाइमा देवदहमा दाइजोविराधी आन्दोलनको शखंनाद भयो। तत्काल उनीहरू घटनास्थल पुगे र उठाउन लागेको बबिताको लाश रोके ।

‘सुरुमा यो आन्दोलनप्रति खीसीट्युरी गर्ने थुप्रै थिए। पुरुष मात्रै होइन महिलाकै पनि साथ पाइन’ उनी भन्छिन्। बबिताको हत्यापछि आएको साहस उनले बिस्तारै गुमाइन् तर निरन्तर दाइजोविरुद्ध वकालत गर्न भने छोडिनन्।

यसपछि एकदुई गर्दै पीडित महिलाले नै साथ दिन थाले। यसपछि दाइजो विरोधी अभियानकै नाममा विधिवत संस्था दर्ता भयो, हर्षित मुद्रामा गीताले भनिन्। हजारौँ महिलाको सहभागितामा विशाल सभा र कार्यक्रम हुन थालेपछि २०६० साल मै रुपन्देही र नवलपरासी दाइजो निषेधित जिल्ला घोषणा भएका थिए। निषेधित जिल्लामा दाइजो बोकेका गाडीहरू सडकमा गुड्न रोकिए। गुडे बरामद हुन्थे। दाइजो लेनदेन गर्दै गरेका विवाह रोकिन्थे। पाल्पा, गुल्मीदेखि बाँके, बारा, धनुषासम्म दाइजोविरोधी सभा, सम्मेलन र शाखा विस्तार भए।

विडम्बना २ वर्षपछि राष्ट्रव्यापी बन्न लागेको बेला दाइजो विरोधी अभियान एकाएक रोकियो। शसस्त्र विद्रोह गरिरहेको तत्कालिन माओवादीले महिला हिंसा विरोधी गतिविधि आफूले गरेकोले दाइजोको छुट्टै अभियान आवश्यक नभएको र अभियानबाट राज्यपक्षलाई बढि फाइदा भएको भन्दै सहकार्य गर्न वा अभियान छोड्न सवैलाई दवाव दियो।

गीतालाई अपहरण गरेर १५ दिनसम्म माओवादी कब्जामा परेपछि उनले राजीनामा दिइन्। अहिले उनी काठमाडौंमा छिन्। दाइजो विरोधी अभियानका नाममा नभएपनि गीताले सुरु गरेको यो अभियानलाई धेरै महिलाले अघि बढाएका छन्। महिला समूह र सरकारी तथा गैरसरकारी संघसस्थाले अहिले दाइजोविरुद्ध काम गरिरहेका छन्। बालविवाह तथा दाइजोविरुद्ध कार्यरत सिद्धार्थ सामुदायिक विकास केन्द्रकी अध्यक्ष मीना थापा भन्छिन् …दाइजो पीडित घरघरमा छन। यसैले यो अभियानलाई पनि घरघरमा पर्‍ुयाउनुपर्छ।’

घुम्टो बहिष्कार गर्ने धनकुमारी

Dhana kumariपाल्पामा जन्मेकी धनकुमारीको करिब २० वर्षअघि रुपन्देहीको पजरकट्टीमा विहे भयो। पहाडमा कसैले घुम्टो ओढेको नदेखेकी उनलाई विहेलगत्तै घरमा घुम्टो लगाउन भनियो।

मुख छोपेर हिँड्दा धेरै पटक लडिन् र चोटपटक लाग्यो। गर्मीमा घमौराले मुख पाकेर पिपका धारा बग्न थाले। त्यसपछि जिद्धी गरेरै उनले घुम्टो ओड्न छोडिदिइन्। धेरैले संस्कार नमान्नेे अलक्षीनी भनेर गाली गरे। नजीकका आफन्तले घुम्टो ओढ्न र संस्कार बचाउन उनलाई दवाद दिए। हाल पजरकट्टी गाविसकी सहायक धनकुमारी पाण्डेले दुई दशकअघिको कुरा सम्झदै भनिन् ‘तैपनि मैले फालेको घुम्टो पुन ओढिन्।’

