रमला सिंगक
सुनसरी, असार ९ । दृष्टिविहिनले अध्ययन गर्ने धरानको पुर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई विराटनगर मारवाडी महिला मञ्चले ब्रेलर टाइप सहयोग गरेको छ । विराटनगर मारवाडी महिला मञ्चका अध्यक्ष सन्तोष लाखोटिया र योगी विकासानन्दले प्रधान अध्यापक केशरी थापालाई हस्तान्तरण गर्नु भएको थियो ।
विद्यालय आफै चन्दा र मुठिदानमा चलेको र ब्रेलर महंगो पर्ने भएकाले किन्न नसकिरहेका बेला गोयल दम्पती र विराटनगर मारवाडी महिला मञ्चले उपलव्ध गराएकोमा थापाले आभार व्यक्त गर्नुभयो । ज्ञानचक्षु विद्यालयमा अहिले १२ जिल्लाका सय जना दृष्टिविहिन बालबालिका १ देखि १० कक्षासम्म आवासीय रुपमा अध्ययरत छन् ।
प्रधान अध्यापक थापाले भन्नुभयो–‘सरकारले ३२ जना विद्यार्थीलाई मात्र मुश्कीलले आवास र ब्रेल लिपिका पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । तर, सयजना विद्यार्थी भएकाले बाँकी ६८ जना दृष्टिबिहीन विद्यार्थीलाई पुस्तक उपलव्ध हुँदैन । उनीहरूका लागि ब्रेलर टाइपले पुस्तक उत्पादन गर्न सकिन्छ ।’
विद्यार्थीलाई मुठ्ठिदान, चन्दा, विद्यालयका पदाधिकारी र उनीहरूले चिनेजानेका व्यक्तिलाई आग्रह गरेर पुस्तक, लत्ताकपडा, खानेबस्ने आदिको प्रायोजन गर्न गरिएको अनुरोधको भरमा अध्ययन अध्यापन गरिरहेको थापाले बताउनु भयो ।
उहाले भन्नुभयो– ‘यस्ता ब्रेलर टाइप दुई चारवटा कसैले उपलव्ध गराईदिए प्लस टु अध्ययनरत विद्यार्थीका लागि पनि ब्रेलर टाइपको सहयोगले ब्रेल लिपिमै पाठ्य पुस्तक तयार गर्न सकिन्थ्यो ।’ यसपटकको एसएलसीमा ६ जना छात्रा सहित नौ जना प्रथम श्रेणी उतिर्ण भएका छन् ।
प्रकाशित मितिः २०७२ असार ९ गते बुधवार
Comment Here!