महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणमा बजेट बढाउन माग


प्रकाशित मिति :2015-06-29 15:30:48

महिला खबर

काठमाडौँ, असार १४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणका लागि सरकारले बजेट बढाउनुपर्ने सुझाव सभासद्ले दिएका छन् ।
व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आजको बैठकमा सभासद्हरूले भएको बजेट समयमा खर्च नहुने र सञ्चालित कार्यक्रम अनुगमन नहुँदा उनीहरूका लागि आएका कार्यक्रम प्रभावकारी  हुन नसकेको बताए ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको चालु बजेटको कार्यान्वयन अवस्था र आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धी  भएको छलफलमा  बोल्ने अधिकांश सभासद्ले मुलुकभर सञ्चालित बालगृह र वृद्धाश्रमको सुधार तथा अनुगमन कमजोर भएको बताए ।

उनीहरूले बालबालिकाको संरक्षण र हेरचाह गर्ने नाममा कतिपय गैरसरकारी संस्था र धर्मका नाममा मठमन्दिर र गिर्जाघरमा बालबालिकामाथि शोषण भइरहेको भन्दै यसलाई नियन्त्रण गर्ने कानुन बनाउन मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

सभासद् बद्री पाण्डेले गैरसरकारी संस्थासँग समन्वय नहुँदा विकृति बढेको तथा बालबालिकालाई धर्मका नाममा विभिन्न मठमन्दिर र गिर्जाघरमा  राखी उनीहरूको बाल अधिकार छिन्ने काम भइरहेको बताउनुभयो ।

सभासद् रामहरि सुवेदीले बालबालिकाको प्रभावकारी संरक्षणका लागि बाल राष्ट्रिय आयोग गठन गरिनुपर्नेमा जोड दिनुभयो ।

सभासद् अनुराधा थापामगरले महिला र बालबालिका बेचबिखन नियन्त्रण गर्न खुला सीमा व्यवस्थापन गरिनुपर्ने र ज्येष्ठ नागरिकलाई निर्वाहमुखी भत्ताको व्यवस्था गरिनुपर्ने  सुझाव दिनुभयो ।

त्यस्तै सभासद्हरु यशोदा लामा, आशा कोइराला, आनन्दी पन्थी, रत्नादेवी गुरुङलगायतले बालबालिकाका नाममा खुलेका संस्थाको प्रभावकारी अनुगमन गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

बैठकमा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बालबालिका संरक्षण गर्ने सञ्जाल ७५ वटै जिल्लामा भएपनि  कम बजेट हुँदा प्रभावकारी कार्यक्रम लैजान नसकिएको गुनासो गर्नुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले ज्येष्ठ नागरिकको भत्ता व्यवस्थापन गर्न तथा दाइजो, बालबालिका र बहुविवाहसम्बन्धी कानुन बनाउन मन्त्रालय लागिपरेको जानकारी दिनुभयो ।

मन्त्रालयकै सहसचिव राधिका अर्यालले भूकम्पपछि अति प्रभावित जिल्लामा अभिभावकविहीन बालबालिकालाई अस्थायी केन्द्र खडा गरी संरक्षण गरिएको जानकारी दिनुभयो ।

छलफलपछि  समितिका सभापति रञ्जु झाले केन्द्रीय बाल कल्याण समितिको बजेट बढाएर प्रभावकारी कार्यक्रम दुर्गम भेगसम्म पुर्‍याउन मन्त्रालय र मातहतका निकायलाई आग्रह गर्नुभयो ।

 उहाँले ज्येष्ठ नागरिकले अहिले पाइरहेको पाँच सय रुपैयाँ भत्तालाई बढाइ एक हजार रुपैयाँ बनाउन र वास्तविक पीडित ज्येष्ठ नागरिकले मात्र भत्ता पाउने कानुनी व्यवस्था गर्न पनि मन्त्रालयलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति :२०७२ असार १४ गते  साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: