मन्त्रीले दुर्व्यवहार गर्दा एमालेका पुरुष नेता बाेलेनन्
अभद्र व्यवहार प्रति सांसदले जवाफ मागे
महिला खबर
काठमाडौं, असार १६ । धान दिवसको मौका छोपेर कृषि मन्त्री हरिप्रसाद पराजुलीले सार्वजनिकस्थलमा महिलामाथि दुर्व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।
उनले असार १५ गते काठमाडौंको मूलपानीमा धान दिवस मनाउन गएका बेला महिलालाई जर्बजस्ती तानेर अंगालो मारेर असोभनीय, अभद्र व्यवहार गरेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल जस्तै भएका छन् ।
मन्त्रीको मूलपानी काण्डकाबारे प्रचार विभाग प्रमुख योगेस भट्टराईसँग बुझ्न खोज्दा उहाँले फोन उठाउनु भएन भने उप प्रमुख सूर्य थापाले पार्टीको आधिकारिक धारणा कुरेर बसेको जवाफ दिनुभयो ।
यसैगरी एमालेको तर्फबाट उद्योगमन्त्री बन्नुभएका महेश बस्नेलाई फोन सम्पर्क गर्दा उहाँका स्वकीय सचिव रोशन बस्नेतले मन्त्रीज्यू बैठकमा व्यस्त भएको जवाफ दिनुभयो ।
मन्त्री व्यस्त हुनुहुन्छ भने तपाईले कृषिमन्त्रीको यस्तो व्यवहारलाई के भन्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँले दुखद घटना भन्दै हाँसेर टार्नुभयो । बरु उहाँले कृषिमन्त्रीलाई सोध्न सुझाव दिँदै यसबारेमा मलाई बोल्ःन नलगाउनुस् भन्दै फोनबाट बिदा हुनुभयो ।
एमालेका पुरुष नेताले धान दिवसका दिन कृषिमन्त्री हरि पराजुलीले मूलपानीमा महिलामाथि गरेको दुव्र्यवहारबारे बोल्न नचाहेपछि हामीले यसबारेमा एमालेका केन्द्रिय सदस्य रामकुमारी झाँक्रीलाई सोध्यौं । नेता झाँक्रीले महिला खबरसँग कुरा गर्दै भन्नुभयो –‘म पनि पार्टी अध्यक्षले केपी ओलीले के गर्नुहुन्छ होला भन्दै बसेको छु । बैठक नबसेको महिनौ भैसक्यो । पार्टी अध्यक्षको एकल निर्णयबाट चलेको छ । सार्वजनिक ठाउँमा महिलामाथि यस्तो व्यवहार गर्ने मान्छे मन्त्री योग्य हो वा होइन भन्ने त अध्यक्षले भन्न सक्नुपर्छ ।’
उहाँले अगाडी थप्नु भयो –‘मेरो विचार भन्नुहुन्छ भने मन्त्रीले हिजो मूलपानीमा महिलामाथि असोभनीय व्यवहार गरेका हुन । मन्त्रीले सार्वजनिक पदको मर्यादा समेत राखेनन् । मिडियामा आएका फोटो र भिडियो हेर्दा यस्तो कुरा हाम्रो समाज त छोडौं खुल्ला भनेको पश्चिमा समाजले पनि स्वीकार गर्दैन । हाम्रो अध्यक्षले के सोचेर मन्त्री बनाउनु भो थाहा छैन ।’
अभद्र व्यवहार प्रति सांसदहरुले सरकारसंग जवाफ मागे
कृषिमन्त्री हरीप्रसाद पराजुलीले महिला माथि गरेको अभद्र व्यवहार प्रति सांसदहरुले सरकारको जवाफ मागेका छन् । धान दिवसको अवसरमा मुलपानीमा हिजो आयोजित रोपाइँ महोत्सवमा पुगेका मन्त्री पराजुलीले सहभागी महिलामाथि अभद्र व्यवहार गरेका थिए ।
बजेट छलफलका लागि आज बोलाइएको संसद बैठकमा एकीकृत माओवादीका सभासद जनार्दन शर्माले मन्त्रीको सो गतिविधी अमर्यादित भएको भन्दै सरकारले सदनलाई जवाफ दिनुपर्ने बताउनुभयो ।
यस्तै, नेपाल मजदुर किसान पार्टीकी सभासद अनुराधा थापाले मन्त्रीको आपत्तिजनक गतिविधीप्रति खेद प्रकट गर्दै मन्त्रीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
तर एमालेले मन्त्रीको बारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
प्रकाशित तस्बिरहरु सामाजिक सञ्जालबाट साभार गरिएकाे हाे ।
प्रकाशित मिति २०७२ असार १६ गते बुधवार
Comment Here!