लोग्नेको कोसेली ‘एचआईभी’


प्रकाशित मिति :2015-07-06 13:38:37

विष्णु घिमिरे

विधवा भएको १२ वर्ष भइसक्यो । विवाहबन्धनमा बाँधिएको छोटो समयमा श्रीमान् गुमाउन विवश मनमाया (नाम परिवर्तन) अहिले श्रीमानले छाडेर गएको एचआईभीको भारी बोकेर हिँडिरहेकी छिन् । ०५८ मा पति गुमाएकी मनमाया त्यतिबेला २४ वर्षकी थिइन् । विवाहबन्धनमा बाँधिँदा उनका श्रीमान् भारतमा रोजगारी गर्थे । विवाह गरेको केही वर्षपछि छोरी जन्मिन् । अहिले उनी आठ कक्षामा पढ्छिन् ।
लाउँलाउँ र खाउँखाउँको उमेर, श्रीमानसँग रमाइलो गरी बिताउने दिनमा उनलाई श्रीमानले ‘छाडेर’ गए । श्रीमानकाे मृत्युको कारण थियो– एचआईभी । रोजगारीका लागि भारत गएका उनी फर्र्कंदा एचआईभी सङ्क्रमित भएर आएका थिए । आफूले बोकेर ल्याएको एचआईभीको भारी श्रीमतीमा बिसाएर उनी सदाका लागि बिदा भए । तर, मनमायाको जीवनमा उनले छाडेको एचआईभीको भारी बिदा भएन ।
कमाइ गर्ने श्रीमानकाे मृत्युपछि उनलाई जीविकोपार्जनदेखि छोरी हुर्काउने चुनौती सामना गर्नु परिरहेको छ । घरपरिवार र समाजमा एचआईभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदाको पीडा उनले पनि खेप्दै आएकी छिन् । घरपरिवारमा त बिस्तारै परिवर्तन भएको छ । राम्रो व्यवहार गर्छन्, तर समाजका सामु उनले ढुक्कसँग खुल्न सकिरहेकी छैनन् । रुपन्देहीको ग्रामीण क्षेत्रकी बासिन्दा मनमाया सङ्क्रमित महिलामध्येकी अगुवा हुन् । सङ्क्रमितको हितमा काम गर्ने संस्था साकार समूह रुपन्देहीमा काम गर्छिन् ।
साकार समूहकी अध्यक्ष राधिका पुन पनि श्रीमानबाटै सङ्क्रमित भएकी हुन् । उनका श्रीमान् पनि भारतमा रोजगारीमा भएको अवस्थामा एचआईभी सङ्क्रमित भएर फर्किएका थिए । ‘भारतको मुम्बईमा श्रीमान् काम गर्नुहुन्थ्यो । उतैबाट सङ्क्रमित भएर आउनुभएको रहेछ । त्यसैको सिकार म भएँ,’ उनी भन्छिन् । श्रीमानसँग सँगै बस्दै आएकी पुनकी पनि एक छोरी छिन् । जीविकोपार्जनको राम्रो माध्यम उनको पनि केही छैन । श्रीमान्–श्रीमती दुवै एचआईभी सङ्क्रमित छन् । एचआईभी सङ्क्रमित उनले प्रतिरोधात्मक क्षमता बढाउने औषधि सेवन गर्दै आएकी छिन् ।
भारतमा रोजगारीमा जाने श्रीमान्हरूका कारण महिलाको जिन्दगी नै बर्बाद भएका दर्दनाक उदाहरण रुपन्देहीका बस्तीहरूमा पाइन्छन् । सानै उमेरमा विधवा, त्यो पनि एचआईभी सङ्क्रमित भएर बस्नुपर्दा जीवन ज्यादै कष्टप्रद छ उनीहरूको । अझ केही महिला त विवाह भएको छोटै अवधिमा श्रीमानबाट सङ्क्रमित भएका छन् । उनीहरूका छोराछोरी पनि छैनन् । श्रीमानकाे मृत्यु भएपछिको उनीहरूको अवस्था कस्तो होला ? प्रवासी कामदार, तिनका परिवार र उनका बच्चाका क्षेत्रमा कार्यरत नागार्जुन डेभलपमेन्ट कम्युनिटी बुटवलकी कार्यक्रम संयोजक सिर्जना ज्ञवालीका अनुसार उनीहरूको पीडा भनिसाध्य छैन । ज्ञवाली भन्छिन्, ‘सुनौलो सपना बुनेका श्रीमतीहरू श्रीमानसँग एक दशक पनि बिताउन नपाउँदै एचआईभीको भारी बोकेर जीवनको खुसीलाई तिलाञ्जली दिन बाध्य छन् ।’
