फालिएको प्लास्टिक टिपेर कलात्मक सामग्री बनाउने सोलुखुम्बुका महिलाले ‘गरे के हुदैन ?’ भन्ने देखाएका छन् । तर, सहयोगी हातको अभावले यो रचनात्मक अभियानको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ ।
हरिजंग थापा
सोलुखुम्बु । मुक्लिकी ६५ वर्षीया चन्द्रकुमारी राई, फुर्सद हुने बित्तिकै गुन्द्री बुन्न बसिहाल्छिन् । बुढेशकालले छोप्दै जाँदा फुर्सदको समय लम्बिँदै गएको छ । यो फुर्सदलाई व्यस्ततामा बदल्न उमेरैमा सिकेको सीप उनको लागि सहयोगी बनेको छ । उनी भन्छिन्, ‘सुतेरै बसौँ उठ्न नसक्ने, काम गरौँ हात पाखुरी लुला भइगए, त्यसैले सुकुल, गुन्द्री बुन्छु बस्छु । धेरै बल पनि नपर्ने, पहिल्यै सिकेको सीप आँखा कम देखे पनि सजिलै लाग्छ ।’
सीप उही भएपनि सामग्री भने फेरिएको छ । परालको गुन्द्री बुन्दै आएकी उनले अहिले भने प्लाष्टिकको गुन्द्री बुन्छिन् । यही कारण सामग्रीको कलात्मकता केहि बदलिएको छ । खोस्टा र परालको सट्टा खेर जाने प्लाष्टिक प्रयोग गर्न थालेपछि सुकुल, गुन्द्रीलगायतका सामग्री रङ्गीन बन्न थालेका छन् । आफूले बनाएको सुकुल देखाउँदै उनले भनिन् ‘हेर्दा पनि राम्रो, बलियो पनि उत्तिकै हुन्छ, त्यसैले अहिले यहि सजिलो लाग्छ ।’ पहिले मुक्ली गाविसका स्थानीय प्लाष्टिक जथाभावी फाल्ने गर्थे । तर, अहिले खेर जाने प्लाष्टिकको खोलको महत्व बुझेका छन् ।
वि.सं २०६८ सालमा मुक्लिमा स्थापना भएको सगरमाथा साना किसान महिला कृषि सहकारी संस्थाबाट यो काम सुरु भएको हो । संस्थामा कुर्सी किन्ने पैसा नभएपछि उनीहरूले नयाँ जुक्ति निकाले । संस्थाकी सहसचिव कैलाशकुमारी राईले कोठा भरिको ठूलो गुन्द्री बुन्ने प्रस्ताव बैठकमा गरिन् । टेबल, कुर्सीभन्दा सस्तो, बैठक बस्न पनि सजिलो अनि उस्तै बलियो, सबै सदस्यले उनको प्रस्तावमा साथ दिए । खेर जाने प्लाष्टिक गुन्द्री बुन्न उपयोग गर्ने रचनात्मक सोच उनैले अघि सारेकी थिइन् । यसले गर्दा कार्यालय वरिपरी फालिएका प्लाष्टिकको पनि उचित व्यवस्थापन हुने । राई भन्छिन् ‘कार्यालय वरपरको प्लाष्टिक संकलन गर्याैँ, कोठा भरीको सुकुल बुन्यौँ, सबैले कामको प्रशंसा गरे, त्यसैले फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बुन्न थप हौसला मिल्यो ।’ आधुनिक कुर्सीभन्दा आफ्नो सीप खर्चिएको सुकुलमा बैठक बस्नुको आनन्दै भिन्न हुने उनी बताउँछिन् ।
वातावरणप्रति स्थानीयलाई सचेत गराउन संस्थाले सफाई अभियान पनि चलायो । सरसफाईका क्रममा संकलन गरिएको फोहोरबाट काम लाग्ने प्लाष्टिक छाने र काम नलाग्नेलाई नष्ट गरे । यो अभियानले गुन्द्री बुन्न आवश्यक प्लाष्टिक पनि संकलन भयो, वातावरण सफा र त्यससम्बन्धि जनचेतना केहि हदसम्म बढ्यो । अभियानबाट संकलित प्लाष्टिकबाट उनै सुकुल बुन्न सिपालु चन्द्रकलालाई गुन्द्री बुन्ने जिम्मा दिइयो । यो जिम्मेवारीले चन्द्रकलाका लागि पनि खेर जाने प्लाष्टिकको महत्व बुझ्ने मौका बन्यो ।
चाउचाउ, विस्कुट, तेल, नुनलगायतका प्लाष्टिकका खोल राम्रा अनी रंगीन हुन्छन् । तर, त्यसलाई जहाँ पायो त्यहि मिल्काउँदा बाटो विरुप हुन्छ । वर्षौँ नकुहिने प्लाष्टिकले हाम्रो बाँच्ने आधार माटोलाई कमजोर बनाईदिन्छ । र्याकमा सजाएर राखिएका सामग्री देखाउँदै मुक्लि ६ कै दिलकुमारी राईले भनिन्, ‘यस्तो वर्षौँ नगल्ने प्लाष्टिकको सदुपयोग गर्ने सीप भए बलियो मात्र होइन सुन्दर सजाउने सामग्री बन्दो रहेछ, वातावरण सफा राख्नपनि मद्दत मिल्यो ।’ त्यसैले यस्तो सीप सबै गाउँका स्थानीयलाई सिकाउन सके वातावरण सफा हुनुका साथै फोहोरबाट सजावटको सामग्री बनेर घरको शोभा बढाउन सहयोगी हुने उनी वताउँछिन् ।
