महिला खवर
म्याग्दी असार १४ । सानै उमेरमा विवाह हुँदा महिला आर्थिक, शैक्षिक तथा सामाजिकरुपमा पछाडि परेको भन्दै म्याग्दीको ग्रामीण क्षेत्रका महिलाले बालविवाहविरुद्ध अभियान चलाएका छन् ।
म्याग्दीका २० वटा गाविसमा गठन भएका युवा महिला संस्थाले गाउँ–गाउँमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्य र उनीहरूको समग्र विकासमा पारेको असरका बारेमा युवा र अभिभावकलाई सचेत बनाउन अभियान सञ्चालन गरेको बताएका छन् ।
शारीरिक र मानसिक रुपमा परिपक्व नभइ सानै उमेरमा विवाह गर्दा ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य र अन्य समस्या झेल्नुपर्ने समस्या भएकाले त्यसलाई न्यूनीकरण गर्न बालविवाह नियन्त्रण अभियानगरेको देवीस्थानको संयुक्त सशक्तीकरण युवा महिला संस्थाका अध्यक्ष ईन्द्रमति फगामीले बताउनुभयो ।
टोल–टोलमा भेला, छलफल र व्यक्तिगतरुपमा भेटेर सानै उमेरमा विवाह नगर्न सल्लाह सुझाव दिने गरिएको उहाँले बताउनुभयो । सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा महिलाको स्वास्थ्य जोखिममा पर्नुका साथै शैक्षिक, सामाजिक र आर्थिक रुपमा पछाडि परेका देवीस्थानकी महिला अगुवा पिपला बुढाथोकीको भनाइ छ । उनीहरू कै अगुवाइमा जिल्लाका पाँच वटा बालविवाह रोकिएका छन् ।
बालविवाहमात्रै नभइ युवा महिला संस्थाले घरभित्र हुने लैङ्गिक विभेद्, घरेलु हिंसा, महिला अधिकारको सवालमा छलफल, अन्तर्किया र सरसफाइ अभियान पनि सञ्चालन गरेका छन् ।
म्याग्दीका बाबियाचौर, अर्मन, दरवाङ, ताकम, निस्कोट, देवीस्थानलगायत २० वटा गाविसमा गठन भएका युवा महिला संस्थामा आबद्ध महिला सहकारीमा आबद्ध भई ऋण लिएर आयआर्जनतर्फ समेत अग्रसर भएका छन् ।
Comment Here!