नागार्जुनको सम्पर्कमा आएकामध्ये २७ सङ्क्रमित महिला छन् । जसमा १५ जना त एकल महिला छन् । यी सबै प्रवासी श्रीमानाबाट सङ्क्रमित भएका हुन् । त्यस्तै यिनीहरूका १२ जना बच्चासमेत सङ्क्रमित छन् । यो पछिल्लो डेढ वर्षको तथ्याङ्क हो । रुपन्देहीको दक्षिणी क्षेत्रका महिलाको अवस्था अझ बढी दयनीय रहेको संस्थाको दाबी छ ।
रुपन्देहीको ग्रामीण क्षेत्रबाट एचआईभी एन्टिबडी परीक्षणका लागि स्वेच्छिक परामर्श तथा परीक्षण केन्द्र (भीसीटी) मा जानेहरूको सङ्ख्या बढेपछि पहिचान भएका एचआईभी सङ्क्रमितहरूमा गृहणीको सङ्ख्या बढ्दै गएको देखिएको छ । त्यस्तै, यस क्षेत्रमा कार्यरत संस्था सक्रिय सेवा समाजको अगुवाइमा गाउँ विकास समितिमा गाउँ एड्स समन्वय समिति गठन भएपछि सङ्क्रमितहरू केही मात्रमा खुल्ने क्रम बढेको सो संस्थाले जनाएको छ । श्रीमानका कारण श्रीमतीहरू सङ्क्रमित छन्, तर श्रीमानकाे मृत्युपछि घरपरिवारले छोरालाई भन्दा बढी दोष बुहारीलाई दिने हुनाले पनि महिला पीडामाथि पीडा खेप्दै बाँच्नुपरेको जिल्ला एड्स समन्वय समिति रुपन्देहीका संयोजक वसन्तमणि पोखरेल बताउँछन् ।
रुपन्देहीमा मात्रै यस क्षेत्रमा काम गर्ने २२ वटा संस्था छन् । यी संस्थाले विभिन्न लक्षित समूह बनाएर काम गरेका छन् । उनीहरूका कामबारे यथेष्ट अनुगमन तथा निगरानी भएको पाइँदैन । तीनवटा संस्था सङ्क्रमितहरूले आफैँ चलाइरहेका छन्, तर उनीहरूसँग प्रसस्त बजेट छैन । बजेट भएकाको काम प्रभावकारी छैन । रुपन्देहीमा एक हजारभन्दा पनि बढी एचआईभी सङ्क्रमित रहेको पोखरेलको भनाइ छ । यीमध्ये ६ सय ८५ जना उपचारमा आएका छन्, तीमध्ये केहीले औषधि सेवन गर्दै आएका छन् । रुपन्देहीमा एक सय तिनजना सङ्क्रमित बालबालिका छन् । उपचारमा आएका महिलाको सङ्ख्या तिन सय २९ छ । उनीहरूले औषधि सेवन गर्दै आएका छन् ।
जिल्ला एड्स समन्वय समिति रुपन्देहीका अनुसार बुटवलमा एक सय ५२ जनामा ७१ महिला, सिद्धार्थ नगरपालिका भैरहवामा ७१ जनामा ३३ महिला, देवदहमा २८ जनामा १७ महिला, विसनपुरामका १७ जनामा आठ महिला, सौ–फर्साटिकरमा २३ जनामा १३ महिला, रुद्रपुरमा २० जनामा १४ महिला, शंकरनगरमा २१ जनामा ११ महिला, पर्रोहामा १४ जनामा आठ महिला सङ्क्रमित छन् ।
पोखरेलका अनुसार गृहिणीहरूको सङ्क्रमणदर बढ्नुमा श्रीमान् नै मुख्य माध्यम हुन् । यौनकर्मी महिलाको तुलनामा श्रीमानबाट सङ्क्रमित भएका महिलाको सङ्ख्या धेरै छ । सङ्क्रमित यौनकर्मी महिलाको सङ्ख्या भने अत्यन्तै कम छ । ग्रामीण क्षेत्रका गृहिणी जसका श्रीमान् रोजगारीका क्रममा विदेश छन् तिनीहरू बढी सङ्क्रमित भएको र जोखिममा पनि ती महिला रहेको उनको ठम्याइ छ ।
पोखरेलका भनाइमा रुपन्देहीमा एचआईभी र एड्सका क्षेत्रमा वार्षिक तीन करोडभन्दा पनि बढी रुपैयाँ खर्च हुने गरेको छ । सरकारी बजेट भने १५ लाखको हाराहारीमा रहेको छ । सरकारी बजेट कम भएका कारण विभिन्न सङ्घ–संस्थाको समन्वयमा सङ्क्रमित महिलालाई घरेलु, सीपमूलक तालिम गराउन लागिपरेको छ ।

(सञ्चारिका फिचर सेवाबाट ) (विष्णु नयाँ पत्रिका दैनिकका बुटवल संवाददाता हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: