विभेद र हिंसाको शिकार


प्रकाशित मिति :2015-06-24 10:56:10

सुशीला बुढाथोकी

काठमाडौं, बालुवाटारकी विष्णुमाया मर्हजनका दुबै खुट्टा चल्दैनन् । त्यसैले उनलाई घरका सबैले सधैं भन्ने गर्थे– “तँ केहि गर्न सक्दिनस् । तैंले पढेर के हुन्छ ? किन यताउति हिँड्नुपर्‍यो, घरमै बस् ।”

सधैं यस्ता कुरा सुनेकाले उनी आफूलाई कमजोर ठान्थिन् । दुई दाजुहरू स्कुल जाँदा पढ्ने रहर त लाग्थ्यो तर उनलाई स्कूल जान दिइएन ।
उमेर बढ्दै गएपछि उनले आफूलाई अपांग भनेर उपेक्षा गरेको पत्तो पाउन थालिन् । ‘मलाई पढाएको भए कम्तीमा एसएलसी त पास गर्ने थिएँ,’ उनले भनिन् ।

आजभोली विष्णुमाया बालुटारमा राष्ट्र बै‌‌‌‍‍‍‍‌‌‌कको ढोका छेउमा बदाम बेचेर बस्छिन् । उनले यो काम थालेको ११ वर्ष भयो । उनलाई सहयोग गर्छु भन्ने त थुप्रै आए, तर सहयोग कसैले गरेनन् । आफ्नैदाजु भाउजुले छुट्याईदिए । तर त्यसो गर्दा उनलाई खाना पकाउने खाने भाँडावर्तन केही दिएनन् । बस्नलाई एउटा कोठा दिएका छन् । त्यहि कोठामा उनले आफ्नै कमाईले खान, बस्न तथा जीवन निर्वाहलाई आवश्यक सामान जोडेर राखेकी छिन् ।

“परिवारले पाल्छ होला भनेर बसेकी भए आज म यसरी कमाएर खान सक्ने थिइन । आमाले छाडेर हिंडिन् । बुबा, दाजुहरू कसैले पनि मेरो चाहना बुझेनन् । त्यो इखले अहिले आपत परेपनि म आफ्नो समस्या आफैं समाधान गर्छु, उनीहरूलाई गुहार्दिन,” उनले भनिन् ।

दोलखा, नाथीलौरीकी सुनकुमारी खत्री आठ वर्षकी हुँदा लडेर ठुलो चोट लाग्यो । जीउ दुख्ने, घुँडा दुख्ने हुँदाहुँदै दुवै खुट्टा नचल्ने भए । पढाई पनि छुट्यो । उपचार केही लागेन । बिस्तारै घरपरिवारले पनि उनलाई वेवास्ता गर्न थाले । “परिवारले नै नहेर्दा बरु मरेको भए हुन्थ्यो जस्तो लाग्छ,”उनले भनिन् ।

गाँउमा औषधी, उपचार हुन नसकेपछि उनी तीन वर्षदेखि काठमाडौंमै बस्न थालेकी छिन् । गुजाराको लागि उनले जमलमा नाङ्लो पसल थापेकी छिन् । उपचारमा सजिलो भएपनि काठमाडौंको धुलो, धुँवाले रोगमाथि रोग थपिँदै गएको छ । उनले भनिन्, “अहिले मलाई भाईले हेरविचार गर्छ । परिवारले मलाई सक्षम बनाउनन सहयोग गरेको भए आज म यसरी उनीहरुमाथि बोझ बनेर बस्नुपर्ने थिएन ।”

disable-2अपांगको परिचयपत्र लिएपनि उनले अहिलेसम्म सरकारले दिने भत्ता पाएकी छैनन् । “आधी जीउ चल्दैन तर भत्ता दिने कुरामा गाविसका सचिव हेरौंला, बुझौंलामात्र भन्छन् । भत्ता पाए त म गाउँमै बस्थेँ,” उनले भनिन् ।

अपांगता भएका महिलालाई पढाउन र जीवन गुजारा गर्ने सीप सिकाउन परिवारले ध्यान नदिँदा उनीहरूका समस्या चुलिएका छन् । गरिव, त्यसमाथि दलित महिलालाई त बाँच्न अझ असहज हुन्छ । उनीहरू मानसिक रुपमा समेत पीडित भइरहेका छन् ।