महिला विकास कार्यालय सोलुखुम्बुलगायत अन्य संस्थाको सहयोगमा २५ जनालाई उक्त सीप सिकाइएको छ । सीप सिकेपछि महिलाले खेरजाने प्लाष्टिकबाट घरमै बसीबसी उपयोगी सामान बनाउन थालेका छन् । घरायसी प्रयोगका लागि सुकुल, गुन्द्री र डोरी आफैँले बुन्न जानेपछि किन्न जानुपर्ने बाध्यता टरेको छ । खेर जाने प्लाष्टिकबाट गाई, बाख्रा र अन्य चौपाया बाँध्ने दाम्लो बनाउन सकिने भएकाले त्यसका लागि हुने खर्च बचेको छ ।
तालिमपछि मुक्लि चस्पुकी पुष्पवती राई पनि खेर जाने प्लाष्टिकबाट घरका लागि आवश्यक सामग्री बनाउन थालेकी छन् । वीरेन्द्रद्धय उच्च माध्यमिक विद्यालय मुक्लिसँगै होटल र पसल सञ्चालन गरेर बसेकाले पनि उनलाई प्लाष्टिकको अभाव हुँदैन । विद्यार्थीले चाउचाउ, विस्कुट खाइसकेपछि खोल पसलबाहिर प्लाष्टिक संकलनका लागि राखिएको कार्टुनमा राखिदिन्छन् । सयवटा प्लाष्टिक बुझाएवापत सगरमाथा साना किसान महिला कृषि सहकारीसंस्थाले २५ रुपैँया दिन्छ । ‘त्यसैले कतिले झोलामै राखेर प्लाष्टिक घर लैजाने गरेका छन्’ उनले भनिन् । प्लाष्टिक संकलन भएपछि दिउँसभरी पसलमा व्यस्त हुने पुष्पवतीले राति सुत्ने बेलामा एकैछिन समय दिने गरेकी छन् ।
उमेरले ५० नाघेकी सञ्चीमाया राईसँग पनि खेर जाने प्लाष्टिकबाट दैनिक प्रयोगमा आउने सजावटका सामग्री बनाउने सीप छ । घरको काम नगरी हुँदैन, दुःख गरेर बनाएका सामग्री बिक्रि हुने भए पो जाँगर चल्नु ? त्यसैले फुर्सद हुँदा गाई बाख्राका लागि दाम्लो चाहिँ बनाउँछु । दाम्लो किन्ने पैसा जोगिएकोमा उनी सन्तुष्ट छन् ।
आयआर्जन बढाएर आत्मानिर्भर बन्न महिलामा सीप छ । फुर्सदको समय उपयोग गर्दा आयमुलक काम गर्न पाइएको छ । यद्यपी, महिलाको उक्त सीपलाई आयमुलक बनाउने सगरमाथा साना किसान महिला सहकारी संस्थाको प्रयास भने पूर्ण हुन सकेको छैन । महिलाले बनाएका यी सामग्रीको बजार पाए सीप भएका महिलालाई रोजगार दिने संस्थाको योजना छ । बजारबाट कुन सामग्रीको माग आउँछ, संस्थासँग आवद्ध सीप भएका महिलालाई उपयुक्त ज्याला दिएर सामान उत्पादनमा लगाउने अभियन्ता कैलाश राई बताउँछिन् ।
‘आम्दानी नहुँदा प्लाष्टिक संकलन गर्ने अभियान संकटमा पर्ने हो की भन्ने चिन्ता संस्थालाई छ । सयवटा प्लाष्टिक संकलन गरेवापत २५ रुपैँया दिनुपर्ने हुनाले संस्थालाई रकम अभाव हुन थालेका छ, तर पैसा पाइने लोभले मुक्लिका बालकदेखि वृद्धसम्मले प्लाष्टिकका खोल बटुलेर संस्थामा ल्याउने क्रम बढदो छ । ‘बजारको अभावमा सामग्री बिक्रि नहुँदा प्लाष्टिक किन्न सक्ने सम्भावना कम हुँदै गएकोले चिन्ता लाग्न थालेको छ’ संस्थाकी सहसचिव कैलाशकुमारी राई भन्छिन्, ‘यी सामग्रीको बजार पाए स्थानीयले संकलन गर्ने प्लाष्टिक खरिद गर्छौँ, नभए प्लाष्टिकको मुल्य घटाउनुपर्ने बाध्यता छ ।’
हातमा सीप भएका सिपालुले बाँङ्गै रुखबाट सिधा दलिन र सुरीलो बोटबाट बाँङ्गो हलो बनाउने सार्मथ्य राख्छन् । यस्तै सीप भएका सिपालु महिला संगठित हुँदा सोलुखुम्बुको मुक्लि गाविसले गाउँको मुहार फेर्न थालेको छ । तर क्रियाशील र काम प्रतिबद्ध महिला हुँदाहुँदै पनि सहयोगी हातको अभावले यो रचनात्मक अभियानको निरन्तरता चुनौतीपूर्ण बनेको छ ।
(हरिजंग रेडियो पत्रकार हुन् ।)
प्रकाशित मिति : २०७२ असार २० गते आईतवार
Comment Here!