महिला खवर
कैलाली¸ असार २० । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाबाट उद्धार गरिएका कैलालीका छ जना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका हुँदै भारतको उत्तराखण्डस्थित गुरुद्वारा लैजान लागिएका कैलालीका छ जना किशोरीलाई प्रहरीले शनिवार उद्धार गरेको हाे ।
कैलालीको रामशिखरझालाका १६ देखि १९ वर्ष उमेरका छ जना किशोरीलाई कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाकी पार्वती नेपालीको घरबाट उद्धार गरिएको हो । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएकाले परिवारको सहमतिमा उनीहरू कामका लागि भारत जान लागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता काफ्लेले बताउनुभयो । उहाँका अनुसार भारतको उत्तराखण्डस्थित गुरुद्वारामा काम गर्न भनी कैलालीकै मसुरिया गाविसका डबल नेपाली र १९ वर्षीया गोमा नेपालीसँग ती युवती भारत जान लागेका बेला नियन्त्रणमा लिइएको थियो ।
उद्धार गरिएका छ जनामध्ये तीनजना दोस्रोपटक र तीनजना पहिलोपटक भारत जान लागेको प्रहरीले जनाएको छ । किशोरीहरू बेचविखनको जोखिममा पर्न सक्ने भन्दै प्रहरीले उद्धार गरेको प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो ।
प्रकाशित मितिः २०७२ असार २० गते अाईतवार
Comment Here!