नेपाल अपांग महिला संघकी कार्यक्रम संयोजक मीना पौडेलका अनुसार,परिवारले नै अपांगता भएका छोरीको शिक्षा तथा विवाहमा चासो नदेखाउनु अन्याय हो । “छोरा अपांग छ भने परिवारले पढाउने, विहेको लागि दौडधुप गर्छन् तर, छोरीलाई वास्तै नर्गने प्रवृति छ । समाजमा पनि अपांग महिलाले जन्माएको बच्चा अपांग नै हुन्छ, उनीहरूले पतिलाई यौन सन्तुष्टि दिन सक्दैनन्, घर स्यार्हान सक्दैनन् भन्ने ठुलो भ्रम छ । यसले महिलालाई विवाह गर्न, समाजमा स्थापित हुन र जीवन निर्वाह गर्न कठिन भएको छ,” उनले भनिन् ।

अक्षम र निष्किृय मानिएकाले अपांगता भएका महिला जिविकोपार्जनका लागि परिवारको भर पर्न बाध्य छन् । यसमाथि परिवारले अपांगता भएका महिलालाई पाल्ने नाममा घरभित्रै लुकाएर राख्छन् । यो र यस्ता विभिन्न कारणले एक्लै बस्नुपर्दा उनीहरू झन् असुरक्षित र पीडित बन्छन् । उनीहरूको यौन शोषण समेत हुने गरेको छ ।

रुपन्देही पश्चिम अमुवाकी एक महिला जन्मजात बोल्न र सुन्न सक्दैनथिन् । उनलाई आफ्नै भतिजाले आफ्ना दुई साथीसहित मिलेर बलात्कार गरेका थिए । हातको सहाराले घस्रेर हिंड्ने बझाङकी अपांग युवतीले हाडनाता पर्ने आफन्तको गर्भ बोकिन् । यौनसम्बन्ध राख्दा गर्भ बस्छ भन्ने पत्तो नपाएकी ती युवतीलाई आफन्तले विभिन्न प्रलोभनमा यौनसम्बन्ध राखेका थिए । उनी कानको उपचार गर्न जाँदा चिकित्सकले शंका लागि परिक्षण गर्दा गर्भ बसेको थाहा भयो ।

परिवारले अस्वीकार गरेका कतिपय मानसिक रुपमा अपांगता भएका महिलाहरू सडक, गल्लीमा समेत भौंतारिनुपर्छ । यस्ता महिलामाथि यौन हिंसा अत्यधिक हुन्छ । आफ्नो व्यथा पनि भन्न नसक्ने र सहयोग गर्ने कोही नहुँदा अपांग महिला धेरै पीडित हुन्छन् ।

झापा सतासीधामकी सुस्त मनस्थिती भएकी बालिकाको पेट बढ्दै गएपछि उनको गर्भ रहेको पत्ता लाग्थ्यो । वरपरका मानिसहरूले थाहा पाउँदा उनको गर्भ पाँच महिनाको भइसकेको थियो । हाल उनले  सन्तानलाई जन्म दिएकी छन् । बलात्कार भएको भनी मुद्दा चलाउन खोज्दा प्रहरीले हदम्याद गुज्रिएको भनेर उनको जाहेरी लिन मानेन ।

जर्बजस्ती वा विभिन्न बहानामा, ललाई फकाई अपांग महिलामाथि यौनदुव्र्यवहार गर्दा पनि देख्ने-सोध्ने मानिस कोही नहुने, धेरैजसो घटनामा बलात्कारी चिनजानकै मानिस हुने हुँदा यस्ता घटना कमै मात्र बाहिर आउँछन् । बलात्कार भएको ३५ दिन भित्र उजुरी दिइसक्नु व्यवस्था कानुनले गरेको छ । यो समयभित्र यस्ता महिला बलात्कृत भएको कुरा बाहिर आउँदैन । त्यसले गर्दा पीडकहरू उम्कन्छन् ।

महिला कानुन तथा विकास मञ्चकी कानुन अधिकृत सुस्मा गौतम यस्तो कानुनले बोल्न नसक्ने र बौद्धिक अपांगता भएका महिला अन्यायमा परेको बताउँछिन् । “यस्ता कतिपय महिलालाई आफूमाथि यौन हिंसा भइरहेको छ, भन्ने नै थाहा हुँदैन । उनीहरूले उजुरी गर्ने भन्ने त निकै टाढाको कुरा हो । यस्ता मुद्धामा अदालत पनि संवेदनशील देखिन्छ, तर धेरैजसो घटना बाहिर आउन सक्दैनन्,”उनले भनिन् ।

नेपाल अपांग महिला संघकी कोषाध्यक्ष अनिता घिमिरे महिला भएकैले अपांगता भएका धेरै महिलामाथि भेदभाव र यौनहिंसा भएको बताउँछिन् । उनी भन्छिन्, “अरु त अरु अपांगता भएका व्यक्तिले राज्यबाट पाउने सहुलियतमा समेत लैङ्गिक विभेद हुने गरेको छ । यस्ता विभेद हटाउन परिवार र समाजको ठुलो भूमिका भएकोले सबैले यस विषयलाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।”

प्रकाशित मिति : २०७२ असार ९ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: