छोरा जन्मने कि छोरी भन्ने कुरा पुरुषको क्रोमोजममा भर पर्छ । तर, ओखलढुङ्गा जिल्लामा हिजो आज पनि ‘छोरी मात्रै पाएको’ भनेर अर्को विवाह गर्ने पुरुष कति छन् कति ।
धनु राई
‘मेरो श्रीमानले मैले छोरा नजन्माई दिएकोले दोस्रो विवाह गरेका हुन्’, ओखलढुङगा वरुणेश्वर ४ की गीतादेवी कार्कीले दुखेसो पोखिन् । न्युन आए भएका कार्कीका श्रीमान घर खर्च जुटाउन र ऋण तिर्न भनेर घर सल्लाह मै ६ वर्ष अघि कामको खोजीमा हिँडेका थिए । एक वर्ष अघि उनले गीतालाई फोन गरेर आफूले दोस्रो विवाह गरेर काठमाडौ तिरै बसेको खबर सुनाए । यो सुनेपछि उनलाई आकास खसेजत्तिकै भयो । गीताले श्रीमानलाई सोधिन् ‘म हुँदाहुँदै किन दोस्रो विवाह गर्नुभयो ?’ श्रीमानको जवाफ थियो, ‘तैले छोरा जन्माइनस, कान्छी ल्याएँ ।’
कार्कीका ३ छोरी छन् । एउटी अपाङ्ग छन् । श्रीमानले दोस्रो विवाह गरेपछि वृद्ध ससुरा र छोरीको जिम्मेवारी गीताको थाप्लोमा छ । श्रीमान विरामी परी उपचार गर्दा लागेको ऋण समेत उनले तिरीेसकेकी छैनन् । लगातार ४ वर्ष विरामी परि थलिएपछि उनको उपचार ओखलढुङगा कै सामुदायिक अस्पताल सोबु्रमा गरिएको थियो । निको भएपछि श्रीमानले कमाउलान र ऋण तिराैँला, छोरीहरूलाई राम्रो शिक्षा दिउला भन्ने सोचाइमा रहेकी गीतालाई श्रीमानले दोस्रो विहे गरेको सुनेपछि बज्रपात भएको छ । उनी अत्तालिएकी छन् । ‘काम नगरे विहान वेलुका छाक टार्न मुस्कील छ । भएको जग्गा पनि वेचेर श्रीमानको उपचार गरियो । अहिले उनैले धोका दिए’ गीताले भनिन् । अहिले उनी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने खर्च जुटाउँदै आएकी छन् ।
कार्की भन्छिन् ‘१४ वर्षको उमेरमा विवाह भएर म यो घरमा आएँ । ३ छोरी जन्मिए । अहिले श्रीमानले दोस्रो विवाह गर्नुभयो, हाम्रो केहि वास्ता छैन । श्रीमानकै उपचार गर्न अलिअलि भएको जग्गा पनि वेचियो । उहाँ निको हुनुभयो तर, मलाई चांही जीवनभरी निको नहुने घाउ बनाइदिनु भयो ।’
यसो भन्दै गर्दा भक्कानिएकी गीताले आँसु रोक्न सकिनन् । उनले भनिन् ‘मेरा श्रीमानको मन कति कठोर रैछ । विरामी परेर थलिँदा मैले उहाँको कति सेवा गरे, रातदिन खाईनखाई, भोकभोकै नसुति अस्पतालमा कुरें । तर, ती सवै गुण बिर्सेर मलाई यो हातलमा छाडिदिनुभो । छोरा नजन्माएको भनेर ।’
सिद्धिचरण नगरपालिकाकी ५० वर्षीया कमला राईले पनि छोरा नजन्माएकै कारण श्रीमानबाट जीवनभर मानसिक तथा शारीरिक यातना सहनुपर्यो । उनका ५ छोरी छन् । ‘जतिपटक छोरी जन्मे श्रीमानको म माथिको यातना झन् झन् कठोर हुँदै गयो’ उनले भनिन्, । साइली छोरी जन्मिएपछि कमलामाथि कुटपीट सुरु भएको थियो । भन्छिन, ‘तीनवटी छोरी भइसकेपछि कति कुटाइ खाँए, भनिसाध्य छैन । सुत्केरी भएर कुना मै बस्दा श्रीमानले कति कुटनु भो कति । दालभात को त कुरै छैन । मलाई १० दिनकी नानीसहित घरबाट खेद्ने गर्नुहुन्थ्यो, मेरा कति दिन र रात बारीका कान्लातिरै बितेका छन् ।’
सिद्धिचरण नगरपालिकाकै ललिता राईले पनि छोराको पर्खाइमा ४ छोरी जन्माइन् । पाँचौ पटकमा छोरा जन्माएकी उनी श्रीमानको दवावका कारण जोखिम मोलेरै वच्चा जन्माउन बाध्य भएको बताउँछिन् । उनी भन्छिन्, ‘छोराको आशामा पटक पटक छोरीे जन्मिँदा श्रीमानको अनुहार रिसले रातो हुन्थ्यो, गाली सुनिसाध्य हुँदैनथ्यो ।’
यसैगरी ओखलढुंगा दियाले गाविसका ४६ वर्षीय एक पुरुषले छोरा कै लागि श्रीमतीलाई ९ सन्तानकी आमा वन्न वाध्य वनाए । उनको एक छोरा १० महिना कै उमेरमा मरेको, अर्को एक छोरा अपाङग भएको र ६ जना छोरी हुँदाहुँदै उनले छोरा जन्माइन् । नवौं सन्तानमा छोरा जन्माएपछि उनको स्वास्थ्य निकै जिर्ण भयो । लामो उपचारपछि अहिले उनी जेनतेन खुट्टा टेक्न सक्ने भएकी छन् ।
छोरी जन्माएका महिलालाई घरपरिवारले मात्रै पीडा दिने होइन, समाजले पनि त्यो परिवारलाई होच्याउने, हेला गर्ने हुनाले छोरा जन्माउन महिला माथि परिवारको दबाब परिरहेको हुन्छ । सिद्धिचरण नगरपालिकाकी आशा राईका उनीसहित ४ दिदी वहिनी छन् । साईली आशा भन्छिन्, ‘समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन हुनु आवश्यक छ ।’
सोलुखुम्बु वतासे गाविसकी अनमी लक्ष्मी राईका श्रीमानलाई पनि छोरा चाहिएको छ । लक्ष्मीले, ४ छोरी जन्मिसके अव त वच्चा नजन्माउँदा हुन्न भन्दा बुढेसकालमा हाम्रो हेरचाह कस्ले गर्छ ? एउटा छोरा त चाहिन्छ भन्छन् उनी । लक्ष्मी भन्छिन, ‘अनमी भएर पनि लगातार वच्चा जन्माउनु पर्दा म आफैलाई समाजका अगाडी लाज लागेको छ ।’
धेरै वच्चा जन्माउँदा महिलाको प्रजनन स्वास्थ्यमा समस्या हुन्छ । त्यसमाथि उनीहरु मानसिक रुपमा समेत कमजोर हुने स्वास्थ्यकर्मी जैसरि राई बताउछिन् । धेरै र निरन्तर वच्चा जन्माएकै कारण पाठेघर खस्ने, शारीरिक तथा मानसिक पीडाले थुप्रै महिलाले अकालमै ज्यान गुमाउनु परेको राईको भनाइ छ ।
नेकपा एमाले ओखलढुङगाका सभासद सकुन्तला राजभण्डारी, ‘बुवाको छोराको चाहना पुरा गर्न आफ्नी आमाले ७ छोरी जन्माएको’ बताउँछिन् । राजभण्डारी भन्छिन्, ‘७ छोरीपछि २ छोरा जन्मेकाले मेरी आमाले थप वच्चा जन्माउन नपरेको हो ।’
अन्तरपार्टी महिला सन्जालका सचिव पेमडोमा शेर्पाका अनुसार, ‘श्रीमानले छोड्ने, दोस्रो विवाह गर्ने, खान लाउन नदिने र नागरिकता नबनाइदिने डरले महिलामा छोरा जन्माउनुपर्छ भन्ने दवाव पर्नेगर्छ ।’
महिला तथा वालवालिका कार्यालयका महिला अधिकृत प्रवला श्रेष्ठले छोरा नजन्माएको कारण महिलाहरु हिंसामा परेको बताइन । उनका भनाइमा, यस्तो निवेदन कार्यालय नपरे पनि छोरा नजन्माएको निहुँमा कुटपिट गर्ने ,दोस्रो विवाह गर्ने गरेका घटना धेरै सुन्नमा आउँछन् । महिला तथा वालवालिका कार्यालय ओखलढुंगामा आर्थिक वर्ष २०७०÷०७१ मा २५ वटा महिला हिंसाका निवेदन परेका थिए । २०७१÷०७२ को हालसम्म ४० वटा हिंसाका निवेदन परेको कार्यालयले जनाएको छ ।
ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर केशव शर्मा, छोरा या छोरी के जन्माउने भन्ने कुरामा महिला दोषी नभएको बताउँछन् । ‘यो त पुरुषमा हुने क्रोमोजममा भर पर्छ’ उनी भन्छन्, ‘छोरा नपाएको दोष महिलालाई दिएर हिंसा गर्नु गम्भिर अपराध हो ।’
प्रकाशित मिति: २०७२ असार ११ गते शुक्रवार
Comment Here!