महिलाले संविधान सभा घेर्ने
मस्याैदा समितिले अधिकार कटाैती गरेकाे अाराेप
महिला खबर
काठमाडौं, असार १४। संविधान मस्यौदा समितिले संविधानमा सुनिश्चित गरिएका महिलाका धेरै अधिकार कटौती गरेको भन्दै महिला नेता र अधिकारकर्मीले आज साँझ ६ बजे संविधान सभा घेराउ गर्ने भएका छन्। माइतीघरमा जम्मा भई र्यालीसहित उनीहरू संविधान सभा भवन नयाँ बानेश्वर जाने बताएका हुन्।
नयाँ बन्ने संविधानमा समान पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चितताका लागि संविधानसभा भवन बानेश्वर घेराउ गर्ने लागेको अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो।
नागरिकतामा समान अधिकार, स्थानीय निकायदेखि केन्द्रीयतहसम्म एकै प्रकारको निर्वाचन प्रणाली लागू गर्नुपर्नेलगायतका १७ बुँदे माग र संविधान लैंगिक अनुकूल बनाउन ६१ बुँदे सुझाव सहित आन्दोलन उत्रिने भएका छन्।
निती निर्माण तथा निर्णायक तहमामहिला अधिकार सुनिश्चित गर्ने कुरा नयाँ संविधानमा समाबेश नभए आन्दोलन गर्ने चेतावनी अध्यक्ष श्रेष्ठले दिनुभयो।
केन्द्रमा ३३, प्रदेशमा ४० र स्थानीय निकायमा ५० प्रतिशत महिला सहभागिता परिणाममै सुनिश्चित गर्न आन्दोलनको विकल्प नरहेको अधिकारकर्मी सपना प्रधान मल्लले बताउनुभयो। उहाँले संवैधानिक सम्वाद समितिमा सहमति भएका महिला अधिकारका धेरै मुद्दा संविधान मस्यौदा समितिले कटौती गरेकाले त्यसको विरोध र महिलाका माग संविधानमै सम्बोधन गराउन सडकमा उत्रनुपरेको बताउनुभयो।
नागरिकतामा आमा र बाबु भन्ने प्रावधानले कैंयौ बालबालिका राज्यविहीन हुने भएकाले नागरिकताको हकमा आमा वा बाबु नेपाली नागरिक रहेछन् भने निजको सन्तानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने प्रावधान संविधानमा राख्नुपर्ने अधिकारकर्मी प्रधानले स्पष्ट पार्नुभयो। तर, संविधान मस्यौदा समितिले भने नागरिकताको हकमा आमा र बाबुको प्रावधानमा सहमति गरेको उहाँको भनाइ छ।
एमाओवादी नेता हिसिला यमिले एउटा देशमा दुई थरि नागरिकताको प्रावधान हटाउनु पर्नेमा जोड दिनुभयो।
अन्तर पार्टी महिला सञ्जालको कार्यलयमा आज बसेकोे महिला नेता र महिला अधिकारकर्मीको बैठकले ६१ बुँदा सुझाव र १७ बुँदा माग राख्दै आन्दोलनमा जाने निर्णय गरेको हो। उनीहरूले सम्पूर्ण अधिकारकर्मी महिलालाई माइतीघर मण्डलामा साँझ ६ बजे उपस्थित हुन आव्हान समेत गरेका छन्।
प्रकाशित मितिः २०७२ असार १४ गते साेमवार
Comment Here!