महिला खबर
नेपालगन्ज, असार २१ । जिल्ला विकास समिति बाँकेले एकल महिलाको लागि गाउँगाउँमै कार्यक्रम लैजाने भएको छ ।
वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रमार्फत योजना तर्जुमामा एकल महिलालाई सहभागि बनाई उनीहरूका मागलाई प्रक्रियागत रुपमा अगाडि बढाउन गाविस सचिवहरुलाई निर्देशन समेत गरिएको छ ।
स्थानीयस्तरबाट योजना ल्याउँदा लक्षित वर्गमा कार्यक्रम पुग्ने र एकल महिलाका माग सम्बोधन हुने स्थानीय विकास अधिकारी जीवलाल भुषालले बताउनु भयो ।
वर्षको एकपटक एकल महिलाका नाममा सहरमा हुने गोष्ठी र सेमिनारले उनीहरूको अवस्थामा कुनै सुधार नल्याउने भएकोले विकेन्द्रीकृत कार्यक्रम गाउँ तथा वडा स्तरमै पुर्याउन लागेको उहाँले बताउनस भयो ।
द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेले आईतवार नेपालगन्जमा गरेको कार्यक्रममा बोल्दै भुषालले एकल महिलाको सम्पतिमाथिको अधिकार सुरक्षित हुन नसकेको बताउनु भयो ।
भुषालले भन्नुभयो—‘स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीमा समेत यो कुरा उल्लेख भएकोले प्रक्रियागत रुपबाटै एकल महिलाका समस्या सम्वोधन हुनेछन् ।’
द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमाया बि.क.ले एकल महिलालाई राज्यले सामाजिक सम्मान दिन नसकेको बताउनु भयो । वहाँले एकल महिलालाई सीपमूलक तालिम र आयआर्जन केन्द्रित कार्यक्रमको खाँचो रहेको बताउनु भयो ।
प्रकाशित मिति २०७२ असार २१ गते सोमवार
Comment Here!