धनकुमारीले घुम्टोविरुद्ध अन्य महिलालाई पनि एकजुट बनाइन्। त्यस्ता महिलालाई घरपरिवार र समाजले साथ नदिए पनि चुनौती खेपेर घुम्टोे वहिष्कार गर्न थाले। अहिले गाउँमा आमा समूह, वचत समूहलगायतमा सहभागी हुँदै गाविसमा हुने सार्वजनिक कार्यक्रममा धनकुमारीले घुम्टोको विरोध गर्छिन्। उनको सिको गर्दै यहाँका धेरै महिलाले घुम्टो ओढ्न छोडेका छन्।
आफ्नी बुहारी र श्रीमतीमाथि कसैले नजर नलगाउन् भनेर थालिएको घुम्टो प्रथा संस्कारकै रुपमा रहेको छ।

पहिलो सन्तान नजन्माउदासम्म घरभित्रै पनि घुम्टो हाल्नुपर्छ। सन्तान जन्माएका महिलाले परपुरुषका अगाडि मुख देखाउन पाउँदैनन्। उनी सासु हुने बेलासम्म महिलामा यौन आकर्षण र सन्तान उत्पादन शक्ति नहुने भएकाले बुढेशकालमा मात्रै महिलालाई अनुहार देखाउन छुट हुन्छ।

रुपन्देहीलगायत तराई क्षेत्रका मधेशी समुदायका महिलामा अझैपनि घुम्टो प्रथा छ। यहाँका मर्चवारका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारुलगायतका जातिमा महिलाले घुम्टो ओढ्ने चलन छ । पछिल्लो समयमा शिक्षित र सहरिया परिवारमा केही हटे पनि अधिकांश ग्रामीण भेगमा घुम्टोप्रथा उस्तै छ।’महिलाको सबैभन्दा आकर्षण अनुहारमा हुने भएकाले अनुहार देखेरै हुनसक्ने पुरुषको यौन शोषण रोक्न घुम्टो लगाइएको हो।’ धनकुमारी सुनाउँछिन् ‘यो कुनै संस्कार होइन।’ तराईको गर्मी यसैमाथि अनुहार छोप्ने घुम्टो महिलाकालागि श्राप जस्तै बनेको उनले बताइन्। ‘लाज छोप्न भन्दै मुख ढाक्न लगाउने तर घरमा शौचालय नबनाई तिनै महिलालाई खुला ठाउँमा दिसापिसाव गर्न वाध्य बनाउने चलन संस्कार हुन सक्दैन।’

धनकुमारी भन्छिन् ‘यसैले घुम्टो विरोधी अभियान फैलाउँदै छौं।’ घुम्टोविरुद्ध मधेशी समुदायकै विजयलक्ष्मी राय, निर्मला नाऊलगायतका महिला अहिले खुलेरै लागेका छन्। ‘आफ्नो समस्या आफैबाट समाधान गर्न सुरु गर्दा त्यसको प्रभाव राम्रो पर्दोरहेछ।’ अधिकारकर्मी विजयलक्ष्मी राय भन्छिन् ‘सुरुवातमा नराम्रो संस्कारलाई पनि राम्रो हो भन्ने अहिले कुसंस्कार भनेर बुझ्न थालेका छन्।’

महिला तथा बालबालिका कार्यालय रुपन्देहीका अनुसार पछिल्लो समयमा रुपन्देहीमा विधवाले रातो लुगा लगाउनु हुँदैन भन्ने समाजमा आफ्नै घरबाट रातो लुगा लगाइदिने, एकल महिलाको दोस्रो विहे गरिदिने, मुस्लिम पतिले मुखले तीन पटक तलाक भनेपनि पत्नीको सम्बन्ध विच्छेद नगराइदिने, महिनावारी हुँदा बार्ने चलन हटाउने, महिलाबाटै पूजापाठमा प्रवचन गराउने जस्ता काम सुरु भएका छन्।

प्रकाशित मितिः २०७२ असार ८ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: