प्रहरीले जहाँ भेट्यो त्यही नाँच भन्छ
मनाेरञ्जन क्षेत्रकाे कामकाे पहिचान भएन
हामीले दोहोरी साँझ र डान्स वारमा काम गर्छौ भन्ने प्रमाण पेश गर्न प्रहरीलाई जहाँ भेट्यो त्यही नाचेर देखाउनुपर्छ।’
साधना विश्वकर्मा
काठमाडौं, असार १०। दोहोरी साँझमा गीत गाउने दोलखाकी २१ वर्षीया नीमा के.सी पेशा चिनाउने परिचयपत्र र नियुक्तिपत्र नहुँदा पटक पटक प्रहरीको नियन्त्रणमा परिन्। ड्युटी सकेर राती घर फर्कंदा प्रहरीले निकै दुःखदिने गरेका उनको गुनासो छ। उनी भन्छिन्—’विहानदेखि अवेर रातीसम्म काम गर्नुपर्छ, घर फर्किदा रेष्टुरेण्टमा काम गर्छु भन्ने बित्तिकै प्रहरीले असाध्य दुःख दिन्छन् ।
हामी दोहोरी साँझ र डान्स वारमा काम गर्छौ भन्ने प्रमाण पेश गर्न प्रहरीले जहाँ भेट्यो त्यही नाच भन्छन्।’ उनीहरूले गर्ने काम र पारिश्रमिकदेखि नियुक्तिपत्र तथा परिचयपत्र समेत नहुँदा उनीहरू सुरक्षा दिने प्रहरीहरू वाटै गलत शब्दहरू खेप्न बाध्य छन्।
सानैदेखि गाउन सौखिन नीमाले ग्राहकले गर्ने दुर्व्यवहारका बारेमा मालिकसँग कुरा राख्दा मालिकले कामबाट निकालिदिए। तर, आँफूमाथि भएको अन्यायका बारेमा उजुरी गर्न उनीसँग न परिचयपत्र छ न नियुक्ति पत्र नै।
सानै छँदा वुवा वितेपछि आमासँगै काठमाडौं आएकी उनले सुरुमा सुन्धाराको लालुपाते दाहोरी साँझमा पाँचसय रुपैयाँमा काम गर्न थालिन्। ‘गाँउघरमा चुरोट, जाँड रक्सी खाने मान्छेको नजिक जान पनि घृणा लाग्थ्यो। तर, अहिले उनले काम गर्ने ठाउँमा यीनै मान्छेहरूसँग दिनदिनै गर्नुपर्ने व्यवहारबाट उनी आजित भईन। उनले भनिन्— ‘जाँड रक्सी खाएर नजिकिएको मलाई मन परेन। मैल यो कुरा मालिकलाई भनेपछि काम गरेको ज्याला नदिईकनै कामबाट मलाइ निकालियो।’
आमा एक्लैले कमाएको पैसाले परिवारको खर्च नटरेपछि नीमाले काम गर्नुपर्ने वाध्यता आएको हो। ‘अरु काममा शैक्षिक योग्यता चाहिने तर यो पेसामा शैक्षिक योग्यताको प्रमाणपत्र नचाहिने हुनाले मैले रोष्टुरेण्टमा गीत गाउन थालेँ।’
‘यो पेसामा न काम गरेको उचित पारिश्रमिक छ नत आफूलाई चिनाउने परिचय पत्र, कतै उजुरी गर्न जाँउ काम गरेको प्रमाणपत्र माग्छ। कानुन प्रशस्त छन् तर हाम्रो लागि न्याय कहाँ खै?’ उनको प्रश्न छ।
धनुषाकी १८ वर्षीया विष्णुमाया चापागाँई पनि सानैदेखि नाचगानमा सौखिन थिईन्। मनोरञ्जन क्षेत्रप्रतिको रुचीले गर्दा सुरुमा उनले एउटा डान्सबारमा प्राविधिकको रुपमा काम गरिन्। डान्सबारमा काम गर्न थालेपछि छिमेकीले उनको बारेमा अनेकथरी कुरा काट्न थाले।
‘समाजले मलाई वेश्या केटी भनेर परिभाषित गर्यो। काम गर्ने ठाँउवाट ग्राहकलाई खुसी पार्न मालिकले दिएको निर्देशन नमान्दा कामबाट निकालिएँ। कतै उजुरी गर्न गयो प्रमाण खोज्छ। के हाम्रो श्रमको मुल्य छैन यो देशमा अनि हामीले न्याय पाउँदैनौ?’ उनले आक्रोस पोखिन्।
कैलालीकी विष्णु थापा मगर त्यहीको एक विद्यालयकी नृत्य शिक्षिका थिइन्। यो भन्दा राम्रो काम पाउने अपेक्षासहित काठमाडौं आएकी उनी एउटा डान्सबारमा काम गर्न थालिन्। तर, ग्राहकलाई खुसी पार्न नसको भन्दै मालिकले उनलाई चार महिनाको तलब नै नदिई कामबाट निकालिदियो।
दोहाेरीसाँझहरूमा काम गर्दा आफ्नो जिम्मेवारी अनुसारको क्षमतालाई भन्दा पनि ‘ग्राहकलाई खुसी पार्नुपर्ने’ जस्ता गतिविधिलाई प्रोत्साहन दिईने र आफूले यस्ता गतिविधि मन नपराउने हुनाले पटक पटक काम गर्ने ठाउँबाटबाट निकालिनु परेको उनले बताईन्।
मनोरञ्जन क्षेत्रमा देशभर झण्डै ६० हजार महिला काम गर्ने महिलाका निम्ति महिला मञ्चका अध्यक्ष सिर्जना पुनले जानकारी दिईन्। उनका अनुसार यो क्षेत्रमा काम गर्ने अधिकाशं महिलाको समस्या उस्तै छ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाकी पुर्णिमा चन्द सबै प्रहरी गलत नहुने बताउँछिन्। उनी भन्छिन्—’प्रहरी पनि त्यही समाजबाटै आएको हुनाले उनीहरूमा पनि त्यो प्रवृत्ति देखिनु भन्दापनि सेवा प्रवेशपछि उनीहरूलाई दिईएको तालिमपछि उनीहरूमा के परिवर्तन आयो भन्ने कुरा महत्वपुर्ण हुन्छ।’
संगठनमा भएका यस्ता प्रबृत्ति सुधार्न आफूले सक्दो पहल गर्ने बचन उनले दिइन्। पीडित महिला प्रहरी नियन्त्रणमा भैरहेकै बेला पनि नेपाल प्रहरी कै १०० मा फोन गरेर आफ्नो समस्या राखेमा दुःख दिने प्रहरीलाई कार्वाही गरिने उनले बताईन्।
श्रम कार्यालयकी शान्ति शर्माले उनीहरूलाई परेको समस्याको प्रमाण विना आफूहरूलाई कार्वाही गर्ने अधिकार नभएको बताउँछिन्।
तर, महिलाका निम्ति महिला मञ्चकी अध्यक्ष सिर्जना पुन अधिकार नभएको भन्दै पन्छिने प्रबृत्तिले धेरै महिला न्याय पाउनबाट बन्चित भईरहेको बताउँछिन् ।
यहाँ उल्लेख गरिएका सवै पात्रको नाम परिवर्तन गरिएको छ।
प्रकाशित मितिः २०७२ असार १० गते बिहीवार
Comment Here!