भेषराज बस्नेत
नेपालगन्ज, असार २० । बाँकेमा महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन वहुक्षेत्रीय पोषण योजना तथा एकीकृत पोषण कार्यक्रम (सुआहारा) लागु भएको छ ।
तथ्याङ्क नभए पनि बाँकेमा कुपोषित र खराव किसिमको कुपोषण भएका महिला र दुई वर्षमुनिका बालबालिका प्रशस्त भेटिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय बाँकेका पोषण कार्यक्रम सुआहारा फोकल पर्सन अंगदबहादुर शाहीले जिल्लागत नभई केन्द्रीय तथ्यांक विभागबाटै देशभरी कुपोषित र अति पोषणयुक्त महिलाको सर्वेक्षण हुने भएकोले यकीन तथ्याङ्क थाहा नहुने बताउनुभयो ।
पोषण तत्व अभिवृद्धिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले आइरन चक्की, जुकाको औषधी वितरणगर्दै आएको छ । सुआहारा फोकल पर्सन शाहीका अनुसार, बाँकेमा आईरन चक्की खाने महिला ७३ प्रतिशत, जुकाको औषधी खाने महिलाको संख्या ७२ प्रतिशत र सुत्केरी भएको ६ हप्तासम्म आईरन चक्की सेवन गर्नेको संख्या ५३ प्रतिशत रहेको
छ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा प्रत्येक सय जनामा १८ जना महिला कुपोषणबाट ग्रस्त छन् भने १३ जना खराव कुपोषण (बढी तौल) भएका महिला छन् ।
महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन युएसएआइडीको आर्थिक सहयोगमा नेपालका ४१ जिल्लामा लागु भएको सुआहारा कार्यक्रम बाँकेमा भने सन् २०१५ देखि सेभ द चिल्ड्रेनको समन्वयमा सञ्चालन भएको छ ।
जिल्लाका दुई नगरपालिका र ३४ वटै गाविसमा उक्त कार्यक्रम लागु गरिएको सेभ द चिल्ड्रेन मध्य तथा सुदूरपश्चिम कार्यालयका प्रमुख विरेन्द्र ठगुन्नाले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत गर्भवती महिला, २ वर्षमुनिका बालबालिका र १ हजार दिनसम्मका सुत्केरी माझ उनीहरूको घरघरमा पुगेर पोषणको अवस्था जाँच गरी पोषणयुक्त खानेकुराको वारेमा जानकारी गराई पोषणको स्थितिमा सुधार ल्याईने सुआहारा कार्यक्रमका प्रशिक्षक विश्वरमण न्यौपानेले जानकारी दिनुभयो ।
यो कार्यक्रम गाविसस्तरबाट सुरु गरेर नगरमा ल्याईने योजनाका साथ सञ्चालन गरिएको सुआहार कार्यक्रमका जिल्ला संयोजक विकास देउजाले बताउनुभयो । कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवाला सबै निकायसँग अन्तरक्रिया गरिएको छ ।
प्रकाशति मितिः २०७२ असार २० आईतवार
Comment Here!