ईश्वरी जी.एम.
रोल्पा, असार ८। रोल्पामा जग्गा धनी महिलाको संख्या बढ्दै गएको पाईएको छ। महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्क नगरपालिकामा २५ प्रतिशत र गाविसमा ३० प्रतिशत राजस्वमा छुट दिन थालेपछि रोल्पामा जग्गा धनी महिलाको संख्या बढेको मालपोत कार्यालय रोल्पाका प्रमुख कमानसिंङ थापा मगरले बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्ष २०७१/०७२ को साउनदेखि जेठ मसान्तसम्ममा जिल्लाका ३ हजार ९ सय १३ जनाले जग्गा किनबेच गरेकोमा १ हजार ४४ जना महिलाको नाममा जग्गा पास भएको छ।
यसरी महिलाका नाममा जग्गा पास गर्दा झण्डै १ वर्षको अवधिमा १६ लाख १५ हजार ४ सय ७६ रुपैयाँ राजस्व महिलाको नाम छुट समेत भएको छ।
२०६८ सालको जनगणना अनुसार रोल्पामा जम्मा २ लाख २४ हजार ५ सय जनसंख्या मध्ये महिलाको संख्या १ लाख २४ हजार ४ सय ६ छ भने पुरुषको संख्या १ लाख ३१ हजार छ। तर, जिल्ला मालपोत कार्यालय रोल्पाको तथ्याङ्क अनुसार हालसम्म रोल्पामा ६० हजार ४ सय ७२ पुरुष जग्गा धनी छन् भने महिला जग्गा धनी संख्या जम्मा ९ हजार ६ सय ८२ जना रहेका छन्। राजस्व छल्न र विदेशमा श्रीमान भएका श्रीमतीले जग्गा किनेमा मात्र महिलाको नाममा जग्गा पास भएको हुने गरेको बताउँदै मालपोत कार्यालयका प्रमुख थापाले महिलाको अधिकारका लागि नै महिलाको नाममा जग्गा पास गरिदिने संस्कार भने अझै बस्न नसकेको बताउनुभयो।
थापाका अनुसार अहिलेपनि समाजमा घरमुली पुरुषको मृत्यु भएको खण्डमा जिल्लाका ९० प्रतिशत भन्दा बढीले उनकी श्रीमतीको नाममा जग्गा पास गर्ने गर्दछन्। तर, उनीहरूले जग्गा र अधिकारको महत्व कम बुझ्ने हुनाले आफ्नो इच्छाअनुसार जग्गा कारोबार गर्न भने पाउदैनन्। उनीहरूले छोरा र घरका अन्य पुरुषको अनुमति र निर्देशन मान्नैपर्छ।
महिला अधिकारकर्मी श्रीकुमारी रोका पितृसत्तात्मक सोचका कारण महिलाको नाममा जग्गा भए उसले बेचेर हिनामना गर्छ भन्ने मानसिकता व्यापक छ। साथै खान, लाउन, बस्न पाएकै छ किन उसकै नाममा जग्गा हुनुपर्यो भन्ने सोचाई र प्रवृत्तिकै कारण जिल्लामा जग्गा धनी महिला कम भएको हुन सक्ने उहाँ बताउनुहुन्छ।
राजस्व छल्न या जुनसुकै तरिकाले पछिल्लो समयमा महिलाको नाममा जग्गा पास हुने क्रम बढ्नु सकारात्मक भएको उहाँले बताउनुभयो। सबै घर परिवारले महिलाको पनि अधिकार छ र हुनुपर्दछ भन्ने भावनाका साथ श्रीमती, छोरी र बुहारीको नाममा जग्गा पास गरिदिने संस्कार बसाल्नु आवश्यक रहेको रोका बताउनुहुन्छ।
प्रकाशित मितिः २०७२ असार ८ गते मङ्गलवार
Comment Here!