टयाक्सी चालक बन्न काठमाडौमा महिला धमाधम तालिम लिदै छन् ।
कविता थापा
काठमाडौंं, असार १३ । सिन्धुपाल्चोककी पदमकुमारी श्रेष्ठलाई अहिले ट्याक्सी चलाउन सिकिरहेकी छन् । भूकम्पले घर भत्केको र खेती गर्ने जमीन चिरा परेपछि उनले जिविकोपार्जनका लागि टयाक्सी चलाउन खोजेकी छन् । आफूले किन्न नसकेपनि भाडामा लिएर ट्याक्सी चलाउने उनको योजना छ ।
काभे्रकी रीता कंडेल पनि टयाक्सी चलाउन सिकिरहेकी छन् । रीता भन्छिन, ‘अहिलेसम्म महिलाले ठूला वस, ट्याम्पो चलाएका समाचार सुनेपनि ट्याक्सी चलाएको सुनेकी छैन, अब म चलाउँछु टयाक्सी ।’ आर्थिक रुपमा सक्षम भए आत्मविश्वास बढ्ने भएकाले अब घर बाहिरको काममा लाग्ने सोचाइ आएको रीताको भनाइ छ ।
स्नातक तह पढ्दै गरेकी रीताले तालिमको पहिलो दिन गाडीको स्टेयरिङ्ग समाउँदा केही डर लागेपनि अहिले आत्मविश्वास बढ्दै गएको बताइन ।
पदमकुमारी र रीता जस्ता १५ जना महिला अहिले ट्याक्सीे चलाउन सिक्दैछन् । ड्राइभिङ्लाई आफ्नो पेसा बनाएर अगाडी बढ्न चाहने ती महिलाले यो सीपले आफ्नो खुट्टामा उभिन सहयोग पु-याउनेछ भन्ने सोचेका छन् ।
संविधानसभा सदस्य रामेश्वर फुयालको पचास हजार रुपैयाँ आर्थिक सहयोगमा ओजस्वी नेपाल नामक गैह्रसरकारी संस्थाले महिलाका लागि ट्याक्सी चलाउने तालिम आयोजना गरेको हो ।
प्रशिक्षक बिमल आचार्यले सुरुमा स्टेयरिङ्ग, क्लज, ब्रेक, एक्सिलेटर जस्ता प्राविधिक शव्द जान्न केही कठिन भएपनि अहिले उनीहरुले यसलाई सहज रुपमा लिन थालेको बताए ।
ओजस्वी नेपालकी अध्यक्ष मञ्जु भट्टराई भन्छिन, सवारी चालक अनुमती पत्र पाएपछि अवसरका ढोका खुल्ने भएकाले महिलाहरु खुसी देखिन्छन् ।’
प्रकाशित मिति २०७२ असार १३ गते अाइतवार
Comment